अर्थविद् स्वर्गीय डा. गोविन्द थापाको पुस्तक ‘अर्थतन्त्रको आँखीझ्याल’ विमोचन

बिजमाण्डू
२०८० जेठ २० गते २१:२४ | Jun 3, 2023
अर्थविद् स्वर्गीय डा. गोविन्द थापाको पुस्तक ‘अर्थतन्त्रको आँखीझ्याल’ विमोचन

काठमाडौं। अर्थविद् स्वर्गीय डा. गोविन्द थापाद्वारा लिखित पुस्तक ‘अर्थतन्त्रको आँखीझ्याल’ विमोचन गरिएको छ। डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौं विशेष कार्यक्रम आयोजना गर्दै पुस्तक विमोचन गरेको हो।

Tata
GBIME
Nepal Life

डा. थापाले विभिन्न समयमा लेखेका लेख, रचनाहरु संग्रह गरेर प्रतिष्ठानले पुस्तक तयार पारेको हो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रतिष्ठानकी अध्यक्ष इन्दिरा थापाले संयुक्त रुपमा उनको पुस्तक विमोचन गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको पनि उपस्थिति थियो।

डा. थापाले एसियाली विकास बैंकको फिलिपिन्समा वैकल्पिक कार्यकारी निर्देशक, चार पटक अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, नेपाल वायु सेवा निगमको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका काम गरेका थिए। २००८ कात्तिक १६ गते जन्मिएका डा. थापाको २०७८ जेठ १८ गते निधन भएको थियो।

उनको पुस्तकमा नेपाल वैदेशिक व्यापार व्यापार, रेमिट्यान्सको बजार, मुद्राबजार, मौद्रिक नीति, बजेट प्रणाली, लोकतान्त्रिक बजेट, गरिबी न्यूनीकरण, विश्व अर्थतन्त्रको प्रवृत्ति र नेपाली अर्थतन्त्रको सम्बन्ध, कृषि क्षेत्र, सविधानले परिकल्पना गरेको अर्थतन्त्र ढाँचा, पर्यटन नीति लगायतका विषयमा समेटिएको छ।

कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डेले मुुलुकको अर्थतन्त्र धेरै अप्ठेरो परिस्थितिमा रहेको बताए। ‘अहिले सरकार र निजी क्षेत्रको ऋण बढ्दै गएको छ। बैंकको ब्याजदर घट्ने सम्भावना पनि छैन। त्यसमाथि बैंकहरुको ऋण लगानी गर्ने क्षमता पनि छैन। आर्थिक संकट आउने हो कि भन्ने डर छ,’ उनले भने, ‘यो अवस्थालाई समाधान गर्न हामी अघि बढ्नुपर्छ।’

बैंक ब्याजदर घट्ने सम्भावना न्यून रहेको उनले दाबी गरे। उनले भने–’यति बेला निजी क्षेत्रले पनि ब्याजदर घटाउन भनिरहेका छन्। तर, त्यसमा गिरावट आउने कुनै गुञ्जायस म देख्दिन। यसपालि बैंकहरुले ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएका छन्।’