गौतमबुद्ध विमानस्थलमा आइएलएस संचालन गर्न भारतले दियो सहमति, जाडोमा पनि उडान गर्न सकिने

वसन्तराज उप्रेती
२०८० जेठ १८ गते १४:२७ | Jun 1, 2023
गौतमबुद्ध विमानस्थलमा आइएलएस संचालन गर्न भारतले दियो सहमति, जाडोमा पनि उडान गर्न सकिने

काठमाडौं। लामो रस्साकस्सीबीच इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) संचालनको बाटो खुलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणमा आइएलएस संचालनको सहमति भएको हो।

Tata
GBIME
Nepal Life

आइएलएस संचालनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा संचालनमा आउने सम्भावना बढेको छ। महेन्द्रनगर प्रवेश विन्दुमा भने सहमति जुट्न सकेको छैन। यो पनि केही समयभित्रै हुने सम्भावना रहेको छ। प्रधानमन्त्री प्रचण्डले महेन्द्रनगर प्रवेश विन्दु खोल्न औपचारिक रुपमा प्रस्ताव गरेका छन्।

महेन्द्रनगर प्रवेश विन्दु र आइएलएसका लागि केही वर्षदेखि नेपालले लबिइङ गर्दै आएको थियो। तर, ब्रेकथ्रु हुन सकेको थिएन। भारतले गौतमबुद्ध र पोखरा विमानस्थलबाट नजिकका विमानस्थलमा उडान गर्न दिने विषयमा छलफल गरेर टुंगोमा पुर्‍याउने सहमति भएको छ।

यो पटक प्रधानमन्त्री प्रचण्डले यो मुद्दालाई उच्च प्राथमिकतामा राखेका थिए। प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा दोस्रो नम्बरमा यही एजेण्डा थियो।

भ्रमण दलमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी यो एजेण्डालाई कार्यान्वयन गर्न लागि परेका थिए। प्रधानमन्त्री प्रचण्डको भ्रमणको एक साता अघि पनि उनी यही एजेण्डा बारे छलफल गर्न भारत गएका थिए।

आइएलएसले के हुन्छ ?

इन्सट्रुमेन्ट ल्यान्डिङ सिस्टम संचालन स्वीकृति पाएपछि भारत हुँदै भैरहवा आउने जहाजले ८५० मिटर भिजीबिलिटीमै अवतरण हुन सक्ने विज्ञले जनाएका छन्। योसँगै भैरहवा र भारतमा भएको विभिन्न सहरमा दुईतर्फी उडान सहज हुने जनाइएको छ।

गत वर्ष जाडो मौसममा आइएलएस प्रविधि संचालन हुन नसक्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  करिब तीन महीना अन्तर्राष्ट्रिय उडान अवतरण नै रोकिएको थियो।

महेन्द्रनगर प्रवेश विन्दुले के हुन्छ?

मुलुकमा विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यबाट भित्रिने वायुसेवा कम्पनीका लागि एउटै प्रवेशविन्दु छ। त्यो भनेको सिमरा मात्रै हो।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि महेन्द्रनगर प्रवेश विन्दु ‘लिमा ६२६’ नै उपयुक्त छ।

अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा ‘गल्फ ५९८’ प्रवेश विन्दुमात्र प्रयोग गर्दै आएका छन्। यो प्रवेश विन्दु मार्फत काठमाडौं र भविष्यमा संचालनमा आउन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र उपयुक्त हुन्छ।

महेन्द्रनगर खुला भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवा र पोखरा विमानस्थलमलाई सहज हुन्छ।

सिमरा प्रवेश विन्दु भन्दा महेन्द्रनगरबाट जहाज आउन पाएमा गौतमबुद्धमा २० मिनेट छिटो हुन्छ। २० मिनेछ छिटो हुँदा हवाई कम्पनीलाई सस्तो पर्छ। हवाई कम्पनीले आफ्नो लागत हेरेर पनि भैरहवा विमानस्थलमा उडान गर्न सक्छन्।