
काठमाडौं। भरतपुरको एउटा पसलबाट जुत्ता किनेका भारतीयले दिएको नेपाली हजारको नोट नक्कली फेला परेको छ। पसलेले खबर गरेपछि प्रहरीले शनिबार राति भारत मध्यप्रदेशका ४९ वर्षीय करतार सिंहलाई भरतपुर-३ शहिद चोकबाट पक्राउ गरेको छ।
उनीबाट एक हजार दरका ६ वटा नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। सिंहले भरतपुर-१ जुनहलस्थित एउटा पसलबाट जुत्ता किनेका थिए। उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ।
यस्तै शनिबार नै वीरगंज-१६ नगवा चोकबाट सर्लाहीको बरहथवा-५ रामजानकी टोलका ३० वर्षीय रामविश्वास महतो पक्राउ परेका छन्।
उनको साथबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० गरी ३८ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय नगवाको टोलीले पक्राउ गरेको हो ।