एक लाखको पुँजीले घरैबाट थालेको व्यवसाय, जो ४ वर्षमा बन्यो होम डेकोरमा चर्चित ब्रान्ड

बिजमाण्डू
२०८० जेठ १३ गते १५:१४ | May 27, 2023
एक लाखको पुँजीले घरैबाट थालेको व्यवसाय, जो ४ वर्षमा बन्यो होम डेकोरमा चर्चित ब्रान्ड

काठमाडौं। केही व्यवसाय यस्ता पनि छन् जसको सुरुवात गर्न धेरै पुँजी र बडेमानको अफिस चाहिदैन। कुनै व्यवसाय थाल्ने चाहना राख्‍ने गृहिणीलाई प्रेरित गर्छ भारतको गाजियाबादकी प्राची भाटियाको व्यवसायिक यात्राको कथाले। जसले करिब चार वर्षअघि मात्र १ लाख रुपैयाँबाट सुरु गरेको घर सजावटको व्यवसाय अहिले ३५ लाख रुपैयाँको कारोबार गर्ने होम डेकोर ब्रान्ड बनेको छ।

Tata
GBIME
Nepal Life

मध्यमवर्गीय परिवारकी प्राचीको आर्थिक अवस्था बलियो थिएन। उनलाई घर सजावटमा रुचि लाग्थ्यो। आफ्नो आर्थिक अभावलाई बेवास्ता गर्दै भारु १ लाख बचत गरिन, र थालिन् व्यवसाय।

अथक लगनशीलताले व्यवसाय विस्तार हुँदै गयो। ४ वर्षको अवधिमा उनी नाम चलेको ब्राण्ड सञ्चालक भएकी छन्। २८ वर्षीया प्राचीको होम डेकोर व्यवसायमा आफ्नै ब्राण्ड छ, त्यो हो ‘चोखट।’

प्राचीले २४ वर्षको उमेरमा गाजियाबादको इन्दिरापुरमस्थित आफ्नो घरबाट जागिर छाडेर व्यवसाय सुरु गरिन्। ’मैले सुरुमा बिक्री गर्ने उत्पादनहरू डिजाइन गरें, त्यसपछि कारिगरहरूलाई भेटें, फोटोसुटहरू गरेँ र तिनीहरूलाई आफ्नै वेबसाइटमा बिक्रीका लागि राखें।’

उनले अनानास फ्रुट बास्केट, नेत्रा टिस्यु होल्डर र बुलबुल कटलेरी होल्डरसहित सातवटा अनौठो उत्पादनहरूबाट सुरु गरिन। त्यसपछि मुरादाबाद, जयपुर र नोएडाका कारिगरहरूसँग भेटेर आफूले गरेको डिजाइनहरुलाई बनाउन अथक प्रयास गरिन्।

आफूसँग काम गर्ने अनुभवी कारिगरहरूसँग प्रायः उनको विवाद भइरहन्थो। तर विवाद भए पनि प्राचीले अडिग रहिन्।

‘मैले उनीहरुले गर्ने व्यवहार र अन्य कुराहरुलाई बेवास्ता गर्नुपर्‍यो र डिजाइनहरू मेरो हुनाले ती डिजाइनहरूलाई मार्गदर्शन गर्नुपर्‍यो,’ प्राचीले भनिन्, ‘मैले बनाएको सबै डिजाइनहरु प्रायः प्रकृति र जनावरहरूमा आधारित थिए, प्राकृतिक संसारसँग हाम्रो अन्तरसम्बन्धको प्रतीक हो।’ 

उनले जनावर, फलफूल र चराहरूबाट प्रेरित डिजाइनहरूका साथ मानिसहरूको घरमा प्रकृतिको आभास ल्याउन खोजिन्। जो विस्तारै चर्चित हुन थाल्यो। उनका डिजाइनको खोजी सुरु भएसँगै व्यापार पनि बढ्यो।

आर्थिक कठिनाइले बितेको बाल्यकाल

पत्रकार बाबु र गृहिणी आमाकी छोरीका रूपमा उनको बाल्यकाल आर्थिक कठिनाइले बित्यो।’स्कूलको शुल्क ढिलो तिर्नु मेरो आमाबुवाका लागि नियमित थियो,’ उनी सम्झन्छिन्, ‘म कहिल्यै स्कूलबाट लाने भ्रमण तथा अन्य कुनै पनि यात्रामा गएकी थिइन, किनभने हामीले उक्त भ्रमणमा लाग्ने पैसा तिर्न नसक्ने अवस्था थिएन। यस्तै मेरो जीवनको पहिलो यात्रा कक्षा १२ मा मसूरी जाने थियो। त्यो समय स्कूलमा मेरो अन्तिम वर्ष थियो।’

प्राचीले पूर्वी दिल्लीको प्रियदर्शनी विहारमा रहेको लभली पब्लिक स्कूलबाट १२ कक्षा पुरा गरेकी हुन्।

डिजाइन डिग्रीको सपना देख्दै प्राचीको आर्थिक सीमितताले उनको शैक्षिक यात्रालाई आकार दियो। ‘मैले नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा नाम निकाल्न सफल भएँ। तर होस्टल र अन्य खर्च जुटाउन नसक्ने भएपछि दिल्ली जान सकिनँ। मैले यसको सट्टा गुरुग्रामको जीडी गोयन्का विश्वविद्यालयमा भर्ना हुनुपर्‍यो,’ उनी भन्छिन्।

प्राचीले त्यही कलेजमा पढ्न समेत शैक्षिक ऋण पनि लिनुपर्‍यो। उनी सम्झिदै भन्छिन, ‘मलाई खर्च बचाउन दिल्ली विश्वविद्यालयमा भर्ना हुन गरेको प्रस्ताव अझै याद छ। मलाई त्यो दिनहरु मेरी आमा रोएको सम्झना छ।’

कलेजको पढाइमा प्राचीले आफ्नो फेसबुक पेजमार्फत फोटो एल्बम, फोटो प्रिन्टेड बत्ती, हस्तनिर्मित कार्डहरू र हातले बनाएको गुलाबजस्ता हस्तनिर्मित उपहारहरू बेचेर आफ्ना आमाबुवाको आर्थिक बोझ कम गर्न एउटा सानो व्यवसाय सुरु गरिन्।

‘मलाई मेरो मासिक कमाइ सम्झना छैन, तर मलाई पहिलो पटक मेरो कपाल कलर गराउन भारु ५ हजार कमाइबाट जम्मा गरेको याद छ,’ उनी हाँस्दै सम्झन्छिन्।

सन् २०१७ मा जीडी गोयन्का विश्वविद्यालयबाट डिजाइनमा स्नातक पुरा गरेकी प्राची सधैं कलामा आकर्षित भइन्।

उनी भन्छिन्, ‘म विद्यालयमा औसत विद्यार्थी थिएँ, परीक्षामा ७०-८० प्रतिशत बीचमा अंक ल्याएँ। मेरो रुचि कला र शिल्पमा थियो र त्यसमा मसँग धेरै सर्टिफिकेटहरू छन्,’ उनी भन्छिन्, ‘पछि कलेजमा टपर भएकाले छात्रवृत्ति पाएँ र मेरो शिक्षा ऋण व्यवस्थापन गर्न सहज हुँदै गयो।’

उनको उक्त मेहनतले गर्दा टाइम्स अफ इन्डियाबाट उनले चार वर्षको अध्ययनको लागि प्रति वर्ष भारु ३६ हजार छात्रवृत्ति पाइन।

‘मलाई स्कुल र कलेजमा दुर्व्यवहार गरिएको थियो। यो आफैंलाई स्वीकार गर्न कति गाह्रो थियो त्यो मलाई मात्र थाहा छ,’ उनी दुःखी हुँदै भन्छिन्, ’मेरो १६ वर्षको संघर्ष म फेरि फर्केर हेर्छु र महसुस गर्छु कि समाजले चिजहरू कति गाह्रो बनाउन सक्छ। विशेषगरी गाउँमा हुर्किएकी एक केटीका लागि।’

जागिर छाडेर सुरु भयो चोखट

कलेजपछि प्राचीले विभिन्न भूमिकामा आफ्नो व्यावसायिक यात्रा सुरु गरिन। उनले गुडगाउँको एस एन्ड आर एक्सपोर्ट्स नामको एक्सपोर्ट हाउसमा सहायक डिजाइनरको रूपमा काम गरिन् र त्यसपछि गुडगाउँको एमएनसी लि एन्ड फंगमा मर्चेन्डाइजरको रूपमा काम गरिन्।

यद्यपि, उद्यमी बन्ने सोच र इच्छाले उनलाई सधैं अघि बढ्न हौस्याइरहेको थियो। ‘मैले भर्खरै जागिर खाएको दोस्रो दिनमा नै मेरो दिमागमा एउटा कुरा थियो। म सोचेर बस्ने गर्न थाले। जुन म अरूको लागि काम गर्न उत्साहित छैन भन्ने कुरा म बुझ्न थाले। त्यसैले मैले राजीनामा बुझाएँ। नयाँ काममा दुई दिन मात्रै भएको थियो,’ उनी भन्छिन्। 

आफ्नो जागिरको अनुभवबाट चित्रण गर्दै उनले आफ्नो घर सजावट व्यवसाय सुरु गर्ने निर्णय गरिन्। परिवार र साथीभाइसँग परामर्श गरेर अन्तिममा ‘चोखट’ नामको निर्णय गरिन् ।

उनले आफ्नो १ लाख रुपैयाँ बचतबाट व्यवसाय सुरु गरेकी हुन्। यसका लागि उनीसँग कुनैपनि बाह्य कोष थिएन। न ब्याकअप पैसा नै थियो। ‘मैले जागिर छोड्दा मेरो परिवारमा मेरो बुबा र दिदी मात्र काम गर्ने सदस्य थिए,’ उनी भन्छिन्।

आफ्नो व्यवसायको प्रवर्द्धन गर्न उनले फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गरिन। जसमा कम्तीमा भारु ४० रुपैयाँ प्रति दिन खर्च हुने गर्थ्यो। उनले फ्लायर वितरण र प्रदर्शनीहरू आयोजना गर्ने जस्ता परम्परागत विधिहरू पनि प्रयोग गरिन। समयसँगै उनको मार्केटिङ बजेट बढेर मासिक भारु ५० हजार रुपैयाँ भयो।

प्रारम्भिक केही महिनाहरूमा न्यूनतम अर्डरहरू देखिए तापनि उनी दृढ रहिन् र बिस्तारै उनको कमाईमा वर्षैपिच्छे वृद्धि हुन थाल्यो। ‘पहिलो वर्ष भारु ३ लाख, दोस्रो वर्ष ११ लाख, तेस्रो वर्ष ११.३ लाख, गत वर्ष भारु ३५.५ लाख छोएको थियो,’ प्राचीले बताइन्।

अचानक महामारीको शुरुवात र त्यसपछिको लकडाउन प्राचीको व्यवसायको लागि विनाशकारी हुन सक्ने डर थियो। यद्यपि, उनले बढ्दै गएको सामाजिक सञ्जाल गतिविधिको फाइदा उठाउन सफल भइन। र आफ्नो मार्केटिङ रणनीतिलाई त्यही अनुसार केन्द्रित गरिन्, जसले गर्दा लकडाउनमा पनि उनको कम्पनीले भारु ११ लाख ५० हजार रुपैयाँको कारोबार गर्न सफल भयो।

७० भन्दा धेरै डिजाइनहरु उपलब्ध

आज, प्राचीको चोखट उल्लेखनीय रूपमा बढेको छ। यसले ७० भन्दा बढी उत्पादनहरू प्रस्ताव गर्दै आएको छ। र भारतका विभिन्न ठाउँबाट अर्डरहरू प्राप्त गर्दैछ। उनी अहिले १२०० वर्ग फिट स्पेस भएको अफिसमा सञ्चालन गर्छिन्। कार्यालय र दुई इन्टर्नहरूको सानो टोली छ। र एक फुल-टाइम प्याकिङ कर्मचारीसँग सहकार्य गर्छिन।

कुर्मा क्यान्डल होल्डरको मूल्य भारु ४९९, अनानास फ्रुट बास्केटकोमा भारु १६९९ रहेको छ। प्राचीको लक्ष्य ग्राहकहरूलाई उनीहरूको घरको लागि किफायती, अनौठो र आकर्षक उत्पादनहरू उपलब्ध गराउनु हो।

उनी गर्वका साथ भन्छिन्, ‘सबैभन्दा धेरै बिक्री हुने उत्पादनहरू फ्रुट बास्केट र कटलेरी होल्डरहरू हुन्। हामीले प्रस्ताव गर्ने विकल्पहरू बजारले प्रस्ताव गरेको भन्दा धेरै फरक छन् र हाम्रो मूल्यहरू अपरिवर्तनीय छन्।’ 

उनका उत्पादनहरू हाल उनको वेबसाइटमा मात्र बिक्री गरिन्छ। यसअघिको सिंगल स्वामित्व चोखट अप्रिल २०२३ मा प्राइभेट लिमिटेड कम्पनी ‘चोखट होम प्रालि’ मा हस्तान्तरण भएको थियो। अर्डरहरूको कुशल डेलिभरी सुनिश्चित गर्न प्राचीले विश्वसनीय डेलिभरी सेवाहरूसँग साझेदारी गरेकी छन्।

चोखटको परिकल्पना गर्दै ४०० करोडको कम्पनी र घरेलु उत्पादन खोज्ने ग्राहकको ‘पहिलो रोजाइ’ प्राचीको महत्त्वाकांक्षा उनको दैनिक तालिका जस्तै स्पष्ट छ।

‘म बिहान ८ बजे उठ्छु, साढे १० मा मेरो स्टुडियो पुग्छु र सामान्यतया साँझ सातदेखि साढे सात बजेसम्म काम गर्छु। मेरो दिनहरू उत्पादन विकास, सोशल मिडिया, फोटोसुट र बजार विस्तार गर्ने जस्ता विभिन्न कामहरूमा वित्छ,’ उनी भन्छिन्, ‘त्यसैले, हरेक दिन म व्यवसायको फरक पक्षमा काम गर्छु।’

भर्खरै, प्राचीले आफ्नै पैसाले आफ्नो पहिलो कार, ग्रान्ड आई १० किनेकी छिन। कुनै बेला स्कुलको पैसा बुझाउन कठिनाइ हुने प्राची अहिले आफैले कमाएको पैसाले गाडी खरिद गर्न सक्ने हैसियतमा उभिएकी छन्। 

उनी भन्छिन्, ‘यो हाम्रो पहिलो पारिवारिक कार होइन, तर मैले आफ्नै पैसाले किनेको यो पहिलो कार हो।,’ 

यसरी सपना बोकेकी मध्यमवर्गीय एक महिलाको सफल व्यवसायको मालिकसम्मको उनको यात्रा प्राचीको लचिलोपन, दृढता र उद्यमशीलताको प्रमाण हो। (एजेन्सी)