विलासी कर लगाएर महँगो गन्तब्य बन्यो नेपाल, ‘विश्वबजारमा पर्यटन क्षेत्रकै दुष्प्रचार हुन्छ’

वसन्तराज उप्रेती
२०८० जेठ १७ गते ०७:२७ | May 31, 2023
विलासी कर लगाएर महँगो गन्तब्य बन्यो नेपाल, ‘विश्वबजारमा पर्यटन क्षेत्रकै दुष्प्रचार हुन्छ’

काठमाडौं। सरकारले लक्जरी कर थोपरेर नेपालको पर्यटन महँगो बनाएको छ। कनेक्टिभिटी राम्रो नहुँदा महँगो गन्तब्य बनिरहेको मुलुकमा थप कर लगाएर पर्यटकलाई निरुत्साहित गरेको हो।

Tata
GBIME
Nepal Life

यति मात्रै होइन बजेटमार्फत हवाई टिकटमा पनि भ्याट लगाउने उल्लेख छ। नेपाल आउने हवाई भाडा महँगो हुँदा पर्यटकको आकर्षण कम छ। त्यसमा पनि लक्जरी कर दुई प्रतिशत र भ्याट १३ प्रतिशत लगाउँदा पर्यटक आगमनमा गम्भीर असर पर्ने पर्यटन व्यवसायी बताउँछन्।

पाहुनालाई अतिरिक्त कर लिने सरकारको निर्णयले विश्वबजारमा पर्याप्त सेवासुविधाविनै शुल्क चर्को असुल गर्ने भन्दै नेपालको पर्यटन क्षेत्र छविमै नकारात्मक असर पर्ने उनीहरुको ठहर छ। विश्व अर्थतन्त्र नै अप्ठ्यारो अवस्थामा रहेका बेला पर्यटक भित्र्याउने किसिमका योजना छाडेर झन् महँगो बनाउनु नेपाली पर्यटन उद्योगका लागि घातक हुने उनीहरुको भनाइ हो।

‘कोरोनाको धक्काबाट हाम्रो पर्यटन उद्योग विस्तारै अगाडि बढिरहेको बेलामा महँगी बढाउनु उपयुक्त छैन। यो समयसापेक्ष निर्णय भएन,’  होटल संघका अध्यक्ष विनायक शाहले भने,’पर्यटक आउने भनेकै सेवा सुविधा हेरेर हो। एकपछि अर्को कर थप्दै गयो भने पर्यटन क्षेत्रमा नोक्सान बढ्छ, अनि कसरी सरकारले राजस्व असुल गर्छ?’

नेपाली पर्यटन क्षेत्रले धेरै पर्यटक आकर्षित गर्न सस्तो दरमा सेवा दिनु जरुरी देखिएको उनले बताए। अहिले पनि होटल उद्योग अत्यधिक नाफामा छैन। यस्तो बेला पाहुनालाई दिने सेवामा विलासी कर लगाइनुले नेपालको पर्यटन क्षेत्रको दुष्प्रचार हुने उनको भनाइ छ।

पर्यटन क्षेत्रबाट फाइदा लिनका लागि सरकारले गरेको करको नयाँ शीर्षक घोषणा स्वाभाविक भए पनि विश्व अर्थतन्त्र अवस्थालाई ध्यान दिन आवश्यक रहेको टेम्पल टाइगर ग्रुप अफ कम्पनीजका अध्यक्ष वसन्तराज मिश्रले बताए।  पर्यटन क्षेत्रमा हठात् थप कर घोषणा अघि सम्भाव्यता अध्ययनमा सरकारले तयारी नै नगरेको उनले बताए।

‘यो समय उपयुक्त छ कि छैन बुझ्न आवश्यक छ। अर्कातिर यो कर असुलेर कस्तो किसिमको सुविधा दिन सक्छौं, पर्यटक आवागमनमा कत्तिको सुधार हुन्छ? सबै अध्ययन गर्न आवश्यक छ,’ उनले भने। 

होटल मेरियटका संचालक शशीकान्त अग्रवालले होटलमा लगाइएको ‘लक्जरियस ट्याक्स’ले विश्वबजारमा नेपालको पर्यटकीय गतिविधिको दुष्प्रचार हुने बताए। ‘होटलमा लगाइएको २/३ प्रतिशत लक्जरियस ट्याक्सले सरकारलाई त्यस्तो ठूलै फाइदा हुने पनि होइन,’ उनले भने, ‘एउटा नयाँ शीर्षक बनाएर विदेशी पर्यटकलाई नेपाल आवागमनमा निरुत्साहित गरिएको छ।’

विलासी कर लागू गरेसँगै सरकारले पूर्वाधार विस्तारमा जोड दिन आवश्यक रहेको अलोफ्ट होटलका महाप्रबन्धक विक्रम सिंहले बताए। यो कर चारतारे र पाँचतारे होटलमा लागू गर्नु सकारात्मक देखिए पनि समग्र पर्यटन क्षेत्रबाट पर्यटकले पाउने विलासी सुविधा भने स्पष्ट हुन आवश्यक रहेको उनको भनाइ छ।

तारे होटलका पाहुना लक्षित करको नयाँ शीर्षक घोषणा अघि सरकारले विश्व बजारमा नेपाली पर्यटनको छविमा पर्ने असरबारे सोचविचार नै नगरेको व्यवसायीको ठहर। भन्छन् – ‘करअनुसार हामीले पाहुनालाई के सुविधा दियौं भन्नु ?

