हवाईमार्गमा भारत अनुदार, प्रधानमन्त्री प्रचण्डको भ्रमणमा यसबारे के हुन्छ?    

वसन्तराज उप्रेती
२०८० जेठ १५ गते ०७:५५ | May 29, 2023
हवाईमार्गमा भारत अनुदार, प्रधानमन्त्री प्रचण्डको भ्रमणमा यसबारे के हुन्छ?       

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा द्विपक्षीय वार्ताका लागि एजेन्डामाथि चर्को बहस छ।

Tata
GBIME
Nepal Life

बहसमा रहेकामध्ये जल्दोबल्दो विषय हो- नयाँ हवाई प्रवेश विन्दु र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आइएलएस) विस्तार।

के यी दुई विषयमा प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तामा निकास पहिल्याउँछन् ? एयर रुट दिने विषयमा भारत उदार हुन्छ भन्ने नेपाली हवाई सेवा व्यवसायीलाई पत्यार छैन।

अन्तर्राष्ट्रिय उडानका लागि नेपाल भित्रिन र बाहिरिन एक मात्र रुट छ सिमरा। त्यसबाहेक अरु एयर रुट भारतले नेपालका लागि खुला गरेको छैन। यसबारे कुरै गर्न चाहदैन। नेपाली कूटनीतिक पहल पनि पुगेको छैन। भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि भारतले रुचाएको परियोजना होइन।

यसका दुई कारण छन्। पहिलो, यो विमानस्थल निर्माण अघि नै एयर रुटका लागि नेपालले भारतसँग कुरै गरेन। राष्ट्रिय राजनीतिमा प्रभावशाली लुम्बिनीका केही नेताको जोडबलमा विमानस्थल निर्माणको योजना अघि बढाइयो। निर्माण ठेक्का चिनियाँ कम्पनीले लियो। जुन विमानस्थलका लागि सहज हुने हवाई मार्ग नै खुला छैन, त्यो परियोजनाका लागि मुलुकलाई वैदेशिक ऋण नै लिन बाध्य पारियो।

‘वर्षौँदेखि कार्यान्वयन हुन नसकेको यो प्रस्तावमाथि हाम्रो सुझबुझसहितको कूटनीतिक पहल आवश्यक छ। प्रधानमन्त्रीको भ्रमणबाट सकारात्मक नतिजाको आशा लिएका छौं। एउटा मात्र नयाँ विन्दु खुल्न पाए मुलकको उड्डयन उद्योग थप गतिशील हुने थियो।’

त्यसैले पनि सञ्चालनमा भएको वर्ष दिन भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षित बिजनेस पाएकै छैन। नागरिक उड्डयन प्राधिकरणले विभिन्न छुट र सुविधा घोषणा गरेर लोभ्याउन खोज्दा पनि अन्तर्राष्ट्रिय वायुसेवाहरुले चासो देखाएका छैनन्।

तर, प्रधानमन्त्री प्रचण्डको बुधबारदेखि हुने भारतको औपचारिक भ्रमणमा यी दुई विषयमा पनि छलफल हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी बताउँछन्।

‘मन्त्रालयले गत साता भारतीय नागरिक उड्डयन मन्त्रालयसँग यो विषयमा छलफल गरेको थियो। भारतीय अधिकारीहरु पहिलेभन्दा केही लचिला देखिएका छन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘वर्षौंदेखि कार्यान्वयन हुन नसकेको यो प्रस्तावमाथि हाम्रो सुझबुझसहितको कूटनीतिक पहल आवश्यक छ। प्रधानमन्त्रीको भ्रमणबाट सकारात्मक नतिजाको आशा लिएका छौं। एउटा मात्र नयाँ विन्दु खुल्न पाए मुलकको उड्डयन उद्योग थप गतिशील हुने थियो।’   

मन्त्रालयले पहिलो एजेण्डाअन्तर्गत भैरहवामा आइएलएस रहेको जनाइएको छ। नियर बोर्डर ओपरेसनसँगै महेन्द्रनगर, नेपालगन्ज, लुम्बिनी, जनकपुर लगायत चारवटा विन्दुको प्रस्ताव गरेको छ। ‘नेपालले मागेको एयर रुटमा भारतले एयरबेसमा असर पर्ने जनाउँदै आएको छ,’ ती अधिकारीले भने, ‘आइएलएसका सञ्चालनका लागि कूटनीतिक पहल जरुरी छ।’

कम उचाइमा उडान गर्दा भारतको संवेदनशील क्षेत्रको गोप्यता भंग हुने कारण देखाउँदै आइएलएस प्रयोगका लागि स्वीकृति दिइएको छैन। यो प्रविधि सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले ८५० मिटर भिजिबिलिटीमै भैरहवामा अवतरण गर्न सक्नेछन्।

प्रवेश विन्दु विस्तार र भैरहवामा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) संचालनका लागि पछिल्लो समय पर्यटनमन्त्री सुदन किरातीले भारतसँग कूटनीतिक पहल अघि बढाएका हुन्। यो विषयमा उनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको थियो। तर, त्यसबाट अपेक्षित नतिजा आएको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि मुलुकमा यतिखेर भैरहवा र पोखरा गरी थप दुई अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा छन्। तर वर्षौंदेखि सिमरा प्रवेश विन्दुमात्र खुला भएका कारण विभिन्न मुलुकबाट नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवालाई दुरी र संचालनको हिसाबले असहज हुँदै आएको छ।

नेपाल भित्रिने अन्तर्राष्ट्रिय वायुसेवाका लागि महेन्द्रनगर प्रवेश विन्दु ‘लिमा ६२६’ उपयुक्त मानिन्छ। तर, भारतले विकल्प नदिएकाले सिमरा ‘गल्फ ५९८’ प्रवेश विन्दुमात्र प्रयोगमा छ।

भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि महेन्द्रनगर प्रवेश विन्दु ‘लिमा ६२६’ उपयुक्त हुने जनाइएको छ। अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा ‘गल्फ ५९८’ प्रवेश विन्दुमात्र प्रयोग गर्दै आएका छन्। यो प्रवेश विन्दुमार्फत काठमाडौं र भविष्यमा संचालनमा आउन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र उपयुक्त हुने ठहर छ।

महेन्द्रनगर प्रवेश विन्दु खुला भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवा, पोखरा, निजगढ लगायत सबै विमानस्थलमा सहज हुने जनाइएको छ।

अहिले २० वटाभन्दा बढी कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यवसायिक उडान गर्दै आएको छ। भारत, चीन, बंगलादेश, कुवेत, दुबई, साउदी अरब, जापान, थाइल्याण्ड, सिंगापुर, ओमान, मस्कट, कतार, मलेसिया, टर्की लगायत मुलुकमा दुईतर्फी सिधा उडान हुँदै आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी बुधबार भारत भ्रमणमा जाने तालिका छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो। भ्रमणले नेपाल-भारतबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ। तर, सरकारी अधिकारीहरु भारतसँग कूटनीतिक तहमा वार्ता गरेर प्रचण्ड र उनको भ्रमण दलले हवाई रुटका लागि सकारात्मक निष्कर्ष ल्याउनेमा ढुक्क छैनन्।