
काठमाडौं। आन्तरिक ऋणको ब्याज दर क्रमिक रुपमा घट्न थालेको छ। १२ प्रतिशतसम्म पुगेको ब्याज दर ९ प्रतिशतभन्दा तल आएको हो।
सरकारले सोमबार ५ अर्ब रुपैयाँको नयाँ आन्तरिक ऋण उठाउँदै २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँको पुरानो नवीकरण गरेको छ। यसको ब्याज दर अघिल्लो पटकको भन्दा घटेको छ।
अघिल्लो पटक २८ दिनेको ब्याज ७.५४ प्रतिशत, ९१ दिनेको ९.१६ प्रतिशत, १८२ दिनेको ९.१३ प्रतिशत र ३६४ दिनेको ८.८० प्रतिशत ब्याज कायम भएको थियो।
सोमबार २८ दिनेको ७.३५ प्रतिशत, ९१ दिनेको ८.८६ प्रतिशत, १८२ दिनेको ८.७१ प्रतिशत र ३६४ दिनेको ८.३३ प्रतिशत ब्याज कायम भएको छ।
राष्ट्र बैंकले घटाएको बैंक दरको असर क्रमश: देखिन थालेको हो। साढे ८ प्रतिशतको बैंक दर साढे ७ प्रतिशतमा झारेको छ। यसबाहेक अहिले तरलता पनि बढेर गएको छ। यसले पनि आन्तरिक ऋणको ब्याज दर घटेको हो।