प्रधानमन्त्रीको भारत भ्रमणकै बेला रेल कार्गो सुरु हुँदै, मालवाहक रेल भोलि आइसीपी आइपुग्ने

अनन्तराज न्यौपाने
२०८० जेठ १७ गते ०९:३३ | May 31, 2023
प्रधानमन्त्रीको भारत भ्रमणकै बेला रेल कार्गो सुरु हुँदै, मालवाहक रेल भोलि आइसीपी आइपुग्ने

विराटनगर। भारतबाट व्यापारिक मालसामान लिएर मालवाहक रेल विराटनगरको एकीकृत जाँचविन्दु (आइसीपी) सम्म आइपुग्ने भएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणकै अवसर पारेर बिहीबार (जेठ १८ गते) आइसीपीको रेल यार्डसम्म मालवाहक रेल आइपुग्ने भएको हो। यसपछि नेपाली व्यवसायीले आइसीपीको रेल यार्ड हुँदै व्यापारिक मालवस्तु रेल कार्गोमार्फत् सधैं ओसारपसार गर्नसक्ने छन्।

भारतीय विदेश मन्त्रालयले प्रकाशित गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री दाहाल बुधबार भारतको नयाँ दिल्ली पुगेपछि दुवै देशका प्रधानमन्त्रीले बिहीबार रेल सञ्चालन सुरु भएको झन्डा देखाउनेछन्।

नयाँ दिल्लीमा दुवै प्रधानमन्त्रीले झन्डा देखाएर रेलकार्गोको उद्‍घाटन गर्नेछन्। उद्‍घाटनको दृश्य विराटनगरको सीमावर्ती भारतीय रेलवे स्टेसन बथनाहामा राखिएको अनलाइन डिस्प्लेमा देखिनेछ। यसपछि विराटनगरको आइसीपीसम्म आइपुग्ने गरी मालवाहक रेल हिँड्नेछ।

बथनाहामा उक्त मालवाहक रेललाई भारतीय रेलवे र भारतीय भन्सारका अधिकारीले बिदाइ गर्नेछन्। बथनाहाबाट मालवाहक रेल छुटेको १५ मिनेटमै विराटनगरको आइसीपीस्थित रेलयार्डसम्म मालवाहक रेल आइपुग्नेछ। बथनाहादेखि आइसीपीसम्मको दूरी ८ किलोमिटर छ।

आइसीपीमा मालवाहक रेलको स्वागत स्थानीय उद्योग वाणिज्य संघ, नेपाल रेल विभाग, भन्सार कार्यालय लगायतका निकायले गर्नेछन्।

विराटनगरको आइसीपीसम्म आइपुग्ने मालवाहक रेलले सुरुवातमा फलामे उद्योगका कच्चा सामग्री ल्याउने कार्यक्रम छ।

उक्त रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल गरी ४ फलामे उद्योगका कच्चा सामग्री ल्याउनेछ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भारतीय मालवाहक रेल जेठ १८ गतेका दिन विराटनगरको आइसीपीसम्म आइपुग्ने जानकारी दिए।

उनका अनुसार भारतीय रेल र भारतीय भन्सारका अधिकारीहरू उद्योग संगठनमा आएर व्यवसायीसित मालवाहक रेल आइसीपीसम्म आइपुग्ने विषयमा छलफल गरिसकेका छन्।

भारतीय अधिकारीले विराटनगरको आइसीपीस्थित रेलवे यार्डमा कन्टेनर र कार्गो ह्यान्डलिङ गर्न केही इक्विपमेन्ट चाहिएमा भारतीय पक्षले ३ महिनाका लागि उपलब्ध गराउने आश्वासन दिएका छन्। त्यसपछि भने आइसीपीको सञ्चालनका लागि ठेक्का पाएको ट्रान्स नेपाल फ्रेट सर्भिसेजले सबै इक्विमेन्टको व्यवस्था गर्नुपर्नेछ।

भारतीय रेलवे अधिकारीका अनुसार अब जेठ १८ देखि विराटनगर नाका हुँदै ल्याइने रेलकार्गो आइसीपीबाटै आउने छ। हालसम्म व्यवसायीले फलाम उद्योगका कच्चा पदार्थ, मल, नुन लगायतका सामानहरू जोगबनी रेलवे स्टेसनको यार्डसम्म ल्याएर भन्सार जाँचपास गरिरहेका छन्। अब जोगबनी स्टेसनको यार्डलाई कार्गोयार्डका रूपमा सञ्चालन गरिनेछैन। सबै सामान आइसीपीमार्फत् नै ल्याउनु पर्नेछ। भारतीय रेलवेले जोगबनीको यार्डमा रेलवेको सर्भिसिङ सेन्टर बनाउने भएको छ। त्यहाँ रेलका यात्रुवाहक डब्बाहरूको मर्मत, सफाइ आदि गरिनेछ।

सर्भिसिङ सेन्टरको निर्माण भएपछि जोगबनीबाट भारतका अन्य ठुला सहरमा रेल सञ्चालन गर्ने योजना रेल विभागको रहेको बताइएको छ। हाल जोगबनीबाट नयाँ दिल्लीसम्म दैनिक र कोलकातासम्म हप्ताको ३ दिन रेल सेवा सञ्चालनमा छ। केही समयमै पटनासम्म पनि दैनिक रेल सञ्चालन गरिने भारतीय रेलवेले जनाएको छ।

ट्रान्स नेपाल फ्रेट सर्भिसेजका प्रमुख लक्ष्मी सुब्बाले ट्रान्स नेपालसित रेलकार्गो ह्यान्डलिङका लागि सबै इक्विपमेन्ट मौजुद रहेको र भारतीय पक्षसित सहयोग माग्नुपर्ने अवस्था नरहेको जानकारी दिए।

उनले रेलको र्‍याकबाट कन्टेनर निकालेर राख्‍ने क्रेन, हाड्रा लगायतका सबै हेभी इक्विपमेन्ट र तिनका प्राविधिक पनि तयार भएको उल्लेख गरे।

प्रमुख सुब्बाले जेठ १८ गतेका दिन तत्काल रेल स्टेसनमै रहेको यार्डबाट कार्गो ह्यान्डलिङ गरिने बताए।

उनका अनुसार आइसीपीको रेलवे स्टेसनदेखि मुख्य परिसरसम्म आइपुग्ने कनेक्टिङ सडक निर्माणको क्रममा छ। त्यस्तै कार्गो ह्यान्डलिङका लागि २६ हजार वर्गमिटरको रेल यार्ड पनि निर्माण भइरहेको छ। सडक र यार्ड दुवैको निर्माण भइसकेपछि रेलमार्गबाट ल्याइएका मालवस्तुको ओसारपसार गर्न अझ सजिलो पर्नेछ।

पूर्वका व्यवसायीले सीमावर्ती भारतीय रेलवे स्टेसन बथनाहादेखि विराटनगरको आइसीपीसम्म आइपुगेको रेलमार्गलाई कार्गोे ढुवानीका लागि खुला गर्न लामो समयदेखि माग गर्दै आइरहेका थिए।

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयश प्याकुरेलले पूर्वका व्यवसायीले रेलमार्गबाट आयातनिर्यात गर्न पाएमा ढुवानी खर्चमा २० देखि ३५ प्रतिशतले सस्तो पर्ने, ढुवानी छिटो हुने, मालवस्तु टुटफुट नहुने र मालसामान बीच बाटोबाटै हराउने सम्भावना पनि नहुने लगायतका फाइदा रहेको बताए।

‘अहिले व्यवसायीको सबैभन्दा ठुलो समस्या र चिन्ता नै लागतलाई कसरी कम गर्ने भन्ने हो,’ उनले भने, ‘रेलमार्गबाट मालवस्तुको ओसारपसार सुरु भएपछि लागतखर्चमा कमी आउने छ।’

भारतको बथनाहाबाट विराटनगरको आइसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनको परीक्षण गरिएको थियो। नेपाल-भारत दुवै देशका झन्डा राखेर बथनाहादेखि आइसीपीको स्टेसनसम्म परीक्षणस्वरूप रेलको इन्जिन ल्याइएको थियो। यसपछि भारतीय पक्षले पटकपटक नेपाल सरकारलाई आइसीपीसम्म रेलकार्गो सञ्चालन गर्न अनुरोध गर्दै आएको छ। तर, नेपाल सरकारको हेलचेक्र्याईंले अहिलेसम्म रेलकार्गो सञ्चालन हुन सकेको छैन।

आइसीपीसम्म रेलकार्गो आउने भए पनि उक्त रेलवेको अन्तिम गन्तव्य भने मोरङको कटहरी गाउँपालिका हो। रेलमार्गबाट ल्याइएका कन्टनेरहरू अन्तिम गन्तव्य कटहरीमै अनलोड गर्नुपर्ने द्विपक्षीय सम्झौता छ। तर कटहरीमा जग्गाको मुआब्जा विवादका कारण नेपालतर्फ ८ किलोमिटर क्षेत्रमा रेलवे ट्रयाक अझै बिछ्याइएको छैन।

बथनाहादेखि विराटनगर आइसीपी हुँदै कटहरीसम्म आइपुग्ने १८ किलोमिटर रेलमार्गको निर्माणको काम सन् २०११ मा सुरु गरिएको थियो। यसमा भारत सरकारले सहयोग गरेको छ।