
काठमाडौं। चिनियाँ स्मार्टफोन उत्पादक भिभोको नेपालका लागि आधिकारिक वितरक एपेक्स मनोकामना प्रालिले २०२१/२२ मा एक अर्ब ३३ करोड रुपैयाँको व्यापार गरेको छ।
अघिल्लो वर्ष २०२०/२१ मा एक अर्ब २९ करोड ५० लाख रुपैयाँ र २०१९/२० मा १ अर्ब १४ करोड रुपैयाँको कारोबार गरेको थियो। व्यापार बढेपनि मोबाइल फोनको बिक्री संख्यात्मक रुपमा भने घटेको छ।
कम्पनीले २०२०/२१ मा ८७ हजार ९७१ थान फोन बेचेकोमा २०२१/२२ मा घटेर ८५ हजार ५२६ थानमा झरेको छ।
२०१९/२० मा कम्पनीले ७६ हजार ६८६ थान फोन बिक्री गरेको थियो। साविकको बागमती, नारायणी र जनकपुर अञ्चलका लागि भिभोको आधिकारिक वितरक एपेक्स मनोकामना हो।
बागमती, नारायणी र जनकपुरले देशभरको ५० प्रतिशत बजार ओगट्ने केयर रेटिङ्स नेपालले रेटिङ विवरणमा उल्लेख गरेको छ। यसअघि यो संख्या अघिल्लो वर्ष ५७ प्रतिशत थियो।
कम्पनीले अप्रिलमध्य २०२३ सम्म २२ डिलरको नेटवर्क तयार गरिसकेको बताइएको छ। कम्पनीले ७३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट ए फोर प्लस रेटिङ पुन:पुष्टि गराएको छ।
कम्पनीको अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सिना हुन् भने उपाध्यक्ष सुधीरप्रसाद तिमिल्सिना हुन्। मुकुन्द युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको निर्देशकसमेत हुन्। सुधीर शुभश्री अग्नी सिमेन्टको निर्देशक छन्।