निर्जीबन बीमा कम्पनीको आर्जनमा मोटर र सम्पत्ति बीमाको हिस्सा धेरै, बढी असुली बाग्मतीबाट

बिजमाण्डू
२०८० जेठ २१ गते १६:११ | Jun 4, 2023
निर्जीबन बीमा कम्पनीको आर्जनमा मोटर र सम्पत्ति बीमाको हिस्सा धेरै, बढी असुली बाग्मतीबाट

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा व्यवसायबाट सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेका छन्। हाल संचालनमा रहेका १५ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा ८ वटा बीमालेख जारी गरी ३२ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।

Tata
GBIME
Nepal Life

सात प्रदेशमा सम्पत्ति ,सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर तथा ठेक्का, विविध, कृषि तथा बाली र लघु बीमालेख जारी गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन्।

बीमा कम्पनीहरुको मोटर व्यवसायको हिस्सा धेरै छ। कम्पनीहरुले बैशाख महिनासम्म मोटर बीमालेख जारी गरी १० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यस बीमालेखमा सबैभन्दा धेरै बीमाशुल्क बाग्मती, लुम्बिनी र कोशी प्रदेशबाट संकलन भएको छ।
बाग्मती प्रदेशमा बढी बीमा शुल्क संकलन भएको छ। प्रदेशले ६ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको हो। यसैगरी लुम्बिनी प्रदेशमा एक अर्ब ४० करोड रुपैयाँ र कोशी प्रदेशमा एक अर्ब रुपैयाँ संकलन भएको छ। अन्य ४ प्रदेशमा करोड रुपैयाँको बीमा शुल्क संकलन भएको छ।

सम्पति बीमालेखबाट ७ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको छ। सम्पत्ति बीमालेखअन्तर्गत बाग्मती प्रदेश र कोशी प्रदेशमा धेरै छ। चालु आर्थिक वर्षमा बाग्मती प्रदेशबाट ४ अर्ब र कोशी प्रदेशबाट एक अर्ब बीमाशुल्क आर्जन भएको छ।

इन्जिनियर तथा ठेक्का बीमालेखबाट ५ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ। बाग्मती प्रदेशबाट ४अर्बभन्दा बढीको बीमा शुल्क संकलन भएको छ।अन्य प्रदेशमा कम बीमाशुल्क संकलन भएको छ।

यस्तै विविध बीमालेखबाट ३ अर्ब ४९ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ। सामून्द्रिक बीमालेखबाट एक अर्ब ६७ करोड रुपैयाँ, हवाई बीमाबाट एक अर्ब ६० करोड रुपैयाँ, कृषि तथा बालीबाट २ अर्ब र लघु बीमाबाट ६ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

मोटर बीमामा १४ लाख ८७ हजार वटा बीमालेख सक्रिय छन्। सम्पत्ति बीमामा ४ लाख २५ हजार वटा बीमालेख जारी भएका छन्। विविध बीमामा एक लाख ३६ हजार वटा बीमालेख, सामुन्द्रिक बीमामा एक लाख १२ हजार बीमालेख तथा कृषि तथा बालीअन्तर्गत एक लाख ५२ हजार बीमालेख जारी भएका छन्। यस्तै लघु बीमामा ३३ हजार ४ सय बीमालेख, इन्जिनियर बीमामा २५ हजार बीमालेख, हवाई बीमामा एक सय १४ वटा बीमालेख जारी भएको छ।

उक्त तथ्यांकअनुसार बीमा कम्पनीहरुमा कृषि तथा बालीबीमाको संख्या उल्लेख्य बढ्न सकेको छैन। गत वर्षको भन्दा यस वर्ष बीमालेखमा सुधार आएको हो। तर पछिल्लो समय सरकारले ८० प्रतिशत अनुदान दिएपनि कृषि बीमा प्रति जनचासो कम देखिएको छ।

निर्जीवन बीमा कम्पनीहरुमा लघु बीमाको संख्या ३३ हजार पुगेको छ। बीमा कम्पनीहरुले लघु बीमाको पहुँच बृद्धि गर्ने भनिएतापनि चालु आर्थिक वर्षमा पनि यसको संख्या धेरै बढ्न सकेको छैन।