ओटीटीको थ्रेटले रोमिङ सेवा सस्तो बनाउँदै दुनियाँभरका टेलिकम अपरेटर, नेपाल पनि छैन अछुतो

उन्नत सापकोटा
२०८० जेठ ५ गते १२:२२ | May 19, 2023
ओटीटीको थ्रेटले रोमिङ सेवा सस्तो बनाउँदै दुनियाँभरका टेलिकम अपरेटर, नेपाल पनि छैन अछुतो

काठमाडौं। अन्तर्देशीय दूरसंचार सेवालाई सुलभ बनाउनुका साथै ओटीटीको बढ्दो चुनौतीलाई चिर्न विश्वभरका टेलिकम अपरेटरहरु रोमिङ शुल्क धमाधम घटाउन थालेका छन्।

Tata
GBIME
Nepal Life

कतिपय देशहरुमा त दूरसंचार क्षेत्रको नियामक नै अन्तर्देशीय दूरसंचार सेवालाई सस्तो बनाउनुपर्ने भन्दै आफ्ना टेलिकम अपरेटरहरुलाई विभिन्न नीतिगत बन्धनमा बाँध्न थालेका छन्।

यसका साथै विश्वभरका टेलिकम कम्पनीहरुको मुख्य प्रतिस्पर्धी नै अहिले ‌ओभर द टप (ओटीटी) बनेका छन्। भाइबर, मेसेन्जर, ह्‍वाट्सएप, इमो, टेलिग्रामलगायतका ओटीटीको बढ्दो प्रयोगले टेलिकम अपरेटरहरुको व्यापारमै धक्का पुगिरहेको छ। जसका कारण पनि अपरेटरहरु रोमिङ सेवालाई सुलभ बनाउन लागेका हुन्। जसले अपरेटरहरुको आम्दानी केही भए पनि जोगिने उनीहरुको आशा छ।

कोरोना महामारीका कारण ठप्प वैदेशिक यात्रा, त्यसको प्रभाव कम भएसँगै अहिले पुरानै लयमा फर्किन थालिसकेको छ। स्वास्थ्य उपचार, व्यवसायिक यात्रा, घुमघामका साथै अन्य प्रयोजनका लागि देशभन्दा बाहिर यात्रा गर्नेको संख्या बढ्दै गएको छ। जसका कारण कोरोना महामारीमा ज्यादै न्यून बनेको रोमिङ सेवाको प्रयोग बढ्न थालेको अपरेटरहरु बताउँछन्।
अपरेटरहरु बीचको बढ्दो प्रतिस्पर्धाका कारण समेत रोमिङ शुल्क घट्दै गएको छ।

उता ३८ टेलिकम अपरेटरहरुले युरोपेली युनियन र वेस्टर्न बाल्कन्सबीचको डेटा रोमिङ शुल्क घटाउने समझदारी गरेका छन्। वेस्टर्न बाल्कन्समा सर्बिया, अल्बानिया, नर्थ म्यासेडोनिया, बोस्निया र हर्जगोभिना, कोसोभो, मोन्टेनेग्रो छन्। इयु र वेस्टर्न बाल्कोन्सका नागरिक तथा व्यापारीहरुलाई रोमिङ शुल्कलाई थप सुलभ बनाउने भन्दै टेलिकम अपरेटरहरु एकमत देखिएका हुन्।

रोमिङ र डोमेस्टिक (देशभित्रको दूरसंचार शुल्क) बीचको ग्याप घटाउन अत्यावश्यक भएको भन्दै इयू र वेस्टर्न बाल्कन्स शुल्क घटाउन अग्रसर भएका हुन्।

उनीहरुले सन् २०२३ अक्टोबरदेखि २०२८ सम्म रोमिङ शुल्क घटाउने जाने बताएका छन्। १ गिगाबाइट डेटा रोमिङको अधिकतम रिटेल मूल्य २०२३ अक्टोबर १ तारिखमा १८ युरो, २०२६ मा १४ युरो र २०२८ मा ९ युरोमा झार्ने ३८ टेलिकम अपरेटरबीच साझेदारी बनेको छ।

भारतको टेलिकम अपरेटर भारती एयरटेलले अन्तर्राष्ट्रिय रोमिङ प्याकलाई नै फेज आउट गरेको छ। एयरटेलले अन्तर्राष्ट्रिय मोबाइल रोमिङ स्किमलाई हटाउँदै १८४ देशलाई समेट्दै नयाँ प्लान ‘वर्ल्ड पास’ लन्च गरेको छ। एयरटेलले सूचीकृत भएका रोमिङ देशहरुमा बेसक डेटा शुल्कलाई ९९ प्रतिशत घटाएको छ।

