जीवन बीमा कम्पनीहरुले वैशाखमा आर्जन गरे १ खर्ब १४ अर्ब बीमाशुल्क, कसले कति कमाए?

बिजमाण्डू
२०८० जेठ १७ गते १३:०५ | May 31, 2023

काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल बीमा प्राधिकरणले जारी गरेको बैशाख महिनासम्मको वित्तीय तथ्यांकअनुसार हाल संचालनमा रहेका कम्पनीहरुले एक खर्ब १४ अर्ब १० करोड रुपैयाँ आर्जन गरेका हुन्। गत चैत महिनासम्म बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन एक खर्ब रुपैयाँ थियो।

सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले १० लाख ३५ वटा सक्रिय बीमालेखबाट २९ अर्ब ६५करोड रुपैयाँ आर्जन गरेको हो। कम्पनीले प्रथम बीमाशुल्कबाट ४ अर्ब ४९ करोड रुपैयाँ आर्जन गर्दा नवीकरण शुल्कबापत २५ अर्ब रुपैयाँ संकलन गरेको छ।

यसैगरी एलआइसी नेपाल दोस्रो स्थानमा छ। कम्पनीले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ६ लाख ८२ हजार वटा बीमालेखबाट १४ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो। प्रथम बीमाशुल्क एक अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको कम्पनीको नवीकरण शुल्कमात्र १२ अर्ब ३५ करोड रुपैयाँ संकलन भएको छ।

नेशनल लाइफ धेरै बीमाशुल्क आर्जन गर्ने तेस्रो स्थानमा रहेको छ। कम्पनीले १५ लाख ९१ हजार वटा बीमालेख जारी गरी १२ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको प्रथम बीमाशुल्क २ अर्ब ८८करोड रुपैयाँ छ। बीमालेख नवीकरण शुल्कबापत ९ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ।

राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा छ। कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा ७ अर्ब ५८ करोड रुपैयाँ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीमा हाल ५ लाख ५९ हजार वटा बीमालेख सक्रिय छन्। कम्पनीको प्रथम बीमा शुल्क ८४करोड रुपैयाँ र नवीकरण शुल्क ६अर्ब ७३ करोड रुपैयाँ छ।

सुर्याज्योती लाइफ इन्स्योरेन्सले ८ लाख ३७ वटा बीमालेखबाट ६ अर्ब ७७करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।सो अवधिमा कम्पनीको प्रथम बीमाशुल्क २ अर्ब रुपैयाँ र नवीकरण शुल्क ४ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ।

साविक युनियन लाइफले एक लाख भन्दा बढी बीमालेखबाट ६अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।यो कम्पनीको प्रथम बीमा शुल्क ९४ करोड रुपैयाँ र नवीकरण शुल्कबापत ५अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ।

एशियन लाइफले ५ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।कम्पनीमा ६ लाख २३ हजार बीमालेख सक्रिय छन्।

सिटिजन लाइफले चालु आर्थिक वर्षको १० महिनामा ४ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।सानिमा रिलायन्स लाइफको बीमाशुल्क ४ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको छ।

यस्तै,मेट लाइफको बीमाशुल्क आर्जन ४ अर्ब २७ करोड रुपैयाँ,साविक प्राइम लाइफ ३अर्ब ५२ करोड रुपैयाँ, आइएमई लाइफ ३अर्ब २६ करोड, सन नेपाल लाइफले ३ अर्ब १३करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब, गुराँस लाइफले २ अर्ब ३९ करोड कमाएको छ।

प्रभु लाइफले एक अर्ब ६९ करोड, महालक्ष्मी लाइफले १ अर्ब ३१ करोड रुपैयाँ र बैशादेखि एकीकृत कारोबार गरेको हिमालयन लाइफले १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ।