नेपाल-भारत संयुक्त व्यापार फोरमको बैठक नयाँ दिल्लीमा, लगानीका लागि उपयुक्त क्षेत्र पहिचान

भावना शर्मा
२०८० जेठ १८ गते १७:४८ | Jun 1, 2023
नेपाल-भारत संयुक्त व्यापार फोरमको बैठक नयाँ दिल्लीमा, लगानीका लागि उपयुक्त क्षेत्र पहिचान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणमा नेपाली उद्योगी र भारतीय उद्योगीबीच लगानी सम्भावनाका बारेमा छलफल भएको छ।

Tata
GBIME
Nepal Life

भ्रमणकै अवसरमा नेपाल-भारत संयुक्त व्यापार फोरमको पहिलो बैठक नयाँ दिल्लीमा भएको छ। प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच संयुक्त फोरमले व्यापार प्रवर्द्धनका लागि पहिलोपटक यस्तो किसिमको बैठक आयोजना गरेको हो।

नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले फोरमको नेतृत्व गरेकी थिइन्। बैठकले नवीकरणीय उर्जा, कार्बन उत्सर्जन, सडक तथा रेलसेवाका पूर्वाधारहरु, इन्जिनियरिङ, उच्च शिक्षा, दक्षता अभिवृद्धि तथा विकास, वातावरण, खाना तथा पेय पदार्थहरुको उत्पादन, निर्माण तथा कृषि औजार, सहरी विकास, आइटी सेवा, मेडिकल तथा स्वास्थ्य प्रविधिहरुका साथै समग्र पर्यटन पूर्वाधारको विकासलाई अवसरका क्षेत्रहरुका रुपमा पहिचान समेत गरेको छ।

बैठकले पहिचान गरिएका यी क्षेत्रको विकास लागि दुवै देशले गहिरो व्यापार सम्बन्ध विकास गरी ती क्षेत्रमा अवसरहरुको खोजी गर्नुपर्ने बताएको छ। बैठकले नेपाल र भारतको व्यापार अभिवृद्धिका सम्बन्धमा विभिन्न सुझावहरु पनि दिएको छ।

फोरमले दुवै पक्षको आवश्यकतालाई समयअनुसार विविधिकरण गरी दीगो आर्थिक वृद्धि तथा द्विपक्षीय व्यापारको हितका विषयमा काम गर्नुपर्ने सुझाव दिएको छ।  

यसैगरी दुई देशबीच अझ बढी व्यापार तथा लगानी प्रवर्द्धन विशेष गरी फोरमले पहिचान गरेका माथि उल्लेखित (नवीकरणीय ऊर्जा, कार्बन उत्सर्जन, सडक तथा रेलसेवाका पूर्वाधारहरु, इन्जिनियरिङ, उच्च शिक्षा, दक्षता अभिवृद्धि तथा विकास, वातावरण, खाना तथा पेय पदार्थहरुको उत्पादन, निर्माण तथा कृषि औजार, सहरी विकास, आइटी सेवा, मेडिकल तथा स्वास्थ्य प्रविधिहरुका साथै समग्र पर्यटन पूर्वाधारको विकास) का क्षेत्रमा हुनुपर्ने पनि फोरमको सुझाव छ।

यसैगरी भारतका प्रमुख सहरहरुमा ‘इन्भेष्टमेन्ट रोड शो’ आयोजना गरी भारतीय लगानीकर्ताहरुलाई नेपाल तान्‍नका लागि आकर्षित गर्न सकिन्छ।

यस्तै निजी क्षेत्रको लगानीहरुलाई प्रवर्द्धनात्मक रुपमा विस्तारको पहल गर्नका लागि सम्भावित क्षेत्र तथा अवसरहरुबारे विशेष जानकारी गराउन सकिने पनि फोरमले जनाएको छ।

भारतले आफ्नो कार्बन उत्सर्जनलाई सन् २०७० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धताका कारण नवीकरणीय ऊर्जाको क्षेत्रले तीव्र रुपमा विस्तार भैरहेको छ। नेपालसँग ठूलो सम्भावना भएको जलविद्युत क्षेत्र छ। यसका लागि भारतले नेपालसँग सहकार्य गर्दै भारतको कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्यलाई चाँडो हासिल गर्न सक्छ र यसबाट नेपालले पनि आयआर्जनको दिगो बाटो पहिल्याउन सक्ने फोरमले सुझाव दिएको छ।