त्यसैगरी, कमन मार्केट फर इस्टर्न र साउदर्न अफ्रिका (कोमेसा) मा रहेका टेलिकम अपरेटरहरुलाई त्यहाँको दूरसंचार नियामकले क्रस बोर्ड सूचना तथा संचार प्रविधि सेवालाई सुलभ बनाउन रोमिङ शुल्क घटाउन निर्देशन दिएको छ।
आगामी वर्ष कम्तीमा २९ अफ्रिकी देशहरुमा रोमिङ शुल्कलाई सुलभ बनाउने योजना रहेको बताइएको छ।

यता छिमेकी भारतको टेलिकम अपरेटर भारती एयरटेलले अन्तर्राष्ट्रिय रोमिङ प्याकलाई नै फेज आउट गरेको छ। एयरटेलले अन्तर्राष्ट्रिय मोबाइल रोमिङ स्किमलाई हटाउँदै १८४ देशलाई समेट्दै नयाँ प्लान ‘वर्ल्ड पास’ लन्च गरेको छ। एयरटेलले सूचीकृत भएका रोमिङ देशहरुमा बेसक डेटा शुल्कलाई ९९ प्रतिशत घटाएको छ।

कम्पनीले आफ्नो रोमिङ प्लान प्रयोग गरिरहेका पोस्टपेड ग्राहकहरुलाई नयाँ प्लानमा विना कुनै अतिरिक्त शुल्क सिफ्ट हुन सक्ने सुविधासमेत दिएको छ। कम्पनीले ६४९ देखि १४ हजार ९९९ भारतीय रुपैयाँको नयाँ रोमिङ प्लान ल्याएको हो।
कम्पनीले नेपालसहित अमेरिका, बेलायत, चीन, रुस, युएई, साउदी अरबमा रोमिङ शुल्क घटाउँदै प्रति मेगाबाइट १.५ भारु, प्रति जीबी १५ सय ३६ भारु कायम गरेको छ।

‘यसले हाम्रो ग्राहकहरुलाई विश्वभर एउटै प्याक उपलब्ध गराउँछ। स्मार्टफोन बन्द गर्नै पर्दैन। जहाँ भए पनि तुरुन्त आफूलाई आवश्यक पर्दा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ। यसले कम्पनीका साथै ग्राहकहरुलाई भ्यालु थप्छ,’ एयरटेलको कम्ज्युमर बिजनेस हेर्ने शाश्‍वत शर्माले भने।

अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि टेलिकम कम्पनीहरुले रोमिङ शुल्कमा व्यापक कटौती गर्न थालेका छन्।

निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलले पनि सुलभ दरमा अनलिमिटेड डेटा रोमिङको सेवा दिइरहेको छ। कम्पनीले करसहित १२६.७९ रुपैयाँमा बंगलादेश, इन्डोनेसिया, सिंगापुर, कम्बोडिया, मलेसिया, श्रीलंका, भारत, कतार र अमेरिकाका लागि उक्त मूल्यमा दैनिक अनलिमिटेड डेटा रोमिङ सेवा दिइरहेको जनाएको छ।

नेपालमा निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलले अनलिमिटेड डेटा रोमिङको दर सुलभ बनाएको छ। सरकारी कम्पनी नेपाल टेलिकमले विश्‍व दूरसञ्चार दिवस (आइटीयु डे) को अवसर पारेर भारत र थाइल्यान्ड कलमा शुल्क घटाएको छ।

यस्तै, अष्ट्रेलिया, फिनल्यान्ड, इटाली, नर्वे, स्पेन, फ्रान्स, थाइल्यान्ड, पाकिस्तान, हङकङ, बेलायत, चीन, पोर्चुगललगातका देशका लागि एनसेलले दैनिक अनलिमिटेड रोमिङ सेवा करसहित ५६०.३९ रुपैयाँमा उपलब्ध गराइरहेको जनाएको छ। करसहित ११२०.७९ रुपैयाँमा एनसेलले अल्बानिया, घाना, ओमान, अर्जेन्टिना, इजरायल, दक्षिण अफ्रिकालगायतका देशहरुमा दैनिक अनलिमिटेड डेटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ।

