काठमाडौं। राजस्व छली गरेर ल्याएको सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतवार राति ललितपुर महानगरपालिका-२६ चिबहालबाट सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
बाराको जितपुर सिमरा-१४ डुम्बरवानाका ३४ वर्षीय दीपकप्रसाद लामिछाने र भारत बिहारको मोतिहारी छतौनीका सचिनकुमार चौरासियालाई नियन्त्रणमा लिएको हो।
राति उनीहरु सवार भएर आइरहेको वाग्मती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीको अगाडि सिसामा प्रेस लेखिएको स्टिकर टाँसिएको थियो। प्रहरीले पाएको पूर्व सूचनाअनुसार गाडी रोकेर चेक गर्यो। भित्र म्याद सकिएको प्रेस परिचय-पत्र भेटिएको थियो।
त्यसपछि बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्खाहरु, कत्थासमेत भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी २० लाख रुपैयाँ बराबरको सामान जफत भएको हो।