आर्थिक मन्दीको डरलाग्दो तथ्यांक, सिमेन्ट, सफ्ट ड्रिंक्सदेखि टेलिकम कम्पनीको नाफामा गम्भीर धक्का

बिजमाण्डू
२०८० जेठ २ गते १६:०० | May 16, 2023
आर्थिक मन्दीको डरलाग्दो तथ्यांक, सिमेन्ट, सफ्ट ड्रिंक्सदेखि टेलिकम कम्पनीको नाफामा गम्भीर धक्का

काठमाडौं। आर्थिक मन्दीका कारण उद्योगव्यापारमा संकुचन आउँदा ठूला कम्पनीको नाफामा गम्भीर धक्का लागेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको केही महिनाबाट अर्थतन्त्रमा देखिएको संकुचन फराकिलो बन्न थालेको केही ठूला कम्पनीको ब्यालेन्स सीट हेर्दा स्पस्ट हुन्छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएका उत्पादनमूलक कम्पनीको ब्यालेन्स सीटमा नाफा ५० प्रतिशतसम्म घटेको देखिन्छ। नेप्सेमा केही कम्पनी मात्रै सूचीकृत छन्।

सूचीकृत भएका कम्पनीले समेट्ने सबै उद्योगको हालत खराब रहेको प्रमाणित हुन्छ। शिवम् सिमेन्टको ९ महिनामा ३१ करोड ९९ लाख रुपैयाँ खुद नाफा छ। नेप्सेमा सूचीकृत भएको उत्पादनमूलक उद्योग शिवम् सिमेन्टको चालु आर्थिक वर्षको ९ महिनामा व्यापार २५ प्रतिशत र नाफा ५१.१५ प्रतिशत खुम्चिएको छ।

शिवम् सिमेन्ट उद्योगमा लिडिङ ब्राण्ड हो। ओपीसी सिमेन्टमा सबैभन्दा बढी हिस्सा यही कम्पनीको छ। यो कम्पनीको ऋण ठूलो छैन। ऋण ठूलो नभएकोले ब्याजका लागि ठूलो रकम छुट्याउनुपर्दैन्।

यो नाफाकै आधारमा पनि भर्खरै सुरु भएका सिमेन्ट उद्योग जसको ऋण ठूलो छ, ती सिमेन्ट कम्पनी नोक्सानी छन् भन्न कठिन हुँदैन। यो पुष्टि गर्न धेरै टाढा जानै पर्दैन्। नेपाल धितोपत्र बोर्डबाट ४३५ रुपैयाँ प्रिमियममा सेयर जारी गर्न अनुमति पाएको घोराहीको पुस मसान्तसम्म १ करोड ५८ लाख रुपैयाँ मात्रै नाफा छ। एक सिमेन्ट उद्योगीका अनुसार ऋण कम भएका सर्वोत्तम, अर्घाखाँची, मारुती वाहेक अरु उद्योग नोक्सानीमै छन्।

शिवम् सिमेन्टकै हालत अर्को उत्पादनमूलक उद्योग हिमालयन डिष्टिलरीको छ। यो डिष्टिलरीको नाफा २७ प्रतिशतले साँघुरिएको छ। व्यापार १२.५२ प्रतिशत कम छ। चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन पोहोर ७८ करोड ८३ लाख रुपैयाँ थियो।

हिमालयनको नाफाले अरु डिष्टिलरीको हालत खराब छ भन्न कठिन छैन। एक मदिरा उद्योगीका अनुसार केही ठूला वाहेक भारतको सीमा नजिक रहेका डिष्टिलरीको सबै नोक्सानीमा छन्। कतिपय उद्योगले बैंकको ऋण समेत तिर्न नसकेर लिलामीको प्रक्रियामा जाँदैछन्।

मदिरा उद्योग मात्रै होइन सफ्ट ड्रिंक्स उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नाफा पनि गत वर्ष भन्दा ९.५ प्रतिशतले घटेको छ। यो कम्पनीको नाफा चैतसम्म ३६ करोड १० लाख खुद नाफा छ। गत वर्षको सोही अवधिमा ५० करोड ५८ लाख रुपैयाँ थियो। नेपालमा कोकाकोला सफ्ट ड्रिंक्समा लिडिङ ब्राण्ड हो। यो कम्पनीको नाफा घटेपछि पेप्सी लगायतका अरु उत्पादक कम्पनीको कारोबार झन् खुम्चिएका छन्।

उत्पादनमूलकसँगै सेवा क्षेत्रका टेलिकम कम्पनी पनि मन्दीको मारमा परेको छ। चालु आर्थिक वर्ष ९ महिनाको अवधिमा नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ छ। गत वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा थियो। कोर बिजनेश ३ प्रतिशत साँधुरिएको छ। व्यापार २७ अर्ब ३४ करोड रुपैयाँमा सिमित छ। पोहोर २८ अर्ब २१ करोड रुपैयाँ भएको थियो।

मन्दीका कारण उपभोक्ताले टेलिफोन लगायतको खर्च समेत घटाउन थालेको देखिन्छ। केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक विकास दुगड मुलुक आर्थिक मन्दीमा फसेको बताउँदै यसबाट निस्किन राज्यले उचित नीतिगत निर्णय लिन ढिला गर्न नहुने बताउँछन्। ‘उद्योग व्यवसायको अवस्था चिन्ताजनक छ। लगानीकर्ताको मनोबल गिरेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘यो कठिन अवस्थालाई संबोधन गर्न ढिला नहोस् भन्ने हाम्रो चाहाना हो।’