फोरमले पर्यटन प्रवर्द्धनलाई सबैभन्दा आकर्षक क्षेत्र मान्दै नेपालको पर्यटन क्षेत्रका लागि भारतीय पर्यटकहरु प्रमुख स्रोत भएको बताएको छ। त्यसकारण पर्यटन क्षेत्रमा साझेदारी गर्दै यस क्षेत्रमा प्रविधि व्यवस्थापन तथा अन्य स्रोतहरुमा भारतको सहायता लिएर दिगो पर्यटनतर्फ अघि बढ्न सकिने सुझाव पनि फोरमको छ।

भारतको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको विशेषज्ञतालाई नेपालले आफ्नो शैक्षिक संस्थाहरु, स्वास्थ्य सुविधा तथा ‘वेलनेस टुरिजम’ को क्षेत्रलाई प्रवर्द्धन गर्न सक्छ।

दुई देशबीच विभिन्‍न क्षेत्रमा आदानप्रदान कार्यक्रम, क्षमता अभिवृद्धिका कार्यक्रमहरु तथा संयुक्त बजारीकरणका प्रयासले यी क्षेत्रहरुको वृद्धिमा योगदान पुर्‍याउन सक्छ। यसैगरी नेपाल र भारतबीचको व्यापार परिमाण उच्च रुपमा बढाउनेतर्फ आवश्यक मापदण्ड तथा नियमनको विषयलाई पनि महत्व दिनुपर्ने बैठकले सुझाव दिएको छ।

फोरमको बैठक वर्षको दुईपटक बस्‍ने तय भएको छ। नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक, भाषिक तथा पारिवारिक सम्बन्ध धेरै पुरानो हो। ‘छिमकीलाई पहिलो प्राथमिकता’ भन्ने नीति अनुसार भारतले दुई देशबीचको लगानी तथा व्यापारको सम्बन्धलाई बलियो बनाएको उक्त अवसरमा बताइएको थियो।  

यो फोरमले संयुक्त रुपमा भारत र नेपालको व्यापार साझेदारी तथा विकासको खाका तयार पार्दै अघि बढ्ने अपेक्षा गरेको छ।

यसका लागि भारतको कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआइआई) र नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई ) ले फोरमको आधिकारिक सचिवालयका रुपमा काम गर्ने बताइएको छ।

फोरमले पारस्परिक हितका कृषि उत्पादन, फार्मासुटिकल्स, अटोमोबाइल, औद्योगिक मेसिनरी, पेट्रोलियम तथा पेट्रो केमिकल, ऊर्जा, सेवा क्षेत्र, उत्पादन तथा यातायात र पूर्वाधार विकासलाई प्राथकिकतामा राख्दै प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो। सन् २०२२/२३ मा भारतको नेपालसँग द्विपक्षीय व्यापार ८ अर्ब ८५ करोड अमेरिकी डलरभन्दा माथिको रहेको छ। भारतले नेपालतर्फ ८.०१ अर्ब डलर बराबरका सामाग्री निर्यात गर्छ भने नेपालले भारत तर्फ करिब ८४ करोड डलर बरारबको सामाग्री निर्यात गर्छ।

नेपालले आफ्नो कुल व्यापार ६० प्रतिशत भारतसँग गर्छ। भारत नेपालको सबैभन्दा ठूलो वैदेशिक लगानीको स्रोत पनि हो।

सन् १९७१ मै नेपाल भारतबीच द्विपक्षीय व्यापार सन्धी भएको थियो। र समयअनुसार परिमार्जन हुँदै यो अझ बलियो बन्दै आइरहेको फोरमले जनाएको छ। भारत हाल विश्वकै तीव्र गतिमा आर्थिक वृद्धि तर्फ लम्किरहेको देश भएकाले नेपालका लागि भारत विश्वसीय आर्थिक साझेदार बन्न सक्ने बैठकमा बताइएको थियो।

नेपालले पनि आफ्नो बलियो वृद्धिका आधारहरुका लागि वैदेशिक लगानी भित्र्याउन राम्रो लगानीको वातावरण बनाउने तथा पूर्वाधार विकासमा प्रयासहरु गरिरहेको देखाएको छ। नेपालले अन्तर्राष्ट्रियस्तरमा बनाइरहेको छविले आफ्नो सामाजिक आर्थिक संरचनामा सुधार ल्याउनेतर्फ उन्मुख हुनसक्ने अवस्था देखिएको पनि बैठकमा बताइएको थियो।

बैठकमा नेपालबाट महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, निवर्तमान अध्यक्ष शेखर गोल्छा, सीएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्मा, निवर्तमान अध्यक्ष सतिश मोर, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ पनि सहभागी थिए।