सरकारको संरक्षणमा आयल निगमको कालोबजारी, एक लिटर हवाई इन्धनमा ७३ रुपैयाँ नाफा

शुक्र गिरी
२०८० जेठ ३ गते १२:०३ | May 17, 2023
सरकारको संरक्षणमा आयल निगमको कालोबजारी, एक लिटर हवाई इन्धनमा ७३ रुपैयाँ नाफा

काठमाडौं। सरकारले २० प्रतिशत भन्दा बढी मुनाफा लिनेवित्तिकै निजी क्षेत्रका वस्तु तथा सेवा उत्पादकदेखि व्यवसायीलाई कालोबजारी ऐन टेकेर कारवाही गर्छ।

Tata
GBIME
Nepal Life

२० प्रतिशतभन्दा बढी मुनाफा खाने निजी कम्पनीका सामान जफतदेखि १० वर्षसम्म जेल सजाय गर्नसक्ने कानुनी प्रावधान छ। त्यो प्रावधान टेकेर कारवाही समेत हुने गरेको छ।

तर सरकारी स्वामित्वको नेपाल आयल निगमले लिटरमै ७३ रुपैयाँ नाफा राखेर हवाई इन्धन खुलमखुला बेचिरहेको छ। उसलाई कारवाही होइन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय संरक्षण नै गरिरहेको छ। निगमको संचालक समिति अध्यक्षमा वाणिज्य सचिव रहने व्यवस्था छ। वाणिज्य सचिवको संरक्षणमा निगमले कालोबजारी गरिरहेको छ।

लिटरमै ७३ रुपैयाँ नाफा राख्दा आयल निगमको व्यापार पनि घटेको छ। व्यापार घट्दा राजस्वसमेत प्रभावित भएको छ। चर्को मूल्यका कारण हवाई भाडा सस्तिन पाएको छैन। दुई वर्षअघि काठमाडौं-पोखरा न्यूनतम भाडा १८०० थियो, अहिले ३५०० भएको छ। यस्तै काठमाडौं-विराटनगर न्यूनतम भाडा २८०० थियो। तर अहिले उक्त रुटको भाडा न्यूनतम ४५०० भएको छ।

अहिले आन्तरिक हवाई इन्धनमा निगमलाई लिटरमा ३५ रुपैयाँ ८४ पैसा नाफा छ। यस्तै, बाह्य हवाई इन्धनमा ७३ रुपैयाँ ११ पैसा नाफा छ। यसले हवाई भाडामा प्रत्यक्ष असर गर्ने गर्छ। निगमले यसरी लिटरमा यति धेरै नाफा राखेर हवाई भाडा बढाउन सहयोग पुर्‍याएको छ।

निगमले हवाई इन्धनमा अत्यधिक नाफा राख्दा उपभोक्तालाई महँगो हवाई टिकट पर्न गएको वायुसेवा निगम संचालकहरुको भनाइ छ। उनीहरुले हवाई इन्धनको मूल्यमा निगमले धेरै नाफा राखेर आफूहरुलाई र जनातालाई मारमा पार्ने गरेको आरोप समेत लगाउदै आएका छन्।

नेपाल आयल निगमले हवाई इन्धनमा बिक्रीमा अचाक्ली नाफा राख्दा यात्रुले आन्तरिक र बाह्य उडानका लागि महँगो शुल्क तिर्नुपरेको छ। पछिल्लो समय केही मूल्य घटे पनि निगमले अझै भारी नाफा राखेर टिकट महँगो बनाएको उनीहरुको आरोप छ।

यो सरकार आफैंले बनाएको कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनको ठाडो उल्लंघन गरेको उनीहरु बताउँछन्। ऐनअनुसार कुनै पनि कारोबार गर्दा २० प्रतिशतभन्दा बढी नाफा राख्‍न नपाइने व्यवस्था छ।

भारतको कोलकातामा हवाई इन्धनको मूल्य प्रतिलिटर भारु १०५.५ (नेरु १६८.५३) छ। नेपालमा भने हवाई इन्धनको आन्तरिक (डोमेस्टिक)लाई मात्र मूल्य १६० रुपैयाँ छ।

