
काठमाडौं। नयाँ वर्षको सुरुवातसँगै सिनेमाघरमा आएको फिल्म ‘जारी’को व्यापार उत्साहजनक छ। वैशाख १ गतेदेखि प्रदर्शनमा आएको हो। चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। शुक्रबार र शनिबार हुने व्यापारको संकेतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ।
वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नार्इं नभन्नु ल-६’ को सो संख्या घट्नाका साथै दर्शक पनि घटेका छन्। प्रदर्शनको एक साता पार गर्दा ‘नार्इं नभन्नु ल-६’ २५ लाख र ‘प्रसाद २’ ७० लाख रुपैयाँको व्यापार गर्न सफल भएका छन्। उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन्।
यस्तै गत बिहीबारदेखि प्रदर्शन सुरु भएको ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले दुई दिनमा २० लाखको हाराहारीका व्यापार गरेको छ। अपेक्षाअनुसार यो न्यून व्यापार हो।
नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ। चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे। ‘जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अंक अझै बढ्ने देखिन्छ। अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ,’ उनले भने।