व्यवसायी कँडेल मृत्यु प्रकरण: रुगटा पक्राउ गर्न प्रहरी महानिरीक्षकको समेत चासो

सविन ढकाल
२०८० जेठ ८ गते १३:२५ | May 22, 2023
व्यवसायी कँडेल मृत्यु प्रकरण: रुगटा पक्राउ गर्न प्रहरी महानिरीक्षकको समेत चासो

काठमाडौ। चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानको तीन साता हुन लागेको छ। अहिलेसम्म घटनामा अन्य प्रमाणहरू संकलन गरिरहेको छ।

Tata
GBIME
Nepal Life

तर घटना आत्महत्या दुरुत्साहनतिर नै आकर्षित भएको छ। शव भेटिएदेखि नै प्रहरीले घटना आत्महत्या दुरुत्साहन भएको भन्दै अनुसन्धान थालेको थियो।

वैशाख १९ गते भरतपुर-३ बेल्चोकस्थित आफ्नै अफिसमा झुन्डिएको अवस्थामा कँडेलको शव भेटिएको थियो। घटनास्थलबाट प्रहरीले सुसाइड नोट समेत बरामद गरेको छ। त्यही नोटको आधारमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। सुसाइड नोटका अनुसार आफूलाई मानसिक तनाव दिएको कारण आत्महत्या गर्न विवश भएको आशय खुल्छ।

जसमा उनका उद्योगी प्रदीप रुगटाको मुख्य भूमिका देखिएको पनि आशय छ। उनी नेपाल दाना उद्योग संघका उपाध्यक्ष हुन्। त्यस्तै अर्का हुन् कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावल। रावललाई वैशाख २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीको बाराको जीतपुर सिमराबाट पक्राउ गरिसकेको छ। रुगटा भने फरार छन्।

‘हामीले उनलाई विभिन्न तरिका प्रयोग गरेर खोजी गरिरहेका छौं। ढिलो-चाँडो पक्राउ गर्छौं,’ चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले भने।

मृतकका परिवारले पनि दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका छन्। उजुरी परेपछि रुगटालाई उपाध्यक्ष पदबाट निर्दोष प्रमाणित नहुँदा सम्मको लागि संघले निलम्बन गरेको छ। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स १ अर्ब १५ करोडमा बेचेका थिए। आन्तरिक हिसाब मिलानका क्रममा रुगटा र रावलले मानसिक दबाब दिएको खुलेको छ। कम्पनीमा रुंगटाको ८५ प्रतिशत लगानी भएको थियो।

पक्राउ परेका रावल पहिले कँडेलको फर्ममा काम गर्दै आएका थिए। तर जब रुंगटाले ८५ प्रतिशत सेयर किने, त्यसपछि भने रुंगटातर्फ झुकाव राखेका थिए। त्यसैले दुवै जना मिलेर आर्थिक पाटोमा मानसिक दबाब दिएको खुलेको छ।

‘सुरुमा कँडेलले नै जागिर दिएपछि ८५ प्रतिशत लगानी भएको मान्छेसँग झुकाव बढाएको देखिन्छ। त्यसपछि उनीहरूको सम्बन्ध राम्रो बन्दै गएर दबाब दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

प्रहरीले घटनामा आत्महत्या दुरुत्साहन मुद्दा चलाउने मुख्य आधार सुसाइड नोट नै बनाएको छ। त्योसँगै कारोबारमा देखिएका बैंकिङ कारोबारहरूलाई पनि अनुसन्धान गरिरहेको छ।

‘अहिलेसम्म त सुसाइड नोट र पीडित परिवारको उजुरी नै मुख्य हुन्छ। बाँकी अनुसन्धानमा खुल्दै जान्छ,’ एसपी कार्कीले भने।

घटनामा मुख्य आरोपी रुंगटा भने फरार छन्। उनी देश बाहिर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। घटनाको जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अनुसन्धान गरिरहेको छ।

त्यस्तै फरार रुगटालाई खोजी गर्न चितवन प्रहरीलाई सीआइबीको टोलीले पनि सहयोग गरिरहेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पनि खोजी गर्न पत्राचार गरिसकेको छ। वाग्मती प्रदेश प्रहरी प्रमुख किरण रानाले पनि तीन पटक काठमाडौं आएर नै प्रहरी प्रमुखलाई भेटेर अनुसन्धानको जानकारी दिएकी छन्।

‘यो केसमा डीआइजीदेखि आइजी साबले पनि धेरै चासो देखाउनु भएको छ,’ एक प्रहरी अधिकृतले भने।

प्रहरीले रावल समातिएको २५ दिनभित्र अनुसन्धान फाइल सरकारी वकिल हुँदै अदालतमा बुझाउनुपर्छ। यो समयमा रुगटा नसमातिएको खण्डमा फरार प्रतिवादी बनाएर अदालतमा लैजानेछ। त्यसपछि अदालतमा मुद्दा दर्ता भएपछि समातिएकाको हकमा साधारण धरौटी, धरौटी वा पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गर्ने छ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको नयाँ नियममा आत्महत्या दुरुत्साहन घटना समावेश गरिएको हो। ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ।

आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।