
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नेप्से ३० इन्डेक्स सञ्चालन गर्ने अन्तिम चरणमा पुगेको छ।
सबै प्रक्रिया पुरा गरेर आगामी आर्थिक वर्षको सुरुवातदेखि नै नयाँ इन्डेक्स सञ्चालनमा ल्याउने नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बताए।
‘साउन एक गतेबाटै लन्च गर्ने योजना लिएर प्रक्रिया अघि बढाएका हौ,’ सिईओ कार्कीले भने,’ प्रारम्भिक अध्ययन गर्दा नेप्से ५० को ल्याउने भनिएतापनि निष्कर्षमा पुग्दा नेप्से ३० उपयुक्त हुने देखिएको हो।’
यसअघि दुईवटा मोडेलबाट छुट्टा छुट्टै गणना गरि उपर्युक्त देखिएको विधि अपनाउने योजना थियो। तर नेप्सेले सोझै एउटै मात्रै मोडेल देखाएर सरोकारवालाहरुसँग राय सुझाव मारेको छ। तर सुरुमा नेप्से ३० को लागि अध्ययन समितिले दुईवटा मोडेल तायार गरेको थियो।
नेप्सेको बोर्डले राष्ट्र बैंकका प्रतिनिधि एवं कार्यकारी अधिकृत अनुज दहालको संयोजक्तो बनेको समितिले यस्तो निष्कर्ष निकालेको थियो। समितिमा उनी बाहेक बाहिरका दुई अन्य विज्ञहरु संलग्न थिए। जसले इन्डेक्स गणना गर्न दुई विकल्प सुझाएका थिए।
पहिलो मोड्युलमा कम्पनीहरुलाई पुँजीकरण अनुसार तीन श्रेणीमा वर्गीकरण गर्ने र प्रत्येक श्रेणीमा दर्ता हुने शीर्ष कम्पनीलाई इन्डेक्समा समावेश गर्ने सुझाइएको थियो। लार्ज क्याप, मिड क्याप र स्मल क्यापमा वर्गीकरण गर्ने तयारी थियो।
जुन व्यवस्था अनुसार नेप्से ३० मा समावेश हुने ५० प्रतिशत कम्पनी लार्ज क्यापबाट लिइने, ३० प्रतिशत मिड क्याप र २० प्रतिशत स्मल क्यापबाट लिने तयारी थियो। तर यस विधि बारे नेप्सेले सूचनामा केहि उल्लेख गरेको छैन। यसले दीर्घकालिन रुपमै इन्डेक्सलाई परिपक्क बनाउनेमा विज्ञहरु सहमत पनि थिए।
तर नेप्सेले सोझै दोस्रो विकल्पलाई अपनाएको छ। सिइओ कार्कीका अनुसार समितिले दुई वटा मोडेलबाट अध्ययन गरे पनि अन्तराष्ट्रिय परिवेशलाई हेर्दा दोस्रो विधि सहि ठहरिएको हो। ‘समितिले अन्तराष्ट्रिय अभ्यासलाई पनि मूल्याङकन गर्यो। जसबाट हाम्रो पुँजीबजारको परिवेशमा दोस्रो विधि बढी सर्थक हुने तर्क आयो,’ कार्कीले बिजमाण्डूसँग भने।
सो गणना विधि बारे चर्चा गर्दै नेप्सेले सरोकारवालाहरुसँग राय सुझाव समेत मागेको हो। सुझावहरुलाई अध्ययन समितिले पहिला मूल्यांकन गरी आवश्यक फेरबदल सञ्चालक समितिमा पेश गर्ने कार्कीले बताए। उनका अनुसार योजना अनुसार भए इन्डेक्स नयाँ आर्थिक वर्षमा लगानीकर्ता माझ ल्याइनेछ
दोस्रो विकल्पबाट कसरी सुझायो इन्डेक्सको गणना विधि:
इन्डेक्स पुर्णरुपमा फ्रि फ्लोट पुँजीकरणमा आधारित हुनेछ। यो बेन्चमार्क इन्डेक्समा ३० वटा प्रमुख कम्पनी मात्रै समावेश हुने नेप्सेले जनाएको छ। पछि गएर डेरिभेटिभ औजार पनि यसैबाट लन्च हुनेछन्।
नेप्सेले पछिल्लो पाँच मध्ये तीन आर्थिक वर्ष खुद नाफामा रहेका कम्पनीलाई इन्डेक्समा छनोट गर्नेछ। त्यस्ता कम्पनीको प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत हुनुपर्ने व्यवस्था छ। र सम्बन्धित वर्षको महंगीदर भन्दाबढी समेत हुनुपर्ने प्रस्ताव गरेको हो।
कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको हुनुपर्छ। अथवा बजारको कुल राफसाफ योग्य पुँजीकरणमा सेयरको फ्रि फ्लोट पुँजीकरण एक प्रतिशत हुन आवश्यक छ। प्रस्तावित व्यवस्था अनुसार यस्ता कम्पनीमा न्यूनतम २० हजार सेयरधनी पनि हुन जरुरी छ।
सो विधि अनुसार छनोट भएका कम्पनीको फ्रि फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या र कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिने उल्लेख छ। सो अंकभारबाट कुल भार गणना गरिने जनाएको छ।
जसमध्ये ४० प्रतिशत अंकभार फ्रि फ्लोट मार्केट क्यापको हुनेछ। ३० प्रतिशत प्रति सेयर आम्दानीको हो। कारोबार रकम, सेयर संख्या र कारोबार संख्यालाई १०/१० प्रतिशतमा भाग गरि लिक्विडिटीको कुल ३० प्रतिशत अंक भार छ।
अंकभारमा अब्बल ठहरिएका प्रथम ३० वटा कम्पनी नेप्से ३० मा कारोबार हुनेछन्। नेप्सेले सूचीकृत कम्पनीहरुको उपसूचकहरुलाई पनि १३ वटाबाट ६ वटा झार्दैछ।
समूहगत सूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८/८ वटा कम्पनी छानिनेछन्। उपसूचकमा कम्पनीको संख्या ८ भन्दा कम भएमा प्रस्तावित विधि अनुसार उपलब्ध सबै कम्पनीलाई इन्डेक्समा समावेश गरिनेछ।
यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरूलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ। तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ।
कम्पनीको संख्या ३० भन्दा कम भएको र प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी पनि छनौट नहुने देखिएमा उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याइने जनाएको छ।
इन्डेक्समा समावेश हुने कम्पनीहरू हरेक वर्ष दुई पटक पुर्नमुल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार पुनरमूल्यांकन गरी कम्पनीहरु परिर्वतन गरिनेछन्। नेप्सेले गत पुस ३० गतेको फ्रि फ्लोट पुँजीकरणलाई आधार पुँजीकरण मान्नेछ। र इन्डेक्सको बेस भ्यालु १००० हुने तय गरेको हो।
नेप्सेले गरेको यो प्रस्तावमा आगामी जेठ ५ गतेभित्र सुझाव दिन नेप्सेले आग्रह गरेको छ।