निगमले अहिले बाह्य हवाई इन्धन प्रतिलिटर १.३५ अमेरिकी डलरमा बिक्री गर्ने गरेको छ। अर्थात यसको नेपाली १७७ रुपैयाँ प्रतिलिटर पर्न जान्छ। त्यसैले हवाई इन्धन नेपालमा भन्दा भारतमा प्रतिलिटर ९ रुपैयाँ सस्तो छ। त्यही कारण नेपाल वायुसेवा निगमसहित भारतीय वायुसेवाले पनि नेपालमा हवाई इन्धन भर्न छोडेका छन्।

नेपाल वायुसेवा निगमले समेत भारतबाटै इन्धन भरेर आउने गरेको छ। जहाजमा वेट हेरेर मात्र उडान भर्ने गरिन्छ। त्यही अनुसार इन्धन भर्ने गरिन्छ। भारतमा अहिले हवाई इन्धनको खपत धेरै बढेको निगमका एक अधिकारीले बताए। त्यही अनुसार भारतले हवाई इन्धनको मूल्य घटाएको छैन। त्यही पनि नेपालमा भन्दा ९ रुपैयाँ सस्तो छ।  

अहिले निगमलाई हवाई इन्धनमा आन्तरिकतर्फ लिटरमा ३५ रुपैयाँ ८४ पैसा र बाह्य ७३ रुपैयाँ ११ पैसा नाफा छ। निगमले चर्को नाफा लिँदा वायुसेवा कम्पनीहरुले टिकट दर नघटाएका हुन्।

जजिराले भैरहवाबाट उडान गर्दा हवाईको इन्धन खपत बढ्ने संकेत गरेको थियो। तर उक्त उडान पनि बन्द भएका कारण अहिले हवाई इन्धनको खपतमा कमी आएको ती अधिकारी बताउँछन्।

निगमले पनि इन्डियन आयल कर्पोरेसनलाई ६ अर्ब र सरकारलाई ६ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको भन्दै नाफा भएपनि तेलको मूल्य घटाउन आनाकानी गर्दै आएको छ।

हवाई उडान गर्ने प्राय अन्तराष्ट्रिय जहाजहरुले अहिले लोड कमी हुने गरेकाले आफ्नै देशबाट ६ हजारदेखि ७ हजार लिटर इन्धन भरेर उडान भर्ने गरेका निगमका आधिकारी बताउँछन्। नेपालमा त उनीहरुले त्यही भएको इन्धनमा ३/४ सय लिटर इन्धन भरेर जहाजलाई ब्यालेन्स मिलाउने गरेका छन्।

ती अधिकारीका अनुसार दसैंतिरको समयमा मात्र लगेजहरुले गर्दा जहाजको लोड धेरै हुने कारण नेपालमा ल्यान्ड गरेपछि मात्र फुल इन्धन भर्ने गर्दथे। अहिले त्यो हुँदैन।

‘यस्तै अर्को कारण भनेको नेपालमा उनीहरुले सोचे जस्तो नेपालमा हवाई इन्धन सस्तो छैन। नेपालमा र भारतमै तुलना गर्दा पनि नेपाली ८ रुपैयाँ भनेको भारु ५ रुपैयाँ हो। यसले उनीहरुलाई केही फरक पार्दैन,’ ती अधिकारीले भने, ‘इन्धन जति सस्तो भयो त्यति नै खपत बढ्ने हो। नेपालमा त्यसरी सोचिएको छैन। नाफा धेरै राखेर निगम चुपचाप लागेको छ।’

ती अधिकारीका अनुसार अर्को मुख्य मार परेको भनेको आन्तरिक उडानमा हो। पहिले तेलको मूल्य सस्तो हुँदा वायुसेवा कम्पनीलेहरुले भाडा निर्धारण गर्ने गर्दथे। त्यही अनुसार आन्तरिक उडानमा यात्रा गर्नेको संख्यामा वृद्धि हुने गरेको थियो।

