
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा मंगलबारदेखि रोजगार मेला आयोजना गर्दैछ। रोजगारीको खोजीमा रहेकाहरुलाई योग्यताअनुसारका काम दिलाउन र कर्मचारी चाहिएका कम्पनीहरुलाई एउटै मञ्चमा भेट गराउन मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ।
महासंघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय साथै अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा दुई दिने रोजगार मेला आयोजना गर्न लागेको हो।
मेलामा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहने छ भने कामको खोजिरहेका पाँच हजार बढी युवा यस मेलामा आउने महासंघले अपेक्षा गरेको छ।
मेलामा सहभागी कम्पनीहरूमार्फत रोजगारी खोजिरहेका युवालाई कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको संघले जनाएको छ।
दुईदिने कार्यक्रममा रोजगारी, सीप एवम् जनशक्ति विकास लगायतका विषयमा परामर्श समेत दिइने बताइएको छ। ‘जब फेयर २०२३ कनेक्टिङ डटस् अफ योर फ्युचर’ नारा दिइएको यस मेलालाई क्यालेण्डर इभेन्टको रूपमा हरेक वर्ष आयोजना गर्ने योजना पनि महासंघको छ ।
यस मेलामा सहभागी हुनका लागि रोजगारको खोजीमा रहेकाहरू र सहभागी कम्पनीहरूको रजिष्ट्रेसन महासंघको वेबसाइटमार्फत गरिएको छ। मेला मंगलबार र बुधबार दुई दिन संचालन हुनेछ।