जागिरको खोजीमा हुनुहुन्छ, कर्पोरेट क्षेत्रमा ६०० ‘जब भ्याकेन्सी’, कुन/कुन क्षेत्रमा पाइन्छ ?

बिजमाण्डू
२०८० जेठ १८ गते ०७:२९ | Jun 1, 2023
जागिरको खोजीमा हुनुहुन्छ, कर्पोरेट क्षेत्रमा ६०० ‘जब भ्याकेन्सी’, कुन/कुन क्षेत्रमा पाइन्छ ?

काठमाडौं। आर्थिक मन्दी भएका बेला पनि केही कर्पोरेट कम्पनी, होटल र सुचना प्रविधि सम्वन्धि कम्पनीले कर्मचारी खोजिरहेका छन्।

Tata
GBIME
Nepal Life

नेपालका अर्बौ कारोबार गर्ने चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा ग्रुप, लक्जरियस रिसोर्ट द टेरेसस लगायतका दर्जनौ कम्पनीले कर्मचारी मागेका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा भएको रोजगार मेलामा ती कम्पनीले कामदार खोजिरहेको उल्लेख गरेका छन्।

 ६०० भन्दा बढी ‘जब भ्याकेन्सी’

मेलामा चौधरी ग्रुप, आइएमई मोटर्स, गोल्छा ग्रुप, लक्ष्मी ग्रुप, पञ्चकन्या ग्रुप लगायतका नेपालका ठूला कम्पनीदेखि विदेशमा बेस्ड लिपफ्रग, एजएलई लगायतका कम्पनीहरु ६०० भन्दा बढी ‘जब भ्याकेन्सी’का साथ उपस्थित छन्।

काठमाडौंमा मंगलबारदेखि सुरू भएको मेलामा सेवा क्षेत्रबाट शेर्पा हस्पिटालिटी, होटल एम्बेसडर, द टेरेसस, रिभर साइड स्प्रिङ लगायतका होटलहरुले सेल्स, फाइनान्स, रिसेप्सनिस्ट, सेफ लगायतका तहमा कर्मचारी खोजिरहेका छन्।

सूचना प्रविधि क्षेत्रबाट लिपफ्रग, मेटा आइटी लर्निङ, स्वीफ्ट टेक्नेलोजी, भुरिलो, वर्ल्डलिंक, एफवान सफ्ट, वेबो डिजिटललगायतका कम्पनीहरूमा पनि कामको अवसर छ।

चर्चित नाङ्लो बेकरीले प्रोडक्सन सेफदेखि रेडी स्टक सेल्स म्यानगरी करिब १५ रिक्त पदमा कर्मचारी खोजिरहेछ। द नेपाल डिस्टिलरीले पनि सेल्स, मार्केटिङ, एडमिनिस्ट्रेसन, प्रोडक्सनमा गरी आठ जनशक्ति खोजेको छ।

मेलामा द नेपाल डिस्टिलरीकी प्रतिनिधि अनामिका श्रेष्ठले भनिन्, ‘यो रोजगार मेलाले हामीलाई हाल खाली रहेको पदपूर्ति गर्नुका साथै फ्युचर भ्याकेन्सीहरूको लागि उपयुक्त जनशक्ति खोज्न सहज बनाउँछ। हामीले हाम्रो स्टलमा भ्याकेन्सीको लागि बुझ्न आउने उपयुक्त क्यान्डिडेटको पनि डाटा राख्छौं’

मेलामा नेपाल लाइफ इन्स्योरेन्सले पनि एक सयजना मार्केटिङ एजेन्ट र करिब २५ जना फुल टाइम कर्मचारी खोजिरहेको कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर गोविन्दप्रसाद भट्टराईले बताए, ‘अहिलेसम्म हामीले करिब २० जनाजति सम्भावित तथा इच्छुकको नाम टिपिसकेका छौं। स्वदेशमा नै रोजगारीको राम्रो अवसर छ भन्ने सन्देश दिनको लागि हामी यस मेलामा सहभागी भएका हौं।’

ई-कमर्स कम्पनी दराज पनि मेलामा मार्केटिङ, सेल्स, आइटी तथा डाटा अपरेसनका लागि  २८ वटा भ्याकेन्सी छ। कम्पनीकी एचआर अफिसर कामना शर्मा भन्छिन्, ‘राइट क्यान्डिडेट खोजीका लागि हामी यहाँ छौँ।’

