चालु आवमा ५ लाख चालकले पाए लाइसेन्स, इम्बोस्ड नम्बरको लागि २ जडान केन्द्र थप

बिजमाण्डू
२०८० जेठ १४ गते १६:३९ | May 28, 2023
चालु आवमा ५ लाख चालकले पाए लाइसेन्स, इम्बोस्ड नम्बरको लागि २ जडान केन्द्र थप

काठमाडौं। चालु आर्थिक वर्षको फागुनसम्म थप ५ लाख २२२  चालकले सवारी चालक अनुमति पत्र पाएका छन्। आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांकअनुसार चालु आवमा ट्रायल पास भएर बसेका पाँच लाख २२२ चालकले आफ्नो लाइसेन्स पाएका छन्।

Tata
GBIME
Nepal Life

हालसम्म स्मार्ट लाइसेन्स लिनेको संख्या २०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४७५ पुगेको छ। २०७९ असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो।

यातायात व्यवस्था विभागले चालु आवमा १४ लाख स्मार्ट कार्ड र एउटा प्रिन्टर खरिदका लागि ठेक्का पनि आह्वान गरेको छ।

यसैगरी, २०७९ असारसम्म ३१ वटा यातायात व्यवस्था कार्यालयबाट सेवा प्रदान गरिँदै आएकोमा यो आर्थिक वर्ष पाँचवटा नयाँ यातायात कार्यालयहरु संचालनमा ल्याइएको छ। गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारीका कार्यालयहरु नयाँ हुन्।

हालसम्म ५१ हजार १९ थान इम्बोस्ड नम्बर प्लेट जडान भएको छ। विभागले यो आर्थिक वर्षमा मात्र १७ हजार निजी तथा सरकारी सवारीमा इम्बोस्ड नम्बर जडान गरेको छ।

इम्बोस्ड नम्बर प्लेट उत्पादन गरी सवारी साधनमा जडान गर्न २०७९ फागुनसम्म २ लाख ५७ हजार ३ सय ९४ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। २०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो। अघिल्लो आर्थिक वर्षसम्म ३३ हजार ९ सय ७२ थान जडान गरिएको थियो।

२०७९ असारसम्ममा ४ स्थानबाट इम्बोस्ड नम्बर प्लेटको जडान तथा वितरण हुँदै आएकोमा चालु आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत इम्बोस्ड नम्बर प्लेट जडान तथा वितरण गर्ने कार्य शुरु भएको छ। योसँगै अब इम्बोस्ड नम्बर प्लेटका लागि ६ वटा केन्द्र उपलब्ध छन्।