त्रिवेणी ग्रुपले ८ महिनामै तयार पार्‍यो रोयल इन्फिल्डको एसेम्ब्ली प्लान्ट, ५० करोडको लगानी

बिजमाण्डू
२०८० जेठ २१ गते १५:४१ | Jun 4, 2023
त्रिवेणी ग्रुपले ८ महिनामै तयार पार्‍यो रोयल इन्फिल्डको एसेम्ब्ली प्लान्ट, ५० करोडको लगानी

काठमाडौं। रोयल इन्फिल्डको नयाँ बिक्रेता त्रिवेणी ग्रुपले ८ महिनाको अवधिमा एसेम्ब्ली प्लान्ट तयार पारी संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

हालसम्म रोयल इन्फिल्डले ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा कम्पनीका सीकेडी एसेम्ब्ली युनिट सञ्चालनमा ल्याएको छ। नेपालमा सुरु गरिएको यो रोयल इन्फिल्डको पाँचौं एसेम्ब्ली प्लान्ट हो। भारतको तामिलनाडुमा रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र रहेको छ।

दुगडबाट त्रिवेणी ग्रुपले रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता पाएपछि आफ्नो बजार विस्तारमा एग्रेसिभ देखिएको थियो। कम्पनीको स्रोतका अनुसार त्यही अनुसार यो कम्पनी यसको ८ महिनाको अवधिमा एसेम्ब्ली प्लान्ट निर्माण गरेर संचालनमा ल्याएको हो। यो प्लान्ट निर्माण गर्न लगभग ५० करोड रुपैयाँ लगानी लागेको कम्पनी स्रोतको भनाइ छ।

यसमा पनि सरकारले नेपालमा नै एसेम्बल गर्ने प्लान्ट लगाउदा उत्पादन सुरु गरेको ५ वर्षसम्म अन्त:शुल्कमा ४० प्रतिशत छुट दिने व्यवस्थालाई यो पटकको बजेटले पनि निरन्तरता दिएकाले व्यवसायीहरु एसेम्ब्ली प्लान्ट लगाउन आतुर देखिएका छन्।

नेपालमा बजाज, टीभिएस, हिरोलगायतका दुई पाङ्ग्रे सवारीको एसेम्ब्ली प्लान्ट निर्माण गरेका छन्।

अहिले कम्पनीले यो प्लान्टमा काम गर्न नेपाली ५० जना कामदारलाई हायर गरिसकेको कम्पनीले जनाएको छ। कम्पनी स्रोतका अनुसार यसलाई माग अनुसार बाइक एसेम्बल गरेर रोजगारीको संख्या पनि बढाउने योजना रहेको छ।

यो प्लान्टको क्षमता अनुसार अहिले बाइक एसेम्बल हुँदैन किनभने नेपालको मार्केट आर्थिक परिस्थितले गर्दा खुम्चिदै गएको छ। कुनै समय नेपालमा दुई पाङ्ग्रेको बजार हिस्सा वार्षिक १ लाख ३० हजार युनिटसम्मको थियो। तर अहिले त्यो खुम्चिएर ६०-७० हजार युनिटमा बजार समेटिएको छ।

यसमा रोयल इन्फिल्डको पुरानो आधिकारिक बिक्रेताले कोभिडपछिको वर्ष ७ हजार युनिट बाइक बिक्री गरेको थियो। त्यही अनुसार बजारपछि विस्तार हुन सकेन। तर नयाँ कम्पनी भने यसको बजार विस्तारमा आक्रामक छ। यसमा सरकारले घटाएको करले धेरै सहयोग गरेको कम्पनीले जनाएको छ।

‘अब एसेम्बल यहीँ गर्ने भएकाले हामीले बाइकको मूल्य त्यही अनुसार कायम गर्न सक्छौं। नेपालमा कुनै समय रोयल इन्फिल्डको बाइकको मूल्य हाइ-रेन्जमा पुगेको थियो,’ कम्पनी स्रोतले भन्यो, ‘कम्पनीले अब त्यो सबै कुरालाई मध्यनजर गर्दै आम नागरिकको पहुँचमा हाम्रो बाइक दिने योजना रहेको छ। त्यही अनुसार एसेम्ब्ली प्लान्ट स्थापना गरेका हौं।’

यसले हाम्रो अब नेपालमा उपलब्ध हुने रोयल इन्फिल्ड बाइकको मूल्य कम गरिएको छ। कम्पनी स्रोतका अनुसार अब पुराना मोडलको क्लासिक बाइक नेपाल आउने छैनन्।

यस प्लान्टबाट विशेषगरी नेपाली बजारका लागि क्लासिक ३५० र स्क्र्याम ४११ को उत्पादन हुने कम्पनीले जनाएको छ। यो प्लान्टमा हाल २५० देखि ७५० सीसीसम्मका मोटरसाइकल एसेम्बल हुने गरेको कम्पनीले जनाएको छ। यसका लागि नयाँ प्लाटफर्म निर्माण गरिएको कम्पनीले जनाएको छ।

त्रिवेणी ग्रुपले वीरगंजमा १ लाख वर्गफिटमा फैलिएको आधुनिक प्रविधियुक्त एसेम्ब्ली प्लान्ट तयार पारिएको जनाएको छ। कम्पनीका अनुसार उक्त प्लान्ट रोयल इन्फिल्डका वार्षिक २० हजार युनिट बाइक उत्पादन गर्न सकिने क्षमताको छ।

यस प्लान्टमा कम्पनीले टेष्टिङको लागि जुनजुन आवश्यक हुन्छ त्यो सबै कुराको व्यवस्था गरिएको बताएको छ। कम्पनी स्रोतका अनुसार गुणस्तरहरु सबै चेकजाँच र प्रमाणित गर्न आवश्यक उपकरणहरुको सेटअप गरिएको छ।

यस्तै, यसका लागि चाहिने पावर टुलहरु सबै भारत र बेल्जियमबाट आयात गरिएको छ। यसले यहाँ एसेम्बल गरेको र तयारी आयात गरेकोमा कुनै फरक नपरोस् भनेर यसरी गुणस्तर भएको पावर टुलहरु सेटअप गरिएको कम्पनीले जनाएको छ।

कम्पनी स्रोतले नेपालमा एसेम्बल गर्दा लागत कम पर्ने भएकाले आफुहरुले बाइकको मूल्य घटाएर बिक्री सुरु गरिएको जनाएको छ।

नेपालमा वार्षिक २० हजार युनिट बाइक बिक्री गर्ने योजना

कम्पनीले आफ्नो बाइकको बजार हिस्सा बढाउने योजना बनाएको छ। कम्पनीले अहिले भइरहेको लगभग ७ हजार युनिटको बजार हिस्सालाई आगामी वर्षहरुमा वार्षिक २० हजार युनिट पुर्याउने योजना बनाएको जनाएको छ।

कम्पनीले त्यही अनुसार ग्राहकले चाहेको मूल्यमा धेरै विकल्पहरु दिने तयारी गरेको जानकारी दिएको छ। कम्पनी यसको हिमालयन लगायत अन्य टुरर बाइक पनि यही एसेम्बल गर्ने योजनामा रहेको छ।

कम्पनीले त्यही अनुसार नेपालमा रोयल इन्फिल्डको आउटलेटहरु विस्तार गरेको छ। नेपालमा बजार विस्तार गर्ने कम्पनीको प्रतिबद्धता अनुसार अहिले यसको रिटेल नेटवर्क १८ वटा रहेको छ। यसलाई बढाउँदै आगामी वर्ष ३५ आउटलेटमा पुर्‍याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी ३५ वटा रिटेल नेटवर्कहरु नेपालभरीका विभिन्न ३० सहरमा विस्तार हुनेछ।

यस्तै कम्पनीले सर्भिस सेन्टरहरुको संख्या पनि बढाएको छ। कम्पनीले लोकल वर्कसपहरुसँगको सहकार्यमा आफ्नो बाइक आधिकारिक रुपमा सर्भिस गर्न सकिने गरी योजना पनि बनाएको जनाएको छ।

कम्पनीले यसअघि करिब ६ लाख ४० हजार रुपैयाँमा बिक्री गरिरहेको क्लासिक ३५० मोटरसाइकलको मूल्य ४ लाख ९९ हजारमा झारेको छ। यस्तै द स्क्र्याम ४११ पनि कम्पनीले नेपालमा सार्वजनिक गरेको छ। यसको मूल्य ६ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ।