
काठमाडौं। बजेटमा हवाई यातायातमा भ्याट र होटल तथा ट्राभल उद्योगमा लक्जरी ट्याक्स विरोध आएपछि अर्थ मन्त्रालयले अध्ययन समिति गठन गरेको छ।
समिति अन्तर्गत अर्थ, पर्यटन मन्त्रालयका पदाधिकारीसँगै होटल संघ नेपाल, ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका प्रतिनिधिको पनि सहभागिता हुने जनाइएको छ।
हवाई उद्योगमा भ्याट अनिवार्य गराइएको विषयमा व्यवसायीको असन्तुष्टिलाई मध्यनजर गर्दै अर्थ मन्त्री प्रकाशशरण महतले निजी क्षेत्रसँग छलफल गर्ने भएका छन्। वायुसेवा संचालक संघले मन्त्री महतलाई आफ्नो औपचारिक आधिकारिक धारणा पठाउने तयारी गरेको एक उच्च अधिकारीले बताए।
‘यो समयमा भ्याट लागु गर्दाको प्रभावित सम्वन्धी अर्थ मन्त्रालय र तालुक वाला मन्त्रालयलाई हामीले आधिकारिक धारणा पठाउन लागेका हौं। भोलि सबै वायुसेवा कम्पनीको वित्तीय विभागका कर्मचारीसँग वृहत छलफल गर्छौं,’ उनले भने,’त्यही अनुसारको धारणा पठाउनेछौं। त्यसपछि अर्थमन्त्री ज्यूसँग औपचारिक छलफल हुनेछ।’
अर्थ मन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई यातायातमा भ्याट र होटल तथा ट्राभल उद्योगमा घोषणा गरेको १ प्रतिशत र पाँच प्रतिशत लक्जरी ट्याक्स अनिवार्य हुने घोषणा गरेका थिए।