अख्तियारको छानबिन गरिरहेको कलंकी-बल्खु सडक निर्माण अघि बढ्यो, थप बिग्रने भन्दै काम सुरु

शुक्र गिरी
२०८० बैशाख २४ गते २१:०२ | May 7, 2023
अख्तियारको छानबिन गरिरहेको कलंकी-बल्खु सडक निर्माण अघि बढ्यो, थप बिग्रने भन्दै काम सुरु


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानसँगै रोकिएको कलंकी-बल्खु सडक निर्माणको काम अघि बढ्ने भएको छ।

Tata
GBIME
Nepal Life

आयोगको छानबिन प्रतिवेदन नआउँदै सडक डिभिजन कार्यालयले आफुखुशी सडक निर्माण अघि बढाएको हो। बर्खामा सडक थप बिग्रने भन्दै सडक निर्माणको काम अघि बढाइएको हो। सडक डिभिजन कार्यलय काठमाडौंले अख्तियारले अनुसन्धान गरेपनि निर्माण कार्य सुरु गर्ने योजना रहेको बनाएको हो।

अहिले साइटमा नाली सफा गर्ने काम निर्माण कम्पनीले सुरु गरिसकेको छ। अरु बेसहरु हाल्ने काम गर्न पुरानो डिजाइन अनुसार नहुने भएकाले अघि बढ्न सकेको छैन। ‘अख्तियारले विगतमा भएको कामको अनुसन्धान गर्छ। हामी सडक निर्माणको काम गर्छौं,’ डिभिजनका एक इन्जिनियरले बिजमाण्डूसँग भने।

ती इन्जिनियरका अनुसार यसअघि सडक डिभिजन र सडक विभागले बनाएको डिजाइनले पनि सो सडक निर्माण गर्न नसकिने अवस्था आएको छ।

‘अहिलेको अवस्थामा यसअघि गरिएको डिजाइन अनुसार काम गर्न नसकिने अवस्था छ,’ ती इन्जिनियरले भने, ‘यसअघि बेस फेलियर भएको भन्दै डिजाइन तयार पारेर काम गर्न सुरु गरिएको थियो। तर अहिले सडक भत्काएर हेर्दा सो क्षेत्रमा सिपेज हुने देखिएको छ।’ त्यही भएर अरु काम अघि नबढेको हो।

उनका अनुसार यसरी पानी सिपेज भएर आउने समस्याले गर्दा त्यही खालको बेस तयार पार्नु पर्ने हुन्छ। जसको लागि अहिले सडक डिभिजनले ल्याबमा नमुना परीक्षण गर्न पठाएको ती इन्जिनियरले बताए।

विश्व ल्याबले परीक्षण गरी पठाएको प्रतिवेदन अनुसार नयाँ डिजाइन गर्नु पर्छ वा पर्दैन बन्ने कुरा यकिन हुने ती इन्जिनियर बताउँछन्।

‘ल्याबबाट रिपोर्ट आजभोलि आउँछ। सो प्रतिवेदन विभाग र सडक डिभिजनले अध्ययन गरेर अरु कुराहरु अगाडि बढाइनेछ,’ ती इन्जिनियरले भने, ‘त्यो रिपोर्ट अनुसार पुनः डिजाइन गर्नुपर्छ। त्यसपछि मात्र निर्माण कार्य अगाडि बढ्छ।’

ल्याबमा अहिले सब ग्रेड, सब बेस र पहिलाको बेस सबै म्याटेरियल्सको परीक्षण गर्न पठाइएको छ। यसअघि पनि परीक्षण गरेर सडक निर्माण थालिएको ती इन्जिनियरको भनाइ छ।

‘काम सुरु गर्नु अगाडिको नमुना परीक्षणमा एउटा एजम्सन थियो भने अहिले अरु समस्या देखिएपछि पुन: नमुना परीक्षण गरिएको हो,’ उनले भने।

कलंकीदेखि बल्खुतर्फ आउँदा देब्रेतर्फ सर्भिस लेनको १.७ किलोमिटर खण्ड चक्रपथ सुधार आयोजनाले ३४ करोड १७ लाख ७० हजार रुपैयाँ खर्चेर निर्माण गरेको थियो।

तर, तीन वर्षमै सो सडकको ‘बेस स्ट्रक्चर फेलियर’ भएको तथा आवधिक मर्मत गर्नुपर्ने कारण देखाएर १३ करोड ८२ लाख रुपैयाँमा नयाँ ठेक्का लगाइएको थियो। सो ठेक्का वर्ल्डवाइड पीआर एसके जेभीले पाएको हो।

चैत ९ गतेदेखि सडक निर्माण ठप्प

गत चैत ९ गतेदेखि  सो सडक निर्माणको काम ठप्प भएको थियो। सडक विभाग र काठमाडौं सडक डिभिजनले कलंकी-बल्खुको सर्भिस लेन भत्काएर मर्मत अघि बढाएका थिए। राम्रो सडक भत्काएर बदमासी गरेको भन्दै त्यसको आलोचना हुन थालेपछि अख्तियारले अनियमितताको आशंकामा अनुसन्धान सुरु गरेको हो। अख्तियारले छानविनमा चासो देखाएपछि सडक डिभिजन कार्यालय काठमाडौंले सडक निर्माणका काम रोकेको थियो।

अहिले सो सडक पानी परेको बेला हिलाम्मे र घाम लागेको बेला धुलाम्मे हुने गरेको छ। अहिले सो कालोपत्रे निकालेर मात्र राखिएकाले पानी परिरहेका कारण खाल्डाखुल्डी हुने क्रम बढेको छ। जसले गर्दा बीचको सडक पनि जोखिम बन्दै गएको इन्जिनियरहरु बताउँछन्।

वर्षा लाग्नु आगावै यो सडकको निर्माण कार्य सम्पन्न नगरेमा अझै बढी लागत लाग्ने र अन्य साइडका राम्रो सडक पनि बिग्रिने सडक डिभिजन काठमाडौंका एक इन्जिनियर बताउँछन्।