
काठमाडौं। कोरोना महामारी र सवारी आयातमा प्रतिबन्धले तीन वर्षदेखि हुन नसकेको नाडा अटो शो आगामी भदौमा हुने भएको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अनुसार आगामी भदौ २६ देखि असोज १ गतेसम्म राजधानीको भृकुटी मण्डपमा आयोजना गर्ने निर्णय भएको हो। कोरोना महामारी सुरु भएपछि हुन छाडेको सवारी मेलालाई यसपटकदेखि पुनः निरन्तरता दिइने नाडाले जनाएको छ।
मेलामा सवारी बिक्रेताहरुले विभिन्न कम्पनीका नयाँ-नयाँ गाडीहरु प्रदर्शनीमा राख्छन्। यसपटक अटोमोबाइल बजार विद्युतीय सवारीतर्फ आकर्षित छ। त्यसैले धेरै मोडल विद्युतीय देख्न पाइने भए पनि डिजल-पेट्रोल इन्जिन गाडीहरु पनि नयाँ सुविधासहित आएकालाई बिक्रेताले देखाउने अपेक्षा नाडाको छ।
गत वर्ष गर्ने भनिएको अटो शो आयात प्रतिबन्धका कारण स्थगित भएको थियो। त्यसको विकल्पमा अटो व्यवसायीले विद्युतीय सवारी प्रवर्द्धन गर्ने भन्दै नाडा इभी अटो शो आयोजना गरेका थिए। उक्त अटो शोमा विद्युतीय सवारीहरु प्रदर्शन गरिएका थिए।
अब उक्त नाडा इभी अटो शो भने हरेक वर्ष हुने नाडाले जनाएको छ। इभी अटो शो आगामी वैशाखमा गर्ने तयारी छ। नाडाले हरेक वर्ष गर्दै आएको नाडा अटो शो भने भदौ २६ देखि असोज १ गतेसम्म भृकुटीमण्डपमा हुने तय गरिएको छ। सन् २०१९ पछि नाडा अटो शो चालु वर्ष २०२३ मा हुन लागेको हो।
उक्त अटो शोमा विद्युतीयलाई पनि प्राथमिकताका साथ सहभागी गराइने नाडाले जनाएको छ। साथै, नेपालमा उत्पादन भएको सवारीलाई पनि यस अटो शोमा सहभागी गराउने तयारी छ।
यो पटक अटो शोमा नयाँ मोडलको गाडीहरु धेरै देखिने सम्भावना छ। अन्तर्राष्ट्रिय बजारमा विभिन्न ब्रान्डले नयाँ-नयाँ मोडल सार्वजनिक गरिरहेका छन्। तर आयात प्रतिबन्धले गर्दा केही मोडलहरु नेपाल भित्रिन पाएका थिएनन्।