
काठमाडौं। नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको आवेदन मूल्यांकन गर्न समिति गठन गरेको छ।
सोमबार बसेको सेबोनको सञ्चालक समितिको बैठकले एक्सचेन्जका लागि निवेदन दिएका कम्पनीहरुको मूल्यांकन गर्न समिति बनाउने निर्णय गरेको हो।
बैठकले कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरिएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए।
समितिमा गौतमबाहेक अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री छन्। समितिमा बोर्डका नियमन विभागका कार्यकारी निर्देशक मुक्त्तिनाथ श्रेष्ठ स्वयं पनि छन्। उनीसँगै धितोपत्र दलाल व्यापारी महाशाखाकी उपकार्यकारी निर्देशक दीपा दाहाल पनि छिन्।
चारवटा कम्पनीले वस्तु विनिमय बजार सञ्चालनको अनुमतिसहित बोर्डमा निवेदन दिएका छन्। नेपाल मल्टी कमोडिटी एक्सचेन्जबाहेक हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले लाइसेन्सका लागि निवेदन दिएका हुन्।
वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८ लाई आधार बनाएर कम्पनी छनोट हुनेछन्। बोर्डले दुईवटा कम्पनीलाई लाइसेन्स दिनेछ।