सार्वजनिक सवारीलाई नयाँ नियम, ‘छुट्नुअघि र गन्तव्यमा पुगेपछि सन्देशमूलक अडियो बजाउ’

बिजमाण्डू
२०८० जेठ २२ गते १३:१२ | Jun 5, 2023
सार्वजनिक सवारीलाई नयाँ नियम, ‘छुट्नुअघि र गन्तव्यमा पुगेपछि सन्देशमूलक अडियो बजाउ’


काठमाडौं। सरकारले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ल्याएको छ। यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै नयाँ नियम ल्याइएको जनाएको हो।

Tata
GBIME
Nepal Life

सार्वजनिक सवारी सफा राख्‍नुपर्ने, बस छट्नुअघि र गन्तव्यमा पुगेपछि विमानमा जस्तै यात्रुका लागि सन्देशमूलक अडियो बजाउनु पर्नेछ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि निर्देशिका-२०६० संशोधन गर्दै सवारीको व्यवस्थापन, सरसफाइ, स्वास्थ्य मापदण्डको पालना र चालक-सहचालकको बोली व्यवहारबारे नयाँ नियमहरु लागु गरेको हो।

सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्णरुपमा निषेध गर्नुपर्ने र ध्वनि प्रदूषण हुने गरी ठूलो आवाजमा गीत बजाउन नपाइने व्यवस्था पनि निर्देशिकामा गरिएको छ।

सवारीको भित्री र बाहिरी भागमा सफा राख्‍नुपर्ने निर्देशिकामा उल्लेख छ। सवारीको सिट खोल, भूईं, सिसा, पर्दा, सिलिङ अनिवार्य रुपमा सफा राख्‍नुपर्ने नियम पनि ल्याइएको छ।

सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रवर्द्धनात्मक सूचना टाँस्नुपर्ने र लामो तथा मध्यम दूरीका साधनले सफा खाना र शौचालय भएको स्थानमा मात्र आवश्यकताअनुसार रोक्नुपर्ने व्यवस्था विभागले गरेको छ।

यसैगरी, सवारीधनी वा व्यवस्थापकले चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु पर्नेछ।

सम्बन्धित कम्पनीले आफ्नो सवारी साधनको चलान वा क्यू कार्ड प्रदान गर्दा उक्त सवारीको नियमित सरसफाइ भएको व्यहोरा सुनिश्चित गरेको हुनुपर्ने व्यवस्था भएको छ। बस छट्नुअघि र गन्तव्यमा पुगेपछि सरकारले तोकेअनुसार यात्रुका लागि जानकारीमूलक अडियो सन्देशसमेत बजाउनुपर्ने भएको छ।

मध्यम तथा लामो दुरीमा चल्ने सवारीको लागि सन्देश मूलक अडियोको नमूना समेत सरकारले नयाँ नियममा उल्लेख गरेको छ। गाडी नम्बर, चालक, सहचालकको नाम थाहा हुने सन्देश बजाउनु पर्नेछ।

चालक तथा सहचालकले यात्रा अवधिभर धुम्रपान तथा मद्यपान सेवन गर्न नपाउने र  चालक तथा सहचालकले यात्रुसँग नम्र, शिष्ट तथा भद्र बोली तथा व्यवहार प्रदर्शन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।

यात्रुलाई गाडीमा रहेको डष्टबिनमा मात्र फोहोर फाल्नलाई प्रोत्साहित गर्नुपर्ने, यातायात व्यवसायीले प्रत्येक वर्ष दुई जोरको दरले आफना चालक तथा सहचालकलाई पहिचान खुल्ने किसिमको पोसाक उपलब्ध गराउनुपर्ने नियम बनाइएको छ। सवारी चलाउँदा सवारी चालक र सहचालकले यात्रुसँग अनावश्यक कुराकानी गर्न नहुने नियम पनि निर्देशिकामा उल्लेख छ।