नेप्से-५० योजना तुहिएपछि नेप्से-३० ल्याउने तयारी, समिति बनाएर दुई मोड्युलबाट अध्ययन हुँदै

बिजमाण्डू
२०८० बैशाख १४ गते ०९:०० | Apr 27, 2023
नेप्से-५० योजना तुहिएपछि नेप्से-३० ल्याउने तयारी, समिति बनाएर दुई मोड्युलबाट अध्ययन हुँदै


काठमाडौं। ‘नेप्से ५०’ इन्डेक्स लन्च गर्ने नेपाल स्टक एक्सचेन्ज(नेप्से)को योजना तुहिएपछि ‘नेप्से ३०’ बेन्चमार्क इन्डेक्सको तयारी थालिएको छ। सञ्चालकहरुको ग्रीन सिग्नलमा नेप्सेले यसका लागि समिति पनि बनाइसकेको हो।

Tata
GBIME
NLIC

आफ्नो वार्षिकोत्सवका अवसरमा ‘नेप्से ५०’ इन्डेक्स सञ्चालनमा ल्याउने योजना थियो। तर आन्तरिक विवाद चर्किएपछि नेप्सेले यसबारे काम कारवाही नै रोक्यो।

‘नेप्से ५०’ कै मापदण्ड अनुसार नेप्से ३० सञ्चालन हुने एक अधिकारी बताउँछन्। ‘इन्डेक्समा कम्पनीको फ्री फ्लोट पुँजीकरण मात्र गणना हुन्छ। आम रूपमा कारोबार तथा सबैभन्दा धेरै राफसाफयोग्य सेयर भएका कम्पनी इन्डेक्समा ल्याउने हो,’ उनले भने,’पहिला ५० वटा कम्पनी भनिए पनि अब भने ३० वटा मात्रै हुनेछन्।’

नेप्सेका सञ्चालक यसबारे सकारात्मक रहेको र समिति नै बनाएर निष्कर्षमा पुर्‍याउने तयारी छ। सञ्चालककै संयोजकत्वमा समिति बनेको छ। सञ्चालक रहेका राष्ट्र बैंकका प्रतिनिधि समितिका संयोजक छन्। समितिले सम्पूर्ण अध्ययनपछि विद्यमान सूचकहरुलाई पनि परिमार्जन गर्नेगरी कार्यविधि तयार पार्नेछ।

इन्डेक्समा वर्गीकरण गरिने कम्पनीहरु बारे समितिले दुई मोड्युलबाट अध्ययन गर्दैछ। ‘पहिलो मोड्युलमा कम्पनीहरुलाई पुँजीकरण अनुसार तीन श्रेणीमा वर्गीकरण गर्ने तयारी छ। लार्ज क्याप, मिड क्याप र स्मल क्याप,’ उनले भने,’यो व्यवस्था अनुसार वर्गीकरण गरेपछि नेप्से ३० मा समावेश हुने ५० प्रतिशत कम्पनी लार्ज क्यापबाट लिइनेछ। ३० प्रतिशत कम्पनी मिड क्याप र २० प्रतिशत स्मल क्यापबाट हुनेछन्।’  

२० अर्बभन्दा बढी बजार पुँजीकरण भएका कम्पनीहरु ‘लार्ज क्याप’ स्टक इन्डेक्समा आउँछन्। सूचीकृत मध्येका सर्वाधिक प्रभावशाली सेयर यसमा हुनेछन्। १० अर्बदेखि २० अर्बसम्म पुँजीकरण भएका कम्पनी ‘मिड क्याप’ इन्डेक्समा हुनेछन्। २ अर्बदेखि १० अर्बसम्मलाई ‘स्मल क्याप’मा राखिँदैछ।

दोस्रो मोड्युलमा कम्पनीहरुलाई लिक्विडिटी, मार्केट क्याप र प्रति सेयर आम्दानीका आधारमा छुट्याउने भनिएको छ। जसमा प्रत्येक कम्पनीलाई अंक दिइने छ। लिक्विडिटी, मार्केट क्याप र प्रति सेयर आम्दानीको आ-आफ्नै अंकभार पनि छ। 

जसमध्ये ४० प्रतिशत अंकभार मार्केट क्याप , ३० प्रतिशत लिक्विडिटी र ३० प्रतिशत प्रति सेयर आम्दानीको हुनेछ। अंकभारमा अब्बल ठहरिएका प्रथम