
काठमाडौं। संखुवासभाको धर्मदेवीमा निर्माणाधीन डाउन पिलुवाखोला साना जलविद्युत आयोजनाको बिजुली विद्युत प्राधिकरणको चैनपुरस्थित बानेश्वर सबस्टेसनमा जोड्न प्रसारणलाइन निर्माण हुने भएको छ। आयोजनाको स्विचयार्डदेखि सबस्टेसनसम्म ३.३४ किलोमिटर लम्बाइको प्रसारणलाइन निर्माण गरिने भएको हो।
करिब १ अर्ब ९० करोड लागतको १०.३ मेगावाटको उक्त आयोजना छिटै उत्पादन परीक्षणको तयारीमा छ। उत्पादित विद्युत खेर जान नदिन प्रसारणलाइनको निर्माण छिटै अघि बढाउन लागिएको हो।
आयोजना प्रवर्द्धक कम्पनी रिभर फल्स लिमिटेडले दरखास्त दिएपछि विद्युत विकास विभागले उक्त प्रसारणलाइन निर्माण गर्दा कुनै प्रतिकूल असर पर्ने देखिएमा सूचित गर्न सरोकारवालालाई आग्रह गर्दै शनिबार सूचना प्रकाशित गरेको छ। विभाग वा कम्पनीमा ३५ दिनभित्र प्रतिक्रिया दिन सकिने सूचनामा उल्लेख छ।
३३ हजार भोल्ट, सिंगल सर्किट रहने प्रसारणलाइन १०.३ मेगावाटसम्मको विद्युत प्रसारण भारवहन क्षमताको हुनेछ। प्रसारणलाइन प्राधिकरणको चैनपुरस्थित २२०/३३ केभी बानेश्वर सबस्टेसनमा जोडिने छ। ४५ देखि ६० मिटर दुरीको फरकमा ११ मिटर उचाइका ६१ वटा स्टील ट्युबलर पोलहरु रहने प्रसारणलाइनमा एसीएसआर डग कन्डक्टर जडान गरिने छ।
पोल राख्न र तार तान्न १.९७८ हेक्टर जग्गा आवश्यक देखिएको सूचनामा उल्लेख छ। प्रसारणलाइनको क्षेत्राधिकार मध्यविन्दुबाट ३/३ मिटर दायाँबायाँ हुनेछ।
५ महिनाभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको प्रसारणलाइन वातावरणीय क्षति नहुने गरी बनाइने आयोजनाको दाबी छ।