
काठमाडौं। एनसेल आजियाटाको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले कार्यभार सम्हालेका छन्।
मंगलबार बसेको एनसेलको संचालक समिति बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो।
योसँगै एनसेलका निवर्तमान प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा ग्रपको प्रधान कार्यालयमा २०२३ जुन १ तारिखदेखि ‘आजियाटा ग्रुप चिफ कर्पोरेट अफिसर’ का रुपमा कार्यभार सम्हाल्ने छन्।
जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसंचार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्। उनीसँग करिब २० वर्ष दूरसंचार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ।
दूरसंचार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट ट्रय्याक रेकर्ड राख्न सफल जाब्बोर कुशल व्यवसायिक नेतृत्वका रूपमा चिनिन्छन्। एनसेलमा आबद्ध हुनुअघि जाब्बोर डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।
क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यवसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए।
‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु। प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान टिमसँग काम गर्न उत्सुक छु। टिमसँग काम गर्दै व्यवसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा गु्रपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पुर्याउन ध्यान केन्द्रित गर्नेछु,’ जाब्बोरले भने, ‘१ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु।’
दूरसंचार उद्योगको व्यापक ज्ञानका साथ जाब्बोरले प्रमुख कार्यकारीको रूपमा रही सफल ट्रय्याक रेकर्ड कायम गरेका छन्।
पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन्। उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
नयाँ प्रविधि र ग्राहक केन्द्रित नवीन सेवा–सुविधामा जाब्बोरको चासो छ। डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उनको विश्वास छ।