खाने तेलपछि चामलको भाउ सस्तियो, २५ किलोको बोरा दुई सय रुपैयाँ सस्तोमा पाइन थाल्यो

सरला सुवेदी
२०८० बैशाख २६ गते ०७:५३ | May 9, 2023
खाने तेलपछि चामलको भाउ सस्तियो, २५ किलोको बोरा दुई सय रुपैयाँ सस्तोमा पाइन थाल्यो

काठमाडौं। चामलको आयात सहज हुन थालेपछि मूल्य घट्न थालेको छ। बजारमा पाइने विभिन्न ब्राण्डका चामल बोरामा २ सय रुपैयाँसम्म मूल्य घटेको व्यवसायीहरुले बताएका छन्।

Tata
GBIME
Nepal Life

खाने तेलपछि चामलको मूल्य घट्दा उपभोक्तालाई केही राहत भएको छ। भारतले निर्यातमा २० प्रतिशत शुल्क लगाएपछि चामलको मूल्य बोरामै ५ सय रुपैयाँभन्दा बढि वृद्धि भएको थियो।

मंसिरदेखि नयाँ धान चामल आउने गरेपनि यस पटक आयात परिमाण घट्दा थप असर गरेको थियो। खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले चामलको मूल्य घट्दो क्रममा रहेको बताए। उनका अनुसार मन्दीसँगै होटल र रेष्टुरेन्टमा समेत मागमा कमी आएकाले मूल्य घट्न सहयोग गरेको हो।

उनका अनुसार पुरानै मूल्यमा आउन भने अझै केही समय लाग्ने देखिएको छ। नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले जिरा मसिनो चामल १९ सय रुपैयाँमा आइपुगेको छ।

सामाखुशी गोर्खाली स्टोरका संचालक कृष्ण भट्टले जिरा मसिनो चामल बोरामै २ सय रुपैयाँ घटेको जानकारी दिए। उनका अनुसार २५ किलोको जिरा मसिनो अहिले १९५० रुपैयाँदेखि २ हजार सम्म पाइन्छ। केही समय अघि यो चामलको मूल्य २२ सय रुपैयाँ थियो। ब्राण्ड अनुसार चामलको भाउ फरक पर्छ। ब्राण्ड नभएको चामल १७ सय रुपैयाँमा पाइन्छ। भट्टले लङग्रेन चामल पनि बोरामा एक सय रुपैयाँ घटेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशसन लिमिटेडका बजार प्रबन्धक प्रज्वल प्रधानका अनुसार बजारमा पैसा नभएकोले चामलको मूल्य घट्दै गएको छ। पछिल्लो समय भारतले चामल आयात सहज गरेका कारण मूल्य कम भएको हो।आर्थिक मन्दीका कारण खाद्यान्न बिक्री पनि कम छ।

अन्य खाद्यान्नको मूल्य पनि सस्तिदै

व्यवसायीहरुका अनुसार पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य घट्दै गएको छ। चामल, दाल, तेल, गेडागुडी मैदा र आटा लगायतका खाद्यान्नको मूल्य घटेको हो।

गोर्खाली स्टोरका भट्टका अनुसार मैदा र आँटा बोरामा ४ सय रुपैयाँसम्म घटेको छ भने मासको वाहेक अरु दाल किलोमा २० रुपैयाँसम्म घटेको छ। चना, भटमास लगायतका गेडागुडी किलोमा १५ रुपैयाँसम्म घटेको छ। मासको दाल किलोमा १५ रुपैयाँ बढेको छ। दुई महिनायता खाने तेलको मूल्य कार्टुनमा ३ सय रुपैयाँले घटेको छ।

रुस-युक्रेनको युद्धका कारण कच्चा पदार्थ आयात प्रभावित हुँदा खानेतेलको मूल्य कार्टुनमा ३ हजारमाथि पुगेको थियो। बजारमा मन्दी छाएपछि हाल खाने तेलको मूल्य कार्टुनमा २ हजारभन्दा तल आइपुगेको छ।

अत्यधिक खपत हुने तोरी तेलको मागमा पनि कमी आउँदा मूल्यमा गिरावट छ। तोरी तेल ब्राण्डअनुसार लिटरमा २० देखि ११० रुपैयाँसम्म घटेको छ। पहिले प्रतिलिटर ३६० रुपैयाँ प्रतिलिटर रहेको धारा तेल अहिले ३३० रुपैयाँ पर्छ। फ्यामिली ब्राण्डको तोरीको तेल २३० रुपैयाँ पर्छ। अन्य ब्राण्डका तोरीको तेल पनि लिटरको २३० रुपैयाँ आसपासनै पर्न थालेको छ।

मूल्य घट्दा उद्योगी र कारोबारीको व्यापारमा नाफा प्रभावित भए पनि उपभोक्तालाई भने राहत भएको छ। उपभोक्ताले डेढ वर्षअघिको मूल्यमा तेल खरिद गर्न पाएका छन्। पछिल्लो केही समयदेखि खानेतेलको मूल्य क्रमिक घट्दै आएको थियो।