एनसेलले बंगलादेश, चीन र भारत पुग्नु अघि नै रोमिङ सेवा एक्टिभेट गर्नुपर्ने उल्लेख गरेको छ। कम्पनीले बजारको माग र आवश्यकतालाई हेरेर रोमिङसम्बन्धी विभिन्न अफर तथा प्याकेज ल्याउने जनाएको छ।

त्यसैगरी, सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले विश्‍व दूरसञ्चार दिवस (आइटीयु डे) को अवसर पारेर भारत र थाइल्यान्ड कल गर्दा लाग्ने शुल्क घटाएको छ। टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोग गर्दा लाग्ने रोमिङ शुल्क घटाएको हो।

नयाँ दर अनुसार भारतमा टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रुपैयाँ मात्र शुल्क लाग्ने छ। त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट ७ रुपैयाँ नै लाग्ने छ। एसएमएस गर्दा पनि प्रति एसएमएस ७ रुपैयाँनै लाग्ने टेलिकमले जनाएको छ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ तथा अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्छ। यस्तै, थाइल्यान्डमा टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट ५० रुपैयाँ मात्र लाग्ने टेलिकमले जनाएको छ। त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ लाग्ने बताइएको छ।

हाल कुनै नम्बरमा कल गर्दा १३५ रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ लाग्दै आएको छ। एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ तिर्नुपर्छ।

त्यसैगरी डेटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ शुल्क रहेकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्रै लाग्ने टेलिकमले जनाएको छ। यस अनुसार प्रति एमबी करिब ५ रुपैयाँ मात्रै हुनेछ। रोमिङको शुल्क विदेशी टेलिकम अपरेटर जहाँ नेपालका अपरेटरले सेवा चलाउँछन् उनीहरुले पनि आम्दानीको केही हिस्सा लैजान्छन्।

नेपाली अपरेटरहरुले आफ्नो संचालन खर्च, सेवा शुल्क, विदेशी अपरेटरको शुल्का साथै केही नाफाको मार्जिन राखेर रोमिङ शुल्क निर्धारण गर्छन्।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही अघिसम्म रोमिङ भनेको एकदमै महँगोका साथै प्रिमियम सेवाको रुपमा लिने गरिएको भए पनि अब विस्तारै सुलभ र आकर्षक बनाउने दिशातर्फ अपरेटरहरु अघि बढेको बताएका छन्। रोमिङ शुल्कमा विदेशी वा दोस्रो देशको अपरेटरहरुले लिने शुल्क घटाउँदै गएकाले आफूहरुले पनि रोमिङ शुल्कलाई घटाउँदै ग्राहकमा ट्रान्सफर गरेको उनले बताएका छन्।

‘अपरेटरहरुले अहिले ‘रोम लाइक होम’ भन्छन्। यो भन्नाले देशभित्र जुन शुल्कमा दूरसंचार सेवा उपभोग गरिरहेका छौं सोही मूल्यमा रोमिङ पनि पाउनुपर्छ भन्ने अर्थ हो,’ नेपाल टेलिकम प्रवक्ता शोभन अधिकारीले भने।

‘उसको मान्छे नेपाल आउँदा रोमिङ शुल्क घटाए, अब हाम्रो मान्छे उता जाँदा पनि त्यो घटेको छ। हामीलाई हुने फाइदा ग्राहकमा बाँड्दा शुल्क घटाउन सकेका हौं। अधिकारी ओटीटीले खोसिरहेको दूरसंचार क्षेत्रको आम्दानीलाई जोगाउन समेत अपरेटरहरुले रोमिङ शुल्क घटाउन थालेको स्वीकार्छन्।

‘ओटीटीकै कारणले पनि रोमिङ शुल्क घटेको हो। किनभने विश्वभरका टेल्कोहरुले रोमिङ सेवालाई थप सुलभ बनाउँदै लगेका पक्कै छन्। अपरेटरहरुले अहिले ‘रोम लाइक होम’ भन्छन्। भन्नाले देशभित्र जुन शुल्कमा दूरसंचार सेवा उपभोग गरिरहेका छौं सोही मूल्यमा रोमिङ पनि पाउनुपर्छ भन्ने अर्थ हो,’ अधिकारीले भने।

टेलिकमले अरु देशका अपरेटरहरुसँग छलफल भइरहेको बताउँदै रोमिङ शुल्क घटाउने जाने नीति अघि सारेको छ। अन्य देश जाँदा/रहँदा समेत टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो। यो सुविधा लिएपछि विदेश गएको समयमा पनि टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कलमा कुराकानी, इन्टरनेट चलाउन र एसएमएस गर्न सकिने टेलिकमले जनाएको छ।