
काठमाडौं। सरकारी ऋणपत्रको ब्याज दर क्रमशः घट्न थालेको छ। २८ दिने ऋणपत्रको ब्याज दर ७.१९ प्रतिशतमा आएको छ।
यद्यपि यो दर चालु वर्षको सस्तो भने होइन। २८ दिनेको ब्याज दर ५.९० प्रतिशतसम्म कायम भएको थियो। यो पाँचौ सस्तो दर मात्र हो।
३६४ दिने ऋणपत्र (ट्रेजरी बिल) को ब्याज भने चालु वर्षकै सबैभन्दा सस्तो कायम भएको छ। सोमबार जारी ट्रेजरी बिलको ब्याज दर ८.८० प्रतिशत कायम भएको छ।
९१ दिने र १८२ दिने ऋणपत्र (ट्रेजरी बिल) को दर भने अझै माथि नै छ। ९१ दिनेको ९.३२ प्रतिशत कायम भएको छ। जबकी चालु वर्ष ९१ दिनेको सबैभन्दा सस्तो दर ९.०५९ प्रतिशत कायम भएको थियो।
१८२ दिने ट्रेजरी बिलको ब्याज दर ९.३५ प्रतिशत कायम भएको छ। चालु वर्ष ९.०२७ प्रतिशत कायम भएको थियो।
चालु वर्ष ट्रेजरी बिलको ब्याज दरहरु सर्वाधिक माथिसम्म गएको थियो। ९१ दिनेको १२ प्रतिशत पुगेको थियो भने १८२ दिनेको ११.९८ प्रतिशत, ३६४ दिनेको ११.९५ प्रतिशत र २८ दिनेको ९.५४ प्रतिशतसम्म कायम भएको थियो।
नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक दर ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा झारेको छ। तर यसको असर ट्रेजरी बिलको ब्याजमा भने परेको छैन। अहिले निक्षेपको ब्याज घटेको र ऋणको माग नभएको अवस्थामा ट्रेजरी बिलको ब्याज तल आएको हो।
राष्ट्र बैंकले बैंक दर कम गरे पनि ट्रेजरीको ब्याजमा हस्तक्षेप गरेको छैन। यसअघि बैंकहरुले धेरै मागे भने ब्याजमा सीमा निर्धारण गरिदिन्थ्यो। यसपाली उसले ब्याज जतिसुकै माथि जान्छ जाओस् भनेर हेरिरहेको छ।
राष्ट्र बैंकको यो रवैयाले सरकारी खर्च बढेको छ। उसले अन्यत्र गर्नुपर्ने खर्च पनि आन्तरिक ऋणको ब्याज तिर्नमा गरिरहनु परेको छ। राष्ट्र बैंकले पहिले ५/७ प्रतिशतमा उठाएको ऋणलाई पनि महँगो ब्याजमा नवीकरण गराइरहेको छ।