
काठमाडौं। नेप्स पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल (पीसीआइ एसएससी) को सल्लाहकार समितिमा चयन भएको छ।
पीसीआइ एसएससी कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षा सम्बन्धी मापदण्डहरुको विकासलाई व्यवस्थित गर्न स्थापना भएको अन्तराष्ट्रिय मान्यता प्राप्त संस्था हो। भिसा, मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पीसीआइ डीएसएस सर्टिफिकेसन अनिवार्य गरेका छन्।
सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरुले कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ-आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकास क्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व गर्ने नेप्सले जनाएको छ।
सल्लाहकार समितिको सन् २०२३-२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको थियो। सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो। २०२३ जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको जनाएको छ।
मनोनित भएसँगै नेप्सले अमेजन, एप्पल, बैंक अफ अमेरिका, बार्क्लेज बैंक, युरोपियन पेमेन्ट काउन्सिल, एचडीएफसी बैंक, आइबीएम, जेपी मोर्गन, एनपीसीआइ, यस बैंक, पेपल, माइफ्रोसफ्ट जस्ता अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि अन्य विषयहरुमा छलफल गर्ने नेप्सले जनाएको छ।
‘यो हाम्रो लागि गौरवको विषय हो। यसले नेप्स नयाँ उचाई तर्फ बढिरहेको पनि संकेत गर्दछ। साथै, पीसीआइ एसएससीको लक्ष्य प्राप्तिको लागि ज्ञान, सीप, र अनुभवको योगदान गर्न नेप्स तयार र आतुर पनि रहेको छ। साथै, हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोबारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन सहयोग पुग्छ। भुक्तानी क्षेत्रमा नवीनता र सुरक्षित डिजिटल परिदृश्यको कल्पना साकार पार्ने चुनौतीको रुपमा पनि लिएका छौं,’ नेप्सका सीइओ सन्जिब सुब्बाले भने।
यसअघि नै नेप्स नेपालबाट पीसीआइ एसएससीको एसोसिएट पार्टिसिपेसन अर्गनाइजेसन सदस्यता प्राप्त गर्ने पहिलो संस्था बनेको थियो। यसका साथै, कार्ड मार्फत हुने कारोबारको सुरक्षा नै नेप्सको पहिलो प्राथमिकता रहेको जनाएको छ।