‘जब फेयर २०२३ कनेक्टिङ डटस् अफ योर फ्युचर’ नारा दिइएको यस मेलामा पञ्चकन्या ग्रुप, गोल्छा ग्रुप, चौधरी ग्रुप, हिटाची इनर्जी, सुगम ग्रुप, प्रविधि ल्याब्स, लक्ष्मी ग्रुप, वरूण वेभरेज, लस्ट होराइजन ह्यान्डिकार्फ्ट, फिरन्ते ट्रेक एण्ड एक्सपिडिसन, काठमाडौं वर्ल्ड स्कुल, किसानदेखि भान्सासम्म सब्जी ल्यान्ड, कार्पेन्टर्स स्टप, ग्रेट नेपाल होलिडेज जस्ता विविध क्षेत्र र स्तरका जम्मा ५४ कम्पनीले १५ हजार रूपैयाँदेखि लाखौँसम्म कमाउन सक्ने अवसर लिएर आएका छन्।

काम दिने र खोज्ने दुबैको भीड

मेलामा कामको अवसर दिने र कामको खोजीमा रहेकाहरुको उल्लेखनीय सहभागिता छ। दुई हजारभन्दा बढी युवाले मेलामा सहभागिताका लागि नाम दर्ता गराएको महासंघले जनाएको छ।

मेलाले रोजगारी खोजिरहेका युवा र रोजगार प्रदान गर्ने कम्पनीका बीच सेतुको काम गर्ने उद्देश्य राखेको छ। मेलामा हाल पढ्दै गरेकादेखि स्वदेशमा नै रोजगारीको राम्रो अवसर खोजिरहेका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ।

हाल कम्प्युटर एप्लिकेसनमा स्नातक गर्दै गरेका भक्तपुरका अस्मित बास्तोला पनि इन्टर्नसिपको लागि नेपालबाटै काम गर्न मिल्ने विदेशी आइटी फर्म खोज्दै मेलामा आइपुगेका छन्।

उनले भने, ‘विदेशी कम्पनीको लागि काम गर्न र अन्तर्राष्ट्रिय एक्स्पोजर पाउन अहिले विदेश नै जान पर्छ भन्ने छैन। अहिले थुप्रै अन्तर्राष्ट्रिय कम्पनीले नेपालबाट पनि काम गरिरहेका छन्, विशेषगरी आइटीको क्षेत्रमा। यस मेलामा त्यस्ता थुप्रै कम्पनीको सहभागिता रहेकोले म अवसर खोज्दै मेलामा आएको हुँ।’

केही कम्पनीले उनको नाम सर्टलिस्ट पनि गरेको उनले सुनाए। त्यस्तै, विदेशमा १० वर्षदेखि कुकको काम गरेर फर्केका एक व्यक्ति पनि रोजगारीको अवसर खोज्दै मेलामा आएका थिए।

उनले भने, ‘स्वदेशमा नै काम गरौं। विदेशमा सिकेको सीपको उपयोग गरौं भनेर म देश फर्किएको हुँ। आफूले खोजेको जस्तो रोजगार पाइन्छ कि भनेर साथीको सुझावमा मेलामा आएको हुँ।’

भर्खरै स्नातक सकेका बाराका मधुसुदन चौधरी र दुर्गा कुमार चौधरी पनि कामको खोजीका मेलामा आएका छन् ।

कृषिमा आश्रित परिवारका मधुसुदन भन्छन्, ‘घरबाट कमाउन पर्ने कुनै दबाब नआएपनि अब आत्मनिर्भर हुने र करियर बनाउने समय हो भनेर हामी राम्रो अवसर खोज्न यहाँ आएका हौं। मेलामा धेरै कम्पनीहरुले जब भ्याकेन्सी अफर गरिरहेका रहेछन्।यहाँबाट कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको पनि प्रत्यक्ष बुझ्न सकिन्छ र आफूलाई त्यही अनुसर तैयार पनि गर्न सकिन्छ।’

 उनीहरूले मेलामा सहभागी फ्लेर हिमालयन कम्पनीबाट रोजगारी पाउन सक्ने सम्भावना देखिएको पनि बताए। मधुसुदन, अस्मित लगायतका रोजगारीको खोजीमा रहेकाहरुलाई योग्यताअनुसारका काम दिलाउन र कर्मचारी चाहिएका कम्पनीहरुलाई एउटै मञ्चमा भेट गराउने हेतुले आयोजित यस मेलालाई क्यालेण्डर इभेन्टको रूपमा हरेक वर्ष आयोजना गर्ने योजना पनि महासंघको छ। 

मेला मंगलबार र बुधबार दुई दिन चलेको हो। यहाँ रोजगारी, सीप एवम् जनशक्ति विकास लगायतका विषयमा परामर्श समेत दिइएको छ।  महासंघका अनुसार यो मेलामा करिब ५ हजारले सहभागिता जनाएका छन्। यी मध्येबाट ६ सयले यहीँबाट रोजगारी लिएर जाने महासंघले अपेक्षा गरेको छ।