हिमालयन रिले प्रिमियममा सेयर जारी गर्न प्रक्रिया अगाडि बढायो, पाउला त प्रिमियम भ्यालु?



२०८० बैशाख १८ गते ०७:४१
हिमालयन रिले प्रिमियममा सेयर जारी गर्न प्रक्रिया अगाडि बढायो, पाउला त प्रिमियम भ्यालु?


काठमाडौं। हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षभित्रै प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। गत जेठको विशेष साधारण सभाबाट सेयर निष्कासन अनुमोदन गराएलगत्तै कम्पनीले प्रक्रिया थालेको थियो।

Tata
GBIME

कम्पनीको पहिलो वार्षिक साधारण सभाले नै आइपीओको प्रस्ताव पारित गरेको थियो।

‘यही आर्थिक वर्षमा सेयर जारी गर्ने लक्ष्य लिएका छौं,’ कम्पनीका प्रवक्ता एवं कार्यकारी निर्देशक दीपककुमार श्रेष्ठले बिजमाण्डूसँग भने,’सञ्चालकहरु समेत तयार छन्। प्रक्रियागत रुपमा अघि बढ्दै छौं।’ कम्पनीले हालसम्म बिक्री प्रबन्धक भने नियुक्त गरिसकेको छैन। गरे लगत्तै बोर्ड पुग्ने तयारी छ।

प्रिमियम सेयर निष्कासनको सर्त पुरा गर्ने चरणमा रहेको श्रेष्ठले जानकारी दिए।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ। जारी पुँजी १० अर्ब रुपैयाँ हो। जसको ३० प्रतिशत रकम आइपीओ जारी गरेर चुक्ता पुँजी पुर्‍याउने कम्पनीको तयारी छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमै पनि कम्पनीले आउँदो असार भित्रै प्राथमिक सेयर निष्कासन गर्ने लक्ष्य लिएको उल्लेख छ।

तर प्रिमियममा सेयर निष्कासन गर्न धितोपत्र बोर्डले बेग्लै सर्त राखेको छ। आम कम्पनीको मापदण्डबाहेक केही अतिरिक्त मूल्यांकन आधारहरु निर्धारण गरिएका छन्। सोही बमोजिमको तयारी कम्पनीले गर्दैछ। यसअघिको सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले भने १०० रुपैयाँको दरले नै आइपीओ जारी गरेको थियो।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनी लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको हुनुपर्छ। प्रति सेयर चुक्ता पुँजीभन्दा प्रति सेयर नेटवर्थ बढी र कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने प्रमुख व्यवस्था छन्।

कम्पनीका पछिल्ला वित्तीय विवरण सर्त अनुकूल नै देखिन्छन्। प्रति सेयर नेटवर्थ र क्रेडिट रेटिङ हेर्दा सबै प्रिमियममा सेयर निष्कासन गर्न अनुकूल छ। कम्पनी तीन आर्थिक वर्षदेखि नाफामा पनि निरन्तर छ। चालु आर्थिक वर्ष अन्त्य भइसकेको छैन, तर ६ महिनामै कम्पनी ४ करोड ६३ लाख रुपैयाँ नाफा कमाइसकेको छ। अघिल्लो आर्थिक वर्ष सकिँदा २७ करोड ३९ लाख रुपैयाँ र ७७/७८ मा ९४ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

सञ्चालनको पहिलो वर्ष १००.१३ रुपैयाँ रहेको प्रति सेयर नेटवर्थ पनि ७८/७९ सकिँदासम्म १०३.९१ रुपैयाँ पुगिसकेको छ। यसपटक अझै सुधार हुने कम्पनीको प्रक्षेपण छ। कम्पनीले इक्रा नेपालबाट पछिल्लो पटक ए माइनस रेटिङ पायो। त्यसो भए कति होला त कम्पनीको प्रिमियम मूल्य?

हिमालयन रि इन्स्योरेन्समा नेपालका प्रमुख घराना सबैजसोको लगानी छ। लाइसेन्सको प्रबन्ध मिलाउने पक्षले यसअघि नै आधारभूत सेयरधनीलाई प्रिमियममा सेयर बेचेका थिए। त्यतिबेला प्रतिकित्ता अंकित मूल्यभन्दा १० प्रतिशत अतिरिक्त मूल्य चुकाउनुपरेको चर्चा थियो। कतिपयले १ सय ५० रुपैयाँसम्म परेको जिकिर गरेका थिए। यसरी मूल्य तिरेर किन्नुको पछाडि केही वर्षमा प्रिमियममा सेयर निष्कासन देखेर नै हो।

त्यतिबेला झन् नेपाल पुनर्बीमाको आइपीओले १०० रुपैयाँबाट बढेर दुई हजार रुपैयाँभन्दा माथि पुग्दा कम्पनीको मोलतोल झनै चर्किएको थियो। पुनर्बीमा व्यवसाय सुनिश्चित गरिएकोले कम्पनीको आम्दानी पनि सुदृढ भएको छ। प्रिमियममा सेयर जारी गरेका शिवम् र घोराही सिमेन्टको भन्दा हिमालयनको वित्तीय आकार भने सानो देखिन्छ।

तर, प्रिमियम गणना गर्ने धितोपत्र बोर्डको व्यवस्था छुट्टै छ। पछिल्लो तीन वर्षको पुँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था छ।

औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्नेछ। यी प्रावधानले गर्दा प्रिमियम भ्यालु सोचेजस्तो आउन भने कठिन देखिन्छ।

त्यस्तै २०७८ जेठमा दर्ता भएको हिमालयनले त्यही असारमा लाइसेन्स पाएको थियो। लगत्तै असार ३१ गतेदेखि औपचारिक कारोबार सुरु गरेको थियो।