भाडाका सवारीसाधनमा आयकर २ हजारसम्म वृद्धि, विद्युतीयमा पनि सीमा तोकियो

बिजमाण्डू
२०८० जेठ १७ गते ११:१० | May 31, 2023
भाडाका सवारीसाधनमा आयकर २ हजारसम्म वृद्धि, विद्युतीयमा पनि सीमा तोकियो

काठमाडौं। सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ। कार, जिप, भ्यान, माइक्रोबसमा १३०० सीसीसम्म ४ हजार आयकर लाग्नेमा अब ५ हजार ५०० लाग्ने भएको छ।

Tata
GBIME
Nepal Life

यस्तै १३०१ देखि २००० सीसीसम्म ४ हजार ५ सय रहेको आयकर अब ६ हजार पुगेको छ। २ हजार १ सीसीदेखि २९०० सीसीसम्मसवारी दर्ता नवीकरण गर्दा ५ हजार लाग्ने आयकर बढाएर ६ हजार ५ सय रुपैयाँ बनाइएको छ।

२९०१ सीसीदेखि ४ हजार सीसीसम्मको सवारी दर्ता वा नवीकरण गर्दा लाग्ने आयकर ६ हजारबाट बढेर ८ हजार भएको छ।

यसैगरी ४ हजार सीसीभन्दा माथिकोमा दर्ता नवीकरण गर्दा लाग्ने आयकर ७ हजारबाट बढेर ९ हजार, मिनी बस, मिनी ट्रक र पानी ट्यांकर सवारी दर्ता तथा नवीकरण गर्दा लिने आयकर ६ हजारबाट बढेर ८ हजार, मिनी टिप्परको  ७ हजारबाट ९ हजार र बसको ८ हजारबाट १० हजार ५ सय भएको छ।

यस्तै डोजर, एक्स्काभेटर, लोडर, रोलर, क्रेनको १२ हजारबाट  १५ हजार ५ सय, तेल ट्यांकर ग्यास बुलेट, टिपरको १२ हजारबाट १५ हजार ५ सय, ट्रयाक्टरको २ हजारबाट २ हजार ५ सय, पावर टिलरको १ हजार ५ सयबाट २ हजार, अटोरिक्सा, थ्री ह्‍वीलर र टेम्पोको २ हजारबाट २ हजार ५ सय रुपैयाँ बनाएको छ।

विद्युतीय सवारीसाधनको हकमा ५० किलोवाटसम्मको ३ हजार, ५० देखि १२५ किलोवाटसम्म ४ हजार, १२५ देखि २०० किलोवाटसम्म ६ हजार र २०० किलोवाटमाथि ७ हजार ५ सय रुपैयाँ आयकर सीमा तोकेको हो।