‘पाहुना आएर यदि हामीलाई विलासी शुल्कबापतको सेवाबारे सोधिहाले हामी नै जवाफदेही हुने हो। यसमा राज्यले योजना पनि बनाउन आवश्यक छ,’ महाप्रबन्धक सिंहले भने,’बुझाइएको कर अनुसार प्रतिफल पनि देखिन आवश्यक छ।’

केही व्यवसायीले भने करको यो नयाँ शीर्षकमार्फत राज्यको राजस्व संकलनमा वृद्धि हुने जनाएका छन्। ‘अतिरिक्त लक्जरी ट्याक्सले सरकारलाई फाइदा हुने देखिएको छ। तर राज्यले पनि केही हेर्न आवश्यक छ। निजी क्षेत्रबाट लिने मात्रै, दिने केही छैन?’ एक व्यवसायीले भने।

आगामी वर्षको बजेटमार्फत सरकारले पहिलोपटक ‘विलासी कर’ को सुरुवात गरेको हो। सरकारले चार र पाँचतारे होटलमा बस्‍ने र सेवा लिनेहरुबाट अतिरिक्त २ प्रतिशत लक्जरी कर उठाउने भएको हो।

अब २ प्रतिशत कर जोडेपछि त्यसमा १३ प्रतिशत भ्याट लाग्ने छ। यसो हुँदा होटल क्षेत्रको सेवा महँगिने भएको छ। पर्यटकले तिरेको शुल्क अनुसारका सेवाको हिसाब खोज्ने भएकाले जवाबदेही सरकार हुनुपर्ने व्यवसायीहरुको जिकिर छ।

पर्यटक आकर्षित गर्ने की तर्साउने ?

कोरोनाकालपछि पर्यटकको नेपाल आगमन दर आशलाग्दो छ। आगमनमा आकर्षणका लागि विदेशमा नेपाल गन्तव्य प्रचारसँगै कर प्रणाली र सुविधामा सरकारले सहजीकरण गर्नुपर्ने खाँचो देखिएको छ।

अध्यागमन विभागका अनुसार सन् २०२३ को जनवरीदेखि गत अप्रिलसम्म हवाई र स्थलमार्ग भएर ७ लाख ४० हजार विदेशीले नेपाल भ्रमण गरेका छन्। भारतबाहेक मुलुकका गत जनवरीमा ३८ हजार ६ सय ३८, फेब्रुअरीमा ५४ हजार ८ सय ५४, मार्चमा ७३ हजार ५ सय १७ र अप्रिलमा ६७ हजार ३ सय ३७ पर्यटक नेपाल आएको तथ्यांक छ।

यो अवधिमा नेपाल आउने पर्यटकमा भारतीय धेरै छन्। त्यसपछि अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र चीनका पर्यटक नेपाल आएका छन्। नेपाल आउनेमा आरोहीबाट सरकारले रोयल्टीबापत उल्लेख्य शुल्क संकलन गर्छ।

नेपालमा १९ वटा पाँचतारे होटल र ३५ वटाको हाराहारीमा चारतारे होटल छन्। केही होटल निर्माणाधीन छन्। नेपाली तारे होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय चेनले लिन थालेपछि खर्च क्षमता उच्च भएका पर्यटकको आगमन दरमा क्रमिक वृद्धि छ। यसलाई अझ प्रोत्साहित गर्नुपर्ने अवस्था पर्यटन व्यवसायीले देखेका छन्।

पछिल्ला वर्ष नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडानले यात्रा सहज बनाउनुको साटो कहिले ग्राउन्डेड हुने त कहिले टायर पंचर भएर निर्धारित उडान पछि सर्ने अनपेक्षित घटना हुँदा समस्या बढाएको छ। नेवानिको खबर पढेका पर्यटक नेपाल आउन उत्साहित हुँदैनन्। त्यसमाथि तीन तहको सरकारका विभिन्न किसिमका कर छन्।

गत वर्ष अध्यागमन कार्यालयको एउटा सूचनाको चर्को विरोध भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले विमानस्थलमै दिइने ‘अनअराइभल भिसा’ लिने पर्यटकलाई २०० डलर नगद नै बोकेर आउन सूचना जारी गरेको थियो। डेबिट, क्रेडिट, मास्टर कार्ड, इ-बैंकिङ र मोबाइल वालेटको युगमा पनि भुक्तानी सहजीकरणको सट्टा पुरानै तरिका अपनाउन सूचना जारी गरेर अध्यागमनले नचाहिने काम गरेको भन्दै आलोचना भएको थियो।

खर्चालु पर्यटक आकर्षित नगरी नेपाली पर्यटन क्षेत्रको आम्दानी अपेक्षाकृतरूपमा वृद्धि हुँदैन। आकर्षित गर्न सरकार त अनुदार छ नै, पर्यटन बोर्डले पनि विदेशमा नेपाल प्रचार गर्न छाडेको छ। यस्तोमा अर्थमन्त्री महतले थपेको ‘विलासी कर’ले अझ वातावरण बिगार्ने व्यवसायीको टिप्पणी छ।