बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी, शतप्रतिशत पुनर्बीमा गराउन नपाइने, अन्य व्यवस्था के छन्?

बिजमाण्डू
२०८० जेठ १४ गते १२:३९ | May 28, 2023
बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी, शतप्रतिशत पुनर्बीमा गराउन नपाइने, अन्य व्यवस्था के छन्?


काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमकका लागि पुनर्बीमा निर्देशका-२०८० जारी गरेको छ। जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न निर्देशिका ल्याएको हो।

Tata
GBIME
NLIC

बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी निर्देशिका ल्याइएको प्राधिकरणले जनाएको छ।

निर्देशिका जारी भएपछि अब बीमकले टिट्री पुनर्बीमा, ऐच्छिक पुनर्बीमा (फ्याकल्टेटिभ री-इन्स्योरेन्स) र बीमा पुलमार्फत पुनर्बीमा गर्नु पर्नेछ।

बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा आफूले धारण गर्न नसक्ने अंशको पुनर्बीमा गराउनु पर्नेछ।
आफूले पुरै स्वीकार गर्ने जोखिम बाहेकको बीमालेखले रक्षावरण गर्ने कुनै पनि जोखिम नछुट्ने गरी पुनर्बीमा व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ। बीमकले पुनर्बीमा गर्दा जोखिमको विविधिकरण गराउनु पर्ने भएको छ।

बीमकले प्रत्येक बीमालेखले रक्षावरण गरेको जोखिमको आफूले धारण नगरी शतप्रतिशत पुनर्बीमा गराउन नपाइने निर्देशिकामा उल्लेख छ। बीमकले प्रत्येक बीमालेखमा उचित र पर्याप्त मात्रामा पुनर्बीमा व्यवस्था नगरी बीमालेख जारी गर्न नहुने व्यवस्था गरिएको छ।

बीमा कम्पनीले पुनर्बीमक छनोट गर्दा ऐन बमोजिम प्राधिरकणबाट इजाजतपत्र प्राप्त गरेको स्वदेशी पुनर्बीमक वा आफ्नो देशको बीमा नियमनकारी निकायबाट कानून बमोजिम इजाजतपत्र प्राप्त गरी दफा ११ बमोजिम प्राधिकरणमा सूचीकृत विदेशी पुनर्बीमकसगँ गराउनु पर्ने व्यवस्था गरिएको छ।

बीमकले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार अनुसार पुनर्बीमा व्यस्था गर्नुपर्ने छ। बीमकले जारी गरेको बीमालेखअन्तर्गत जोखिमको धारण गर्दा नेपाल भित्र रहेको आफ्नो नेट वर्थको अधिकतम धारण जीवन बीमकको हकमा ०.५ प्रतिशत र निर्जीवन बीमकको हकमा पाँच प्रतिशत भन्दा बढी हुन नपाइने पनि व्यवस्था गरिएको छ।

जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा पचास लाख रुपैयाँसम्म धारण गर्न सकिनेछ। उपदफा २ अन्तर्गत विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयको रुपमा कारोबार गरिरहेका बीमकको हकमा पुनर्बीमा गर्दा उक्त प्रधान कार्यालयको क्षमता बमोजिमको धारण कायम गरी पुनर्बीमा गर्न सकिने व्यवस्था छ।

त्यस्तै, बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमकलाई ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा आर्थिक वर्ष २०७९/८० सम्म प्रति स्वदेशी पुनर्बीमक १० प्रतिशत, २०८०/८१ सम्म ८ प्रतिशत, ८१/८२ मा ६ प्रतिशत, ८२ देखि ८३ सम्म ४ प्रतिशत, ८३ देखि ८४ सम्म २ प्रतिशत र ८४ देखि ८५ वर्षपछि अर्थात ५ वर्षमा प्रत्यक्ष हिस्सा शून्यमा झार्नुपर्ने निर्देशिकामा उल्लेख छ।

बीमकले ट्रिटी पुनर्बीमाअन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरे पश्चात बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा बराबर हुनेगरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ।

बीमकले जीवन बीमा, मोटर, कृषि पशुपन्छी तथा जडिबुटी बीमा तथा विविध बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमा नै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने र त्यसरी प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न नपाउने भनिएको छ। बीमकले ट्रिटी पुनर्बीमा गर्दा रेटिङ कायम भएको पुनर्बीमा कम्पनीसँग गर्नुपर्ने व्यवस्था गरिएको छ।

बीमकले प्रत्येक आर्थिक वर्षको लागि गर्नुपर्ने पुनर्बीमा सम्झौता (पुनर्बीमा ट्रिटी) को सुरक्षण पत्र (साइन स्लिप वा कभर नोट) को प्रमाणित प्रति सम्झौता क्रियाशील भएको ६० दिनभित्र प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था पनि नयाँ निर्देशिकामा छ।
तर फ्याक्लटेटिभ पुनर्बीमाको हकमा यो व्यवस्था लागू नहुने बताइएको छ।

पुनर्बीमा विविधिकरण गर्दा जुनसुकै अवस्थामा निर्जीवन बीमकको हकमा सम्पूर्ण पोर्टफोलियो र प्रति पोर्टफोलियो दुवैको अधिकतम ६० प्रतिशतभन्दा बढी हुने गरी एउटै पुनर्बीमकसँग पुनर्बीमा गराउन नहुने व्यवस्था पनि गरिएको छ।

पुनर्बीमाको विविधिकरणको लागि मुख्य (लिडर) पुनर्बीमकलाई कुल पुनर्बीमाको बढीमा ४० प्रतिशतसम्म र अन्य सहभागी पुनर्बीमकको हकमा प्रत्येक पुनर्बीमकलाई बढीमा २० प्रतिशतसम्म पुनर्बीमा दिन सकिने व्यवस्था गरिएको छ।