दोधारा-चाँदनी सुख्खा बन्दरगाह भारतले निर्माण गर्ने, भयो समझदारी पत्र साटासाट

बिजमाण्डू
२०८० जेठ १८ गते १४:२७ | Jun 1, 2023
दोधारा-चाँदनी सुख्खा बन्दरगाह भारतले निर्माण गर्ने, भयो समझदारी पत्र साटासाट

काठमाडौं। दोधारा- चाँदनी सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण गर्ने जिम्मा भारतलाई दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो।

Tata
GBIME
Nepal Life

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दोधारा- चाँदनीमा उक्त सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको हो। उक्त सम्झौतामा नेपालकातर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरेका छन्।

योसँगै अब दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र एकीकृत भन्सार जाँच चौकी निर्माण आगामी वर्ष सुचारु हुने भएको छ। यसमा बन्दरगाह, एकीकृत जाँच चौकी, कन्टेनर यार्ड र प्रयोगशालाको स्तरोन्नती गर्ने रहेको छ।

अहिले यसको वातावरणीय प्रभाव मूल्यांकन पास भएर अन्य प्रक्रिया अगाडि बढाइएको छ।

परियोजना पहिलो चरणको संरचना सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनामा मुख्य गेट तीनवटा, भन्सार तथा अध्यागमन सेक्युरिटी, बैंक/भन्सार, अत्याधुनिक ल्याब, भान्छा यार्ड, वेयरहाउस, १२ सय क्षमताको ट्रक पार्किङ, तीन हजार क्षमताको कन्टेनर पार्किङ, रेल्वे प्लाटफर्म, रेल्वे वेयरहाउस कन्टेनर यार्ड, डर्टी यार्ड लगायत संचरना निर्माण गरिनेछ।

सुक्खा बन्दरगाह नबन्दा अहिले भैरहवाबाटै सुदूर पश्चिमको लागि विभिन्न मालसामान आयात हुँदै आइरहेको छ। सुक्खा बन्दरगाह बनेसँगै भारतको दिल्ली, गुजरात लगायतबाट सुक्खा बन्दरगाहबाट सोझै सुदूरपश्चिममा विभिन्न सामान आयात तथा निर्यात गर्न सकिनेछ।