स्वदेशमा उत्पादन र एसेम्बल हुने सवारी जाँच्न परीक्षण केन्द्र प्रस्ताव, ५ करोड बजेट माग

बिजमाण्डू
२०८० जेठ १३ गते १२:०२ | May 27, 2023
स्वदेशमा उत्पादन र एसेम्बल हुने सवारी जाँच्न परीक्षण केन्द्र प्रस्ताव, ५ करोड बजेट माग

काठमाडौं। सरकारले नेपालमा एसेम्बल भइरहका सवारीको गुणस्तर मापन गर्न भेहिकल परीक्षण केन्द्र तथा ल्याब निर्माण गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपालमा एसेम्बल भइरहेका सवारीको गुणस्तर मापन गर्न नयाँ प्रविधिसहितको भेहिकल परीक्षण केन्द्र निर्माण गर्न लागिएको हो।

‘परीक्षण केन्द्र निर्माणका लागि हाम्रो अर्थमन्त्रालयसँग छलफल भयो,’ उनले भने, ‘आगामी बजेटमा व्यवस्था गर्न हामीले योजना पेस गरेका छौं। अर्थमन्त्री सकारात्मक हुनुहुन्छ।’

सरकार स्वदेशमा उत्पादन तथा एसेम्बल हुने सवारीसाधनलाई प्रवर्द्धन गर्न तयार छ। तर यसका लागि सवारीको क्षमता परीक्षण ल्याब नहुँदा योजना बनाउनु परेको उनको भनाइ छ।

‘नेपालमा उत्पादन तथा एसेम्बल गरिएको सवारी दर्ता मात्र गरेर हुँदैन। क्षमता र गुणस्तर परीक्षण गर्नु आवश्यक छ,’ उनले भने, ‘त्यसैले टेकुमा हाम्रो भेहिकल फिटनेस सेन्टर त छ तर, त्यो प्राविधिक रुपमा सक्षम छैन।’

अब निर्माण गर्न लागिएको परीक्षण केन्द्र फरक हुने उनी बताउँछन्। तर कुन सवारीको लागि यो निर्माण हुन्छ भन्ने हाल खुलाइएको छैन। ‘अब बन्ने उक्त परीक्षण केन्द्र चारपाङ्ग्रे वा दुई पाङ्ग्रे सवारीको लागि भनेर अहिले सुनिश्चित भएको छैन,’ उनले भने, ‘दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीको फरक फरक परीक्षण केन्द्र हुन्छ।’

यसका लागि विभागले ५ करोड बजेट माग गरिएको भट्टराईले बताए। ‘हामीलाई बजेटको सिलिङ अघिल्लो वर्षको भन्दा घटाएर दिएको छ। त्यसैले हामीले बजेट सिलिङ बाहिरबाट यो परीक्षण केन्द्र निर्माण गर्न बजेट माग गरिएको हो,’ उनले भने, ‘यति बजेटले जति पुग्छ त्यही अनुसार योजना बनाएर अर्को आर्थिक वर्ष पनि काम गर्ने विभागको योजना छ।’

बजेट स्वीकृत भएर आएपछि काम अगाडि बढाइने छ। नयाँ भेहिकल परीक्षण केन्द्र विभागको पछाडिपट्टिको जग्गामा निर्माण गर्न लागिएको भट्टराईले जानकारी दिए।

विभागले टेकुमा ९ वर्ष अघि ४ करोड लगानी निर्माण गरिएको भेहिकल फिटनेस सेन्टर दक्ष प्राविधिक र कार्यविधि निर्माण हुन नसक्दा अहिलेसम्म पूर्ण क्षमतामा संचालन गर्न सकेको छैन।

नयाँ तथा पुराना सवारीसाधनको प्राविधिक चेकजाँज गरी त्यसको प्रमाणीकरण गर्ने काम त्यस कार्यालयले गर्छ। पुराना सार्वजनिक सवारीसाधनको लागि अनिवार्य गरिएको चेकजाँचहरुमा सवारीसाधनको प्रदूषण, पांग्रा अलाइनमेन्ट, लाइट, ब्रेकलगायतका चेकजाँचहरु गरिन्छ।

भट्टराईका अनुसार यो नयाँ भेहिकल परीक्षण केन्द्र तथा ल्याबले भने देशमा उत्पादन र एसेम्बल भएका सवारीको लागि क्षमता र गुणस्तर परीक्षण गर्ने काम गर्छ। यसैको आधारमा नेपाल उत्पादन र एसेम्बल भएका सवारीको प्रमाणीकरण हुन्छ।

अहिले कसरी भइरहेको छ चेकजाँच ?

कार्यविधि नबन्दा कुनै सवारीलाई अनिवार्य भनेर तोकिएको छैन। त्यसैले ट्राफिक जाँचमा परेका ८/ १० वटा सवारीसाधनहरु आउँदा मात्रै जाँच गरिन्छ।

मेसिनले गर्ने टेष्ट समेत भइरहेको छैन। पुरानो यातायात व्यवस्थापन निर्देशिकामा भएका केही सामान्य विषयलाई आधार बनाएर चेकजाँच गरिएको छ। तर निजी सवारी साधनको जाँच गर्ने भने व्यवस्था छैन। त्यसका लागि आवश्यक पर्ने सबै दक्ष प्राविधिक जनशक्ति र ल्याब नेपालमा नभएको विभागले जनाएको छ।

यो उपकरण सञ्चालनमा आएपछि हेभी र लाइट दुबै खालका सवारी साधन आ-आफ्नो लेनबाट पसेर अर्को दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुन-कुन भागको अवस्था कस्तो छ भनेर जानकारी दिनेछ।

यो उपकरणबाट ब्रेक रोलर, सस्पेन्सन, साइट क्लिक, हर्न, लाइटलगायतका कुरा परीक्षण हुनेछ। अगाडि र पछाडिको पाँग्रामा हुनुपर्ने भार, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पाँग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायत कुराको समेत यसमा परीक्षण हुनेछ।

त्यससँगै चेसिस खिया वा कोतरिएको अवस्था बुझ्नका लागि ‘भिजिवल इन्स्ट्रक्स’ समेत हुने गरेको छ। हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पुर्‍याएर र हेभी सवारी साधन भइरहेकै स्थानमा तल्लो तलामा प्राविधिक गएर चेसिसलगायतका भाग हेर्ने गरिन्छ।

भन्सारबाट आएका विद्युतीय गाडीहरु बाटोमा चलाउन मिल्ने प्रमाणपत्र दिएपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ।

तर यही नेपालमा उत्पादन भएका र एसेम्बल भएका सवारी साधानको हकमा गर्नु पर्ने परिक्षण गर्ने प्राविधिक र त्यो खालको ल्याब तथा मेकानिज्म नै नभएको भट्टराई बताउँछन्।