
काठमाडौं। सरकारले सेयर बजारलाई दख्खल गर्ने कर बारे सरकारको चित्तबुझ्दो प्रष्टीकरण नआउँदा लगानीकर्ता दोस्रो दिन पनि निरुत्साहित रहेको संकेत कारोबारका गतिविधिले गरेको छ। बजेट घोषणायता सेयर बजारमा फराकिलो गिरावट देखिएको हो।
मंगलबार ५३ अंक गुमाएको सूचक आज ३८.८३ अंक घटेको छ। दुई दिनमै बजारले ९२ अंकभन्दा बढी गुमाइसक्यो। तर बजार भने बजेट घोषणाभन्दा अघिल्लो दिनबाटै घट्न थालेको थियो। पछिल्लो तीन कारोबारमा १३३ अंक घटिसक्यो। सूचक १८४९.७९ मा सीमित छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् मर्जर प्राप्ति र प्रिमियममा सेयर निष्कासन गरेका अधिकांश कम्पनीलाई पुनः कर लगाउने घोषणा गरेको छ। मर्जर प्राप्ति र प्रिमियम सेयर बेच्दा के कति नाफा भयो त्यसलाई करयोग्य आयमा देखाएपछि मात्रै लाभ भएको रकम चलाउन पाउने व्यवस्था गरेको हो। जसबारे चौतर्फी विरोध भएको छ।
यस बाहेक सेयर र घरजग्गा व्यवसायीले पनि नियमित कारोबारलाई आय स्वरुप देखाउनु पर्ने प्रावधान ल्याएको हो। जसले गर्दा आम लगानीकर्ताको मनोबल ह्वात्तै गिरेको छ। यद्यपि सरकार भने यो प्रावधानले ९९ प्रतिशत लगानीकर्तालाई असर नगर्नेमा ढुक्क छ।
तेस्रो मौद्रिक समीक्षा लगत्तै बजार घटेर १८०७.५३ सम्म ओर्लिसकेको थियो। जुन विन्दुबाट बजार बाउन्सब्याक भएर १९७७.५७ सम्म पुगेको थियो। यस बीच १७० अंकको वृद्धि भइसकेको थियो। तर सो वृद्धको ७८ प्रतिशत बजारले तीन दिनमै गुमायो।
बजेट प्रति आशावादी लगानीकर्ताको आकर्षण र मनोबल एकाएक बढ्दा बजारमा पैसा पनि भित्रिदै थियो। पछिल्ला तीनै वटा कारोबार दिनमा कारोबार साढे २ अर्ब हाराहारी किनबेच भएको छ। यस दौरान २ अर्ब ४३ करोड रुपैयाँको औसत कारोबार देखिन्छ। नभए बजार घट्दा कारोबार रकम पनि सुकेर ४०/५० करोडमा सीमित थियो।