मञ्जु खाँणको अत्तोपत्तो छैन, श्रीमान् बालकृष्णलाई हिरासतमा हेर्नधरी गइनन् !

बिजमाण्डू
२०८० बैशाख ३१ गते १२:२८ | May 14, 2023
मञ्जु खाँणको अत्तोपत्तो छैन, श्रीमान् बालकृष्णलाई हिरासतमा हेर्नधरी गइनन् !

काठमाडौं। परिवारका सदस्य संकटको सामना गरिरहँदा सबैभन्दा नजिकका व्यक्ति उसैसँग हुन्छन् नै। अस्पताल भर्ना हुँदा होस् या हिरासतमा नै। साथै रहेर या भेटघाटमा सबैभन्दा धेरै श्रीमान् वा श्रीमती नै जुटिरहेका हुन्छन्।

Tata
GBIME
Nepal Life

पाँच दिनदेखि हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको परिवारका सन्दर्भमा माथिको कुरा ठ्याक्कै उल्टो छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिरहँदा उनकी पत्नी मञ्जु भने गुमनाम छिन्। सत्ताको सधैं रवाफिलो जीवन भोगेका बालकृष्ण र मञ्जुबीच हिजोआज भेटघाट छैन। खाँणलाई खाना समेत अरुले नै पुर्‍याउने गरेका छन्।

‘अहिलेसम्म श्रीमती आएको थाहा पाएका छैनौं,’ परिसरका एक प्रहरी अधिकृतले भने।

खाँणकी श्रीमती मञ्जु हिरासतमा खाना लिएर गइन् वा गइनन् भन्दा पनि पेचिलो विषय हो – उनी किन सम्पर्कविहीन भइन्?

प्रहरीले वैशाख २७ गते बालकृष्ण खाँणलाई उनकै निवास चुप्चेपाटीबाट पक्राउ गर्‍यो। गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा मोटो रकम लिएको बयान र प्रमाणले देखिएपछि प्रहरीले उनलाई धरपकड गरेरै हिरासतमा पुर्‍यायो। उनकी पत्नी मञ्जुको नाम पनि यस प्रकरणमा ‘ओपन सेक्रेट’ बनिसकेको छ। मञ्जु फरार हुनु र उनीमाथि लगातार प्रश्‍न उठ्नुबीच संयोगमात्र मान्न सकिन्न।

सामाजिक सञ्जालमा भाइरल भएको अडियोमा मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम मुछिएको छ। रकम लेनदेनको कुराकानी सार्वजनिक भए पनि आरजु राणा त्यसविरुद्ध उजुरी गर्नेदेखि आफूलाई रकम दिने व्यक्ति देखाउन चुनौती दिँदै सार्वजनिक भइरहेकी छन्। ठिक विपरीत अवस्थामा छिन् मञ्जु।

अडियोमा भाइरल हुनु र बालकृष्ण समातिनुकै आधारमा पनि मञ्जु अनुसन्धानको घेराभन्दा बाहिर रहन सक्दिनन् भन्ने जोसुकैले अनुमान गर्न सक्छन्। आरजु राणाले हिमालय टेलिभिजनमा राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा आफ्नो प्रतिरक्षा गरिरहँदा मञ्जुप्रति प्रितकर सम्बन्ध नरहेको प्रष्ट्याइन्।

राणाको मञ्जुप्रतिको अभिव्यक्ति अन्तर्वार्तामा कठोर सुनिएको छ। यसले मञ्जुमाथि थप संशय प्रकट गर्छ। त्यसबाहेक मञ्जुको बोल्ने शैली र पार्टीभित्र उनले दिएका अभिव्यक्तिका ‘क्लिप्स’हरु यतिखेर सोसल मिडियामा छरपस्ट आएका छन्। सार्वजनिक भएका दृश्यहरुले मञ्जुको ‘रवाफिलो’ शैली स्थापित गरिरहेको छ। अर्कातिर अनुसन्धानमा उनलाई किन प्रहरीले तानिरहेको छैन भन्ने प्रश्‍न पनि उठिरहेको छ।

यतिसम्म कि कांग्रेसकै नेताहरुले प्रष्ट रुपमा अनुसन्धानको माग गरिरहेका छन्। पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यसमा संलग्न जो कोहीलाई पनि कारबाही हुनुपर्ने बताउँदै आएका छन्। ती व्यक्ति भलै पार्टी नेतृत्व वा नातामा रहेका व्यक्ति नै किन नहुन् भन्नेमा नेताहरुको आवाज एक छ। मञ्जुमाथि औपचारिक रुपमा अनुसन्धानको कुनै प्रक्रिया अगाडि बढेको छैन। न त उनलाई समात्‍न प्रहरीले प्रयास नै गरिरहेको छ।

कांग्रेसमा सिरहाबाट समानुपातिक सांसद बनेकी मञ्जु आफ्नो हिरासतमा रहेका श्रीमान् भेट्न मात्र नपुगेकी होइनन्, केही समय यता कतै देखिएकी छैनन्। त्यसैले धेरैको चासो छ – उनी कहाँ छिन्? एकाएक सम्पर्कविहीन हुनुले संदेहको शृंखला चुलिँदो छ।

मञ्जु र आरजुलाई जोडेर आएको रकम लेनदेनको अडियोविरुद्ध उजुरी लिएर आरजु एक्लै नेपाल प्रहरी साइबर ब्युरोमा पुगिन्। दुईजनाको नाम मुछिँदा मञ्जुको उजुरी परेन। आरजुले सार्वजनिक भएको अडियोमाथि चुनौती दिएकी छन्। अनुसन्धान गर्न पनि उनले अनुरोध गरेकी छन्। आफूलाई पैसा दिएको मान्छे देखाउन उनले चुनौती दिँदै आएकी छिन्। आफ्नो प्रतिरक्षा गरिरहँदा मञ्जु खाँणले पैसा लिएको-नलिएको भन्ने बारेमा ठेक्का लिन नसक्ने आरजुको अभिव्यक्तिले पनि थप प्रश्‍न खडा गरेको छ।

आरोपमाथि आरोप लागिरहँदा मञ्जु खाँणले प्रतिवाद गरेकी छैनन्। उनले गरेको एकैमात्र काम हो – सबैसँग सम्पर्कविहीन भएर बस्नु।

‘केन्द्रीय सदस्य उहाँ। मसँगै हिँड्ने मान्छे हो र?,’ राजेन्द्र बानियाँको प्रश्नमा आरजुले दिएको जवाफले यी दुई बीचको सम्बन्धमा चिसोपन छ भन्ने बुझ्न गाह्रो छैन।

बालकृष्ण समातिँदा मञ्जु घरमा थिइनन्। उनी केही समयदेखि ललितपुरमा बस्दै आएकी थिइन्। खाँण समातिएको दिन प्रतिनिधिसभा बैठक थियो। उनी त्यस दिनको बैठकमा समेत उपस्थित भइनन्। त्यसयता उनी कुनै पनि सार्वजनिक गतिविधिबाट अलग छिन्। उनले बोक्दै आएको मोबाइल केही दिन यता ‘स्वीच अफ’ छ। प्रहरीले पनि मञ्जुसँग कुनै सम्पर्क नभएको जनाएको छ।

‘उहाँको नाम आएपछि अनुसन्धान हुने भयो। तर अहिलेसम्म हामीसँग सम्पर्कमा हुनुहुन्न,’ शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

त्यसो त प्रहरीले मञ्जु र आरजुको विषयमा भाइरल भएको अडियोबाहेक अपराध स्थापित गर्ने कुनै प्रमाण भेटाउन सकेको छैन। प्रमाण नपुगेकै कारण प्रहरीले मञ्जुलाई अदालतबाट पक्राउ पुर्जी लिएर खोजी गरेको पनि छैन। त्यसखाले सम्पर्क हुनुअघि नै उनी सम्पर्कविहीन भएकी छन्।

प्रहरीले अडियोमा आएको विषयमाथि जानकारी चाहिँ लिन खोजेको छ। त्यसैका आधारमा सामान्य सोधपुछ गर्न सम्पर्क गर्न खोज्दा उनी नभेटिएकी हुन्। अनुसन्धानमा रहेको प्रहरीले ठोस प्रमाण पायो भने उनीविरुद्ध कानुनी प्रक्रिया सुरु गर्ने निश्चित छ।

‘अडियोमात्र आधार हुँदैन। सामान्य रुपमा बोलाएर त्यसबारे सोध्नेखोज्ने भन्ने अनुसन्धानमा हुन्छ नै। तर उहाँको अवस्था थाहा हुन सकेको छैन,’ प्रहरी स्रोतले भन्यो।

मञ्जुमाथि यति धेरै प्रश्‍न उठिरहँदा उनले कुनै न कुनै माध्यमबाट प्रष्टिकरण दिन सक्थिन्।

पूर्व डीआईजी हेमन्त मल्ल अनुसन्धानको डरले मञ्जु भागेको हुनसक्ने आकलन गर्छन्। ‘बाहिरिएको अडियोले मात्रै समात्‍ने प्रमाण हुँदैन। उनी सम्पर्कविहीन हुनुले शंका गर्ने आधार थपिएको छ,’ मल्लले भने।

यही प्रकरणमा जोडिएका अर्का पूर्वमन्त्री एवम् एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी फरार छन्। उनीविरुद्ध अदालतले पक्राउ पुर्जी दिएलगत्तै उनी हराएका हुन्। मञ्जु भने पुर्जी नआउँदै गायब छिन्।

रायमाझीविरुद्ध वैशाख २० गते प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। रायमाझी र उनका छोराले शरणार्थी प्रकरणमा रकम लिएको प्रहरी अनुसन्धानले देखाएको छ। रायमाझीका छोरा सन्दीप भने १० दिनदेखि हिरासतमा छन्। नक्कली शरणार्थी प्रकरणमा नीरज राई पनि फरार छन् जसविरुद्ध पक्राउ पुर्जी जारी छ।

यो प्रकरणमा अहिलेसम्म प्रहरीले बहालवाल सचिव टेकनारायण पाण्डे, रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका डा. इन्द्रजीत राई लगायत १२ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट संगठित अपराधमा म्याद थप गरेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको छ। अबको १० दिनभित्र प्रहरीले अनुसन्धान गरेर फाइल सरकारी वकिलको कार्यालयमा बुझाउने छ।

एकाएक गायब भएकी बालकृष्ण पत्नीसहितका आरोपीहरु अनुसन्धानको सीमाभित्र प्रहरी सम्पर्कमा आउँछन् या आउँदैनन् त्यो भने प्रतीक्षाको विषय बनेको छ।