जावलाखेल समूहको जेजीआइ डिस्ट्रिब्यूसनको कारोबार १७ अर्ब, गोल्डेन ओक र ब्लू डाइमन्ड रुचाइयो

बिजमाण्डू
२०८० जेठ १४ गते १९:१७ | May 28, 2023
जावलाखेल समूहको जेजीआइ डिस्ट्रिब्यूसनको कारोबार १७ अर्ब, गोल्डेन ओक र ब्लू डाइमन्ड रुचाइयो

काठमाडौं। गोल्डेन ओक, रुस्लान भोड्का, बडवाइजर बियरसहितका मदिरा बेच्ने जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको जेजीआइ डिस्ट्रिब्यूसनले सन् २०२२/२३ को पहिलो ६ महिनामै ५ अर्ब ४० करोड रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।२०२१/२२ मा कम्पनीले करिब १७ अर्ब रुपैयाँको कारोबार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले जावलाखेल ग्रुपअन्तर्गत रहेका चारवटा डिस्टिलरी विजय, एसियन, हिमालयन र रोलिङ रिभर तथा राज ब्रुअरीबाट उत्पादन हुने मदिराको आधिकारिक वितरक हो।

कम्पनीले २०२०/२१ मा १४ अर्ब ५० करोड, २०१९/२० मा ११ अर्ब ३८ करोड र २०१८/१९ मा १३ अर्ब ३१ करोड रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीको सबैभन्दा बढी खपत हुने मदिरा हो ब्राउन स्पिरिट सेग्मेन्ट। जसअन्तर्गत गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर, हिमालयन ब्रान्डी इत्यादि छन्। ४० युपी ब्राउन स्पिरिट सेग्मेन्टको बिक्रीबाट कम्पनीले २०२१/२२ मा ६२ प्रतिशत आर्जन गरेको छ।

२४ प्रतिशत भने ह्‍वाइट स्पिरिट (भोड्का, जीन, आइला) र १४ प्रतिशत भने बियर सेग्मेन्टबाट आर्जन गरेको छ। रुस्लान भोड्काको बजार हिस्सा केही गुमाउँदा कम्पनीको वित्तीय अवस्था गोल्डेन ओक र ब्लू डाइमन्ड जिनले धानेको छ। २०२०/२१ र २०२१/२२ मा कम्पनीको कारोबारमा यी दुई प्रडक्टको ६८ प्रतिशत योगदान छ।

कम्पनीमा ५५ प्रतिशत सेयर स्वामित्व विजयकुमार शाहको छ भने ४५ प्रतिशत उनका छोरा राजबहादुर शाहको छ। कम्पनीसँग देशभर चारवटा वेयरहाउस र २३७ भन्दा बढी डिलर छन्।

कम्पनीले ४ अर्ब ३२ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। २ करोड ९२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी रेटिङ पाउँदा ४ अर्ब ३० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पुन:पुष्टि गराएको छ।