तर अहिले निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको बहाना बनाउदै मूल्य घटेर आउदा पनि लिटरमा ३५ रुपैयाँदेखि ७३ रुपैयाँ नाफा राखेर हवाई भाडा बढाउने काम मात्र गरिरहेको ती अधिकारी बताउँछन्।

त्यसैले पर्यटक आउने र जानेको संख्या बढ्दो छ। वैदेशिक रोजगारीमा जानेको संख्या दिन प्रतिदिन बढ्दो संख्यामा हुँदा समेत हवाई इन्धनको खपत बढ्न सकेको छैन। हवाई इन्धनको खपत अघिल्लो वर्षको तुलनामा उस्तै देखिन्छ। जब त्यति बेला कोभिडको प्रभाव रहिरहेको थियो। यसरी अहिलेको जस्तो हवाई उडानमा त्यति चहलपहल हुन सकेको थिएन।

गत आर्थिक वर्षको वैशाख महिनामा हवाई इन्धनको खपत आन्तरिक र बाह्य गरेर १५ हजार किलोलिटर भएको थियो। चालु आर्थिक वर्षको वैशाख महिनामा पनि कुल १५ हजार लिटर हवाई इन्धन खपत भएको छ।

हवाई यात्रा गरेर नेपाल आउने पर्यटक आन्तरिक उडान पनि उतिकै उपयोग गर्छन्। हाल नेपाली पर्यटन क्षेत्रमा चहलपहल छ। पर्यटक दर आगमन बढेको छ। गत अप्रिल महिनामा मात्र झन्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन्। कोभिडपछिको सन् २०२१ को अप्रिल महिनामा जम्मा २२ हजार पर्यटक नेपाल घुम्न आएका थिए। त्यतिबेला पनि हवाई इन्धनको खपत १५ हजार किलोलिटरकै हाराहारीमा थियो।

गत वर्षको तुलनामा अहिले आन्तरिक उडान सरदर दैनिक २०० सम्म हुन थालेको छ। कोभिड पछिको वर्षहरुमा दैनिक सरदर आन्तरिक १५० उडान हुने गरेको थियो। यस्तै अन्तर्राष्ट्रिय उडान यो वर्षको अप्रिलमा मात्र नभइ हरेक महिना लगभग १ लाखको हाराहारीमा पर्यटक नेपाल घुम्न आउन थालेका छन्।

कोभिड अघिको अवस्थामा पर्यटन आगमन पुग्न थालेको छ। यसले हवाईको उडान संख्याहरु बढाएको छ। यसका साथै एयरपोर्टहरु रट व्यस्त हुने कारण जहाज ल्यान्ड गर्न आकाशमै होल्ड हुने समेत गरेको छ।

यसले अन्तर्राष्ट्रिय फ्लाइट मात्र नभइ आन्तरिक रुपमा हुने उडानहरु पनि बढेको छ। पर्यटकको आगमन बढेपछि हवाई उडानहरु बढ्नु स्वाभाविक पनि हो। तर निगमको हवाई इन्धनको बिक्री भने त्यही अनुपातमा बढ्न सकेको देखिदैन। यसो हुन नसक्नुमा निगमका अनुसार नेपालमा हवाई इन्धन भर्न आउने जहाजको संख्या कम छ। भारतीय जहाजले पनि नेपालमा इन्धन भर्दैनन्। नेपाल एयरलाइन्सका जहाजले समेत भारतमा इन्धन भर्ने गरेका छन्।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढेको छ। २०७७ सम्म दैनिक १ हजारको हाराहारीमा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने गरेका थिए। चालु आर्थिक वर्षमा दैनिक २ हजार भन्दा बढीले श्रम स्वीकृति लिने गरेका छन्।

गत साउनयता कुल ६ लाख २ हजार १ सय ५३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्यासँगै हवाई उडान संख्या पनि बढेको छ। हवाई इन्धनको खपत भने गत वर्षकै अवस्थामा रहेको निगमले जनाएको छ।