एनआरएनलाई दोस्रो बजारमा कारोबार गर्ने बाटो खुल्यो, लाभांश फिर्ता लैजान पाउने

बिजमाण्डू
२०८० जेठ १५ गते १९:३४ | May 29, 2023
एनआरएनलाई दोस्रो बजारमा कारोबार गर्ने बाटो खुल्यो,  लाभांश फिर्ता लैजान पाउने


काठमाडौं। गैरआवासीय नेपाली (एनआरएन)ले धितोपत्र दोस्रो बजारमा लगानी गर्न पाउने भएका छन्।

Tata
GBIME
NLIC

अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै एनआरएनलाई सेयर बजारमा सूचीकृत भएका हाइड्रोपावर तथा अन्य  वास्तविक क्षेत्रका कम्पनीहरुमा लगानी गर्ने बाटो खुला गर्ने बताएका हुन्।  

चालु आर्थिक वर्षको बजेटमा एनआरएनको लगानी खुला गर्ने कानुनी व्यवस्था मिलाइने व्यवस्था उल्लेख भएको थियो। यसलाई नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रममा समेत विशेष प्राथमिकतामा राखेको थियो। सोहीअनुसार बोर्डले समिति गठन गरेर अध्ययन अघि बढाइसकेको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालका अनुसार यसअघि एनआरएनलाई सेयर बजारमा ल्याउने भनिएपनि लगानी फिर्ता लैजान दिने कि नदिने भन्ने बारेमा स्पष्ट हुन सकेको थिएन।

तर आर्थिक वर्ष २०८०/८१ को बजेटमा विदेशी लगानीकर्ताले लाभांश सुरक्षित गरी फिर्ता लैजाने  प्रक्रिया सरल बनाउने व्यवस्था उल्लेख गरेको छ।  

साथै बजेटमा गैरआवासिय नेपालीको पुँजी, प्रविधि र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन समेत व्यवस्था गरिएको छ।

यसैगरी धितोपत्र औजारहरुको बिस्तार तथा विविधिकरण गरिने बजेटमा उल्लेख छ। धितोपत्र बजारलाई सुदृढ र गतिशिल बनाउन विद्यमान कानुनी व्यवस्थालाई समयानुकुल संशोधन गरिने बताइएको छ।

यस्तै आवश्यक पूर्वाधार तयार गरी कमोडिटी एक्सचेन्ज मार्केट तथा एसएमईज प्लाटफर्म संचालनमा ल्याइने बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले बताए।