अर्थमन्त्रीको आश्वासनपछि सूचक र लगानीकर्ताको मनोबल एकैपटक उकासियो, बजार ५३ अंकले उक्लियो

बिजमाण्डू
२०८० जेठ २१ गते १५:२९ | Jun 4, 2023
अर्थमन्त्रीको आश्वासनपछि सूचक र लगानीकर्ताको मनोबल एकैपटक उकासियो, बजार ५३ अंकले उक्लियो


काठमाडौं। लामो समयदेखि कमजोर लगानीकर्ताको मनोबल घट्दो ब्याजदर र बढ्दो तरलताले विस्तारै बढिरहेका बेला अचानक अर्थमन्त्रीले करको झटारो प्रहार गर्दा सेयर बजार राताम्मै भएको थियो। अर्थम्त्रीले जेठ १५ गते गरेको गल्ति आइतबार सुधार गरेपछि बजारले फराकिलो छलाङ हानेको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत लाभकर नै अन्तिम कर भएको प्रष्टिकरण दिएपछि सेयर बजारको मनोबल फर्किएको हो। बजेटयता लगातार (बिहीबार थोरै बढ्यो) घटेको सेयर बजार आइतबार ५३ अंकले बढेको छ।

लगानीकर्ताको माग सम्बोधन भएपछि सूचक पुन: १९ सय माथि उक्लिएको छ। नभए १९७७ सम्म पुगेको बजारले दुई दिनमै ९२ अंक गुमाउँदा १८४९ सम्म ओर्लिसकेको थियो।

आर्थिक विधेयकमार्फत आम लगानीकर्ताले पेसा वा व्यवसायका रुपमा कारोबार गरेर कमाएको भए त्यसमा अन्य आय सरह कर लाग्ने ब्यवस्था गरिएको थियो। त्यसपछि लगानीकर्ता आन्दोलित भएका थिए। मनोबल पनि कमजोर भएको थियो।

राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिका कारण सधैंभरी झर्दै आएको बजार यसपालि उदारवादी मानिएका कांग्रेसका अर्थमन्त्रीले ल्याएको बजेटका कारण प्रताडित बनेको थियो। लगानीकर्ताको मागपछि अर्थमन्त्री महतले आफू उपस्थित भएर प्रस्तावित व्यवस्था फिर्ता लिने र पुँजीगत लाभकर नै अन्तिम हुने व्यवस्था गर्ने आश्वासन दिएका थिए।

त्यसअघिसम्म कारोबार छिटपुट हुँदै आएकोमा मन्त्रीको आश्वासनपछि बजारले तीव्रता पाएको थियो। लगानीकर्ता उत्साहित हुँदा एक अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आइजीआइ प्रेडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। २२० वटाको सेयर तथा इकाइहरु कारोबार भएकोमा २१७ वटाको मूल्य बढेको छ।

शिवम् सिमेन्टको कारोबारले छलाङ मारेको छ। सर्वाधिक १५ करोड ८१ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। यसपछि सोल्टी होटलको ८ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।