सगरमाथा आरोहणको ७० औं वार्षिकोत्सवः सोलुखम्बुको खुन्दे र खुम्जुङमा पुग्यो फाइबर इन्टरनेट

बिजमाण्डू
२०८० जेठ १५ गते १३:३१ | May 29, 2023
सगरमाथा आरोहणको ७० औं वार्षिकोत्सवः सोलुखम्बुको खुन्दे र खुम्जुङमा पुग्यो फाइबर इन्टरनेट

काठमाडौं। सगरमाथा आरोहणको ७० औं वार्षिकोत्सव पारेर सोलुखुम्बुको खुन्दे र खमजुङ गाँउमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा आएको छ। नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको संयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटवर्कले दुई गाउँमा फाइबर इन्टरनेट पुर्‍याएको हो।

Tata
GBIME
Nepal Life

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेका थिए। सर्वोच्च शिखरमा पहिलोपटक मानव पाइला परेको उक्त दिनको स्मरणमा सगरमाथा दिवस मनाउने गरिएको छ। खुन्दे र खुम्जुङ गाउँमा वायरलेस प्रविधि थियो, त्यसलाई फाइबरमा अपग्रेड गरिएको हो।

फाइबर विस्तार भएसँगै दुवै गाउँका बासिन्दा तथा सगरमाथा आरोहण गर्न आउने आरोहीले अब उच्च गतिको इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए।

फाइबर पुगेपछि खमजुङ माध्यमिक विद्यालय, एडमन्ड हिलारीले स्थापना गरेका खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान गरिने भएको छ।

पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा घरहरूमा फाइबर इन्टरनेट जडान गरिने भएको छ।

उच्च गतिको फाइबर इन्टरनेटले स्थानीयलाई डिजिटल शिक्षा र टेलि हेल्थको पहुँचसँगै नयाँ आम्दानीको अवसरसँग पनि जोड्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसले सगरमाथा आरोहण गर्न आउने आरोहीलाई समेत आकर्षण गर्ने उनले बताए। शेर्पाहरूको बसोबास रहेको खुन्दे र खुम्जुङमा होमस्टेको समेत व्यवस्था छ। यी गाँउहरू खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छन्। जसको जनसंख्या करिब नौ हजार छ।

सगरमाथा दिवसको अवसरमा सोलुखम्बुमा आयोजित कार्यक्रममार्फत फाइबर इन्टरनेट परियोजनाको औपचारिक सुरूवात गरिएको हो ।

यो कार्यक्रममा हिलारीका छोरा पिटर हिलारी, न्युजिल्याण्ड पूर्व प्रधानमन्त्री हेलेन क्लार्क, इन्टरनेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद ऊल हक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु-४ का वडाध्यक्ष लक्ष्मण अधिकारी लगायतको उपस्थिति थियो।