घोराही सिमेन्ट ४३५ रुपैयाँमा किन्ने की शिवम् ४०४ मा ? यस्तो छ वित्तीय अवस्था

अन्जना सुवेदी
२०८० बैशाख २४ गते ०९:११ | May 7, 2023
घोराही सिमेन्ट ४३५ रुपैयाँमा किन्ने की शिवम् ४०४ मा ? यस्तो छ वित्तीय अवस्था

काठमाडौं। घोराही सिमेन्टले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरेको छ। नेपाल धितोपत्र बोर्डले प्रिमियममा सेयर जारी गर्न अनुमति दिएपछि स्थानीयले प्रति कित्ता ४ सय रुपैयाँमा किनिरहेका छन्।

Tata
GBIME
Nepal Life

वैदेशिक रोजगारी र आम सर्वसाधारणका लागि ४ सय ३५ रुपैयाँमा एक कित्ता सेयर किन्न सकिन्छ। बोर्डले ३ सय ३५ रुपैयाँ प्रिमियम तोकेर सेयर जारी गर्न दिएको छ। आम सर्वसाधारणले ४ सय ३५ रुपैयाँ तिरेर घोराहीको सिमेन्ट किन्नु फाइदाजनक होला ?

अहिले पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको शिवम् सिमेन्ट ४ सय ४ रुपैयाँमा किन्न पाइन्छ। ओपीसी सिमेन्ट उत्पादनमा पहिलो नम्बरमा रहेको यो कम्पनीले पाँच आर्थिक वर्षमा १० देखि २९ प्रतिशतसम्म नगद लाभांश दिएको छ। अरु सबै सिमेन्ट उद्योग मन्दीका कारण नोक्सानीमा रहेका बेला शिवमले पुस मसान्तसम्म झण्डै ३३ करोड खुद नाफा गरेको छ।

नाफामा शिवम् अग्रणी, ऋण कसको कति ?

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार यी दुई कम्पनीको नाफालाई हेर्दा नाफामा शिवम् सिमेन्ट अग्रणी छ।

कम्पनीले पुस मसान्तसम्म ३२ करोड ९० लाख खुद नाफा आर्जन गरेको छ। यो अवधिमा घोराहीले १ करोड ५८ लाख बराबरको खुद नाफा आर्जन गरेको हो।

पुस मसान्तको वित्तीय विवरणमा उल्लेख भएअनुसार घोराहीको ऋण शिवमको तुलनामा निकै बढी छ। घोराहीको दीर्घकालीन ऋण ८ अर्ब ८९ करोड ९८ लाख छ भने अल्पकालीन ऋण २ अर्व ७३ करोड ४३ लाख छ।

शिवमको सोही अवधिको वित्तीय विवरणअनुसार दीर्घकालीन ऋण लाखमा सीमित छ। कम्पनीको तथ्यांकअनुसार यो अवधिसम्म दीर्घकालिन ऋण ८८ लाख ५६ हजारमात्र छ भने अल्पकालीन ऋण १ अर्ब ९ करोड छ।

यस्तै पुस मसान्तसम्म घोराहीको प्रति सेयर नेटवर्थ शिवमको तुलनामा सामान्यतया बढी छ। कम्पनीको हालको प्रति सेयर नेटवर्थ २२७.१० रुपैयाँ छ भने प्रति सेयर आम्दानी ०.५० रुपैयाँ छ।

पुस मसान्तसम्मको वित्तीय वित्तीय विवरणअनुसार शिवम् सिमेन्टको प्रति सेयर नेटवर्थ २०६.८५ छ। यस्तै प्रति सेयर आम्दानी भने १४.९६ रुपैयाँ छ।

घोराही र शिवमको चुनढुंगा कस्तो छ?

घोराही सिमेन्टले कम्पनीले चुनढुंगाका लागि तीन कम्पनीसँग सम्झौता गरेको छ।

मालारानी माइन्स एण्ड मिनरल-घोराही, विश्वकर्मा माइन्स एण्ड मिनरल्स प्रालि दाङ र रोल्पा चुनढुंगा खानी रोल्पासँग चुनढुंगा तथा अन्य सामाग्री उपलब्ध गराउने सम्झौता गरेको छ।

यो मध्ये मालारानी माइन्स एण्ड मिनरल्समा कम्पनीको शतप्रतिशत लगानी छ।

तर यता शिवम् सिमेन्टको आफ्नै चुनढुंगा खानी छ।

कम्पनीले मकवानपुर जिल्लाको सुकौरा गाविस ३,४ र ६ तथा ठिगन गाविस-९ मा रहेको राष्ट्रिय वनक्षेत्रको १०.२६ हेक्टर वन क्षेत्र चुनढुंगा उत्खननका लागि उपयोग गरिरहेको छ। २०७१ कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले १५ वर्षसम्मका लागि चुनढुंगा उत्खननको स्वीकृति दिएको हो।

कम्पनीले मकवानपुरगढी गाउँपालिका-८ मा रहेको खानी क्षेत्रको २९.१४ हेक्टर जमिन ९ वर्षका लागि, मकवानपुरको सुकौरा/बुढीचौरमा २.८८ वर्गकिमि क्षेत्र चुनढुंगा खानी उत्खननका लागि खानी तथा भूगर्भ विभागबाट २०६४ सालमा अनुमति पाएको छ। तसर्थ सो स्थानबाट पनि कम्पनीले २०८४ साल कात्तिकसम्म चुनढुंगा उत्खनन् गर्न पाउँछ।

यस्तै खानी तथा भूगर्भ विभागले कम्पनीलाई मकवानपुरको पञ्चकन्या रहेको ९.९ वर्ग किलोमिटर क्षेत्र २०८६ मंसिरसम्म, सुकौरा/बुढीचौरमा रहेको ५ वर्ग किलोमिटर क्षेत्र २०८३ फागुनसम्म, र सोही स्थानको ३ वर्ग किमि क्षेत्र २०८३ मंसिरसम्मका लागि चुनढुंगा उत्खनन गर्न पाउँछ।

घोराहीको उत्पादन क्षमता कति ?

नेपालमा दर्ता भएका सिमेन्ट उद्योग ६८ छन्। जसमध्ये ४२ उद्योगहरु संचालनमा छन्। ती उद्योगहरु मध्य घोराही सिमेन्ट लुम्बिनी प्रदेशको दाङमा छ। कम्पनीको वार्षिक उत्पादन क्षमता १९ लाख ७९ हजार ४०० मेट्रिक टन छ। जुन दर्ता भएका ६८ सिमेन्ट कम्पनीको कुल उत्पादनको १० प्रतिशत हो।

कम्पनीले क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा बजारीकरण गर्छ। मकवानपुरमा रहेको शिवम सिमेन्टले क्लिंकर र ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्छ। कम्पनीको वार्षिक ६ लाख ३० हजार टन क्लिकंर र ९ लाख ९० हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ।

घोराहीको लगानी फिर्ता हुन ४ वर्ष लाग्ने

घोराहीको लगानी फिर्ताको समय झण्डै पाँच वर्ष छ। घोराहीमा आइपीओ जारी गर्दा तोकेको लगानी फिर्ता अवधि ४ वर्ष ८ महिना छ। तर शिवम् सिमेन्टको भने २ वर्ष ६ महिना लगानी फिर्ता हुने समय तोकेको थियो।

 शिवमको डिस्काउन्ट फिर्ता अवधि ३ वर्ष ६ महिनालाई तोकेको थियो। तर घोराहीको डिस्काउन्ट फिर्ता हुने अवधि भने ८ वर्ष ५ महिना छ।

share bear

बजारमा पनि शिवम अगाडि

घोराही सिमेन्टको प्रमुख बजार सुदूरपश्चिम हो। यो प्रदेशमा कम्पनीले ६० प्रतिशत बजारीकरण हिस्सा ओगटेको छ।

९ वटा जिल्लाहरु भएको यो प्रदेशमा कञ्चनपुर र कैलाली जिल्ला भौगोलिक हिसाबले सहज भए पनि बाँकी रहेका ७ जिल्ला भने दुर्गममा पर्छन्। त्यसमा पनि दाङमै अर्को सिमेन्ट उद्योग सोनापुर छ। सोनापुर पनि त्यस क्षेत्रमा राम्रै बजार बनाउन सफल उद्योग हो।

वाग्मतीमा १६ प्रतिशत बजार हिस्सा रहेको जिकिर घोराहीको छ। दाङ भएकाले लुम्बिनीमा २० प्रतिशत बजार हिस्सा रहेको घोराहीको दाबी छ। जबकी भैरहवामा ठूलै बजार हिस्सा ओगटेको अर्घाखाँची सिमेन्ट छ भने नवलपरासीमा सर्वोत्तम र चिनियाँ संयुक्त लगानीको होङसी शिवम् सिमेन्ट पनि छ। घोराहीले गण्डकी प्रदेशमा ३ प्रतिशत बजार हिस्सा रहेको दाबी छ।

शिवम् सिमेन्टको सबैभन्दा ठूलो बजार वाग्मतीमा छ। वाग्मती नै सबैभन्दा ठूलो सिमेन्टको बजार पनि हो। सिमेन्टमा ढुवानी लागतले मूल्यमा प्रभाव पार्छ। घोराहीले दाङबाट काठमाडौंसम्म सिमेन्ट ल्याएर बेच्दा अरु कम्पनीसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ। काठमाडौं नजिक भएकाले शिवम सिमेन्टलाई ढुवानीको ठूलो फाइदा छ। शिवम् वाग्मती, लुम्बिनी र मधेश प्रदेशलाई समेत बजारीकरण गर्नसक्ने स्ट्रयाट्रेजिक लोकेसनमा छ।

लगानीमा शिवमकै अग्रता

शिवम् सिमेन्टले विभिन्न १७ कम्पनीमा लगानी गरेको छ। जसमध्ये १५ कम्पनीमा शिवम् शतप्रतिशत लगानी छ भने बाँकी दुई कम्पनीमा पनि ठूलो हिस्सा सोही कम्पनीले ओगटेको छ।

कम्पनीले एससीएल इन्भेष्टमेन्ट कम्पनीमार्फत शिवम् रेडिमेक्स कंक्रिट प्रालि, अरुण भ्याली माइन्स एण्ड मिनरल्स, दन्तकाली सिमेन्ट, दन्तकाली क्वारिज, कोशी लाइम, पूर्वाञ्चल मिनरल्स, धनकुटा माइन्स एण्ड मिनरल्स, ग्लोवल सिमेन्ट, ओरियन्ट्स मिनरल्स, पाथिभारा लाइमस्टोन , साल्बोठे खनिज उद्योग, शिवम् लेमिनेट्स, सेञ्चुरी होल्डिङ्स, लक्ष्मी कर्पोरेट , शिवम् वनस्पति तथा कृषि फार्ममा शतप्रतिशत लगानी गरेको हो।

यस्तै कम्पनीले एससीएलमार्फत नै स्टार लाइम इन्डष्ट्रिजमा ७५ प्रतिशत र शिवम् होल्डिङमा प्रत्यक्ष ८५.०२६ प्रतिशत लगानी गरेको छ।

यस्तै घोराही सिमेन्टले ४ वटा कम्पनीमा मात्र लगानी गरेको छ। कम्पनीले भेनम माईन्स, मालारानी माईन्स एण्ड मिनरल्स. घोराही सिमेन्ट डेभलपिङ कम्पनीमा शतप्रतिशत लगानी गरेको छ। यस्तै किरणकोल उद्योगमा भने कम्पनीले ४७.५० प्रतिशत लगानी गरेको छ।

सेयर सप्लाई बढी

घोराही सिमेन्टले सर्वसाधारणमा जारी पुँजीको कुल २० प्रतिशतले हुन आउने ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयर जारी गर्दै छ। कम्पनीमा ८० प्रतिशत संस्थापक सेयरको हिस्सा छ।

कम्पनीले सर्वसाधारणमा सेयर जारी गरी बाँडफाँट गरिसकेपछि नेपाल स्टक एक्सचेन्जमा संस्थापकसहित ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत हुने छ। पुँजीका कारण कुल कित्तालाई हेर्दा शिवम् भन्दा सेयर कम नै देखिन्छ। तर घोराही सिमेन्टले शिवमको तुलनामा ८ प्रतिशत बढी आपूर्ति सर्वसाधारणमा छ।

हाल शिवम सिमेन्टको कुल ४ करोड ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ। सेयरमध्ये ३ करोड ८७ लाख २० हजार कित्ता (८८%) संस्थापक सेयर हो भने बाँकी रहेको ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणको हो। अर्थात कम्पनीमा सर्वसाधारणको हिस्सा १२ प्रतिशत मात्र छ।