सम्पदा संरक्षण गर्न जोड, ‘अन्य क्षेत्रको विकासभन्दा फरक प्राथमिकता दिइयोस्’

बिजमाण्डू
२०८० जेठ १३ गते ०९:५५ | May 27, 2023
सम्पदा संरक्षण गर्न जोड, ‘अन्य क्षेत्रको विकासभन्दा फरक प्राथमिकता दिइयोस्’

काठमाडौं। पर्यटन सम्बद्ध सरोकारवालाको संगठन नेपाल सम्पदा संघले मुलुकको पर्यटन प्रवर्द्धन र पहिचानका लागि सम्पदाको संरक्षण आवश्यक रहेको जनाएका छन्।

Tata
GBIME
Nepal Life

सरोकारवालाले सम्पदाको संरक्षण र पुनःनिर्माणलाई अन्य क्षेत्रको विकास र संरक्षणभन्दा फरक ढंगले हेर्नुपर्ने जनाएका छन्।

संघले काठमाडौंमा आयोजित एक कार्यक्रममा राजधानीसँगै मुलुकभरको सम्पदाको पहिचान जोगाउन निजी र सरकारी क्षेत्रको उचित ध्यानको आवश्यकता रहेको वक्ताहरुले जनाए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले उपत्यकामा रहेका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाहरुको संरक्षण आवश्यक भएको बताए। ‘पछिल्लो समय सम्पदाहरु बिग्रिदै गएको छ। देशको पहिचान र समृद्धिका लागि सम्पदा संरक्षणमा सबै लाग्नु पर्ने अवस्था छ,’ उनले भने,’सम्पदाको विषय अन्य विकासको अवधारणाभन्दा फरक विषय हो । यसको लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहको सरकारले सोही अनुरुप सोच्न आवश्यक छ।’

यी कुरालाई ध्यान दिइएन भने सम्पदा नास हुने सम्भावना रहेको उनले बताए।

नेपाल सम्पदा संघका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले सम्पदा संरक्षणको लागि सबैको सामूहिक पहल र प्रतिबद्धता आवश्यक रहेको बताए।

सम्पदाहरु मानन समाजको साझा सम्पत्ती भएको उल्लेख गर्दै पुर्खाले छोडेर गएका सम्पदारुपी नासोलाई संरक्षण गरि भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो। ‘नेपालको आर्थिक विकासको लागि पर्यटनको विकास आवश्यक छ। पर्यटनको विकासको लागि सम्पदा संरक्षणको झन ठूलो महत्त्व छ। त्यसैले नेपालको पर्यटनको लागि सबैले मिलेर नेपालका सम्पदाको संरक्षणमा लाग्न जरुरी छ,’ उनले भने।

उपाध्यक्ष धर्मराज शाक्यले सम्पदा संरक्षणको लागि जनचेतना आवश्यक भएको बताए।