
काठमाडौं। लाभांश वितरणको प्रमुख प्रस्तावसहित जाल्पा सामुदायिक लघुवित्तले चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।
लघुवित्तले असार ४ गते रुपन्देहीमा हुने गरी साधारणसभा मिति तय गरेको हो। साधारण सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने प्रस्ताव पारित गर्दै छ।
हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड छ। लघुवित्तले साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई उक्त पुँजीको १४.२५ प्रतिशतले हुन आउने २ करोड २८ लाख बराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने १२ लाख बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ।
साधारणसभाबाट पास भएपछि सो लाभांश लगानीकर्ताहरुमा वितरण गरिने छ।
यस्तै साधारण सभामा अन्य लघुवित्तसंग मर्जरमा जाने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गराउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन गरिने बताइएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले जेठ २३ गते बुक क्लोज मिति तोकेको छ। उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा उपस्थित हुनुका साथै लाभांश पनि पाउने छन्।