निर्माण प्रगति ८२% पुगेपछि नागढुंगा-नौबिसे आयोजनालाई मन्त्रीको निर्देशन, ‘१ वर्षभित्र चल्ने बनाऊ’

बिजमाण्डू
२०८० जेठ १२ गते १४:१६ | May 26, 2023
निर्माण प्रगति ८२% पुगेपछि नागढुंगा-नौबिसे आयोजनालाई मन्त्रीको निर्देशन, ‘१ वर्षभित्र चल्ने बनाऊ’


काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्गलाई एक वर्षभित्र सवारी चल्ने बनाउनेगरी काम सक्न भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्।

Tata
GBIME
NLIC

आयोजनाको मुख्य सुरुङ खन्ने काममा प्रगति ८२ प्रतिशत पुगेपछि शुक्रबार मन्त्रीको टोली नागढुंगा-मुग्लिन सडकको अनुगमनमा गएको थियो। त्यस क्रममा उनले सुरुङमार्ग आयोजनाका अधिकारीहरुलाई निर्माणलाई तीव्रता दिन निर्देशन दिएका हुन्।

सुरुङमार्ग निर्माणमा के कस्ता समस्या र चुनौती छन् भनेर बुझ्ने काम भएको पनि मन्त्री ज्वालाले बताए। पछिल्लो समय मुलुकको पूर्वाधार विकास र सडकको क्षेत्रमा सुरुङमार्ग प्राथमिकतामा पर्दैछ। यो नौलो योजना मात्रै नभइ खर्चिलो पनि छ।

‘हामी आयोजनाले अझै जग्गा प्राप्ति गर्ने, निर्माण सामाग्रीको सहज उपलब्धता र समन्वय गर्ने विषयमा पनि सहजीकरण गर्नेमा जोड दिनेछौं,’ उनले भने, ‘यस्ता समस्याहरूलाई मन्त्रालय स्तरबाट गर्नुपर्ने काम चाँडै समाधान गर्छौ।’

मन्त्री ज्वालाले यस आयोजनामा देखिएका समस्यालाई मन्त्रालयमा बसेर वा स्थलगत रुपमा आयोजना स्थलमा आएर पनि समाधान गरिने बताए। आयोजना चाँडो सम्पन्न गर्नका लागि आवश्यक सबै उपाय र समन्वय गरिने उनको भनाइ छ।

आयोजनाको काम गर्दा निर्माण व्यवसायीलाई कुनै अप्ठ्यारो परेको भए त्यसलाई समाधान गर्ने तर कुनै पनि बहानामा आफ्नो दायित्वबाट पछि नहट्न आग्रह गरे। ‘तोकिएको काम तोकिएकै समयमा पूरा गर्ने विषयमा कतै पनि सम्झौता हुँदैन,’ उनले भने।