ग्राहकको खाताबाट अनधिकृत रूपमा झिकियो डेढ करोड, शाखा प्रबन्धकदेखि टेलरसम्म ९ जना पक्राउ



२०८० जेठ ७ गते ०९:१२
ग्राहकको खाताबाट अनधिकृत रूपमा झिकियो डेढ करोड, शाखा प्रबन्धकदेखि टेलरसम्म ९ जना पक्राउ


काठमाडौं। ग्राहकको खाताबाट अनधिकृत रूपमा पैसा झिकेको खुलेपछि प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एउटा बैंकको शाखा प्रबन्धकदेखि टेलरसम्म छन्। एभरेष्ट बैंकको इटहरी शाखामा रहेका ग्राहकका खाताबाट ५ महिनाको अवधिमा ५९ पटक गरी १ करोड ५० लाखभन्दा बढी रकम झिकेको खुलेको छ।  

Tata
GBIME

नीरज प्रधान एभरेस्ट बैंकको इटहरी शाखामा काम गर्दै आएका थिए। अपरेसन हेड रहेका उनको केही समय अगाडि मात्र सरुवा भयो उदयपुरको गाईघाट। चैत २२ गते तिनै प्रधानलाई सुनसरी प्रहरीले नियन्त्रणमा लियो।

उनीमाथि ग्राहकको रकम ठगी गरिरहेको आरोप लागेको छ। बचतकर्ताको रकम उनले आफन्त र अन्य चिने जानेको खातामा पठाएर ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ। उनको यसखाले हर्कतको सूचना विभिन्न तरिकाबाट प्रहरीसम्म पुगेको थियो।

‘हामीले उसलाई चैत २२ गते नै नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियौं,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले भने।

नीरज इटहरीबाट सरुवा भएपछि पनि ठगी धन्दा भने निर्वाध चलिरहेको थियो। प्रहरीलाई यस प्रकरणमा अरूको पनि संलग्नता हुने आशंका बढ्यो। प्रहरीले थप अनुसन्धान जारी राख्यो। नभन्दै एभरेस्ट बैंकका अन्य कर्मचारीलाई पनि प्रहरीले समात्न थाल्यो। शुक्रवार थप ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको डीएसपी राईले बताए।

पक्राउ पर्नेमा बैंकको गाईघाट शाखाका अपरेसन इन्चार्ज नीरज प्रधानसहित, इटहरी शाखाका प्रबन्धक विश्वराज शाक्य, ३७ वर्षीय दावा लामा, २७ वर्षीय मनोज घिमिरे, देवराज घिमिरे, रञ्जित पण्डित, पवित्रा कटुवाल छन्। त्यस्तै शंकर भुजेल र अजय खिउजुलाई पनि प्रहरीले समातेको छ। पक्राउ पर्नेमा बैंकका शाखा प्रमुखदेखि टेलरसम्मका छन्। करिब पाँच महिनादेखि उनीहरूले गैरकानुनी गतिविधि गरिरहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

‘एक जनाले सम्भव नहुने भएर सबै कर्मचारीसँग मिलेर ठगी धन्दा चलाएको देखिन्छ,’ डीएसपी राईले भने।

घटनाको मुख्य योजनाकार भने बैंक शाखाका अपरेसन प्रमुख नीरज भएको प्रहरीको दाबी छ। उनीहरूले अहिलेसम्म ३३ जना ग्राहकको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ठगी गरेको देखिएको छ। उनीहरूले एउटा खाताबाट ७ लाख रुपैयाँसम्म झिकेको पाइएको छ।

‘कम्तीमा डेढ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म झिकेको देखिएको छ,’ डीएसपी राईले भने।

उनीहरूले इनएक्टिभ खातालाई समेत बैंकको सिस्टम दुरुपयोग गरेर एक्टिभ गरी रकम झिकेको खुलेको छ। उनीहरू विरुद्ध जिल्ला अदालतबाट बैंकिङ कसुर र संगठित अपराधमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनीहरुमाथि प्रहरीले संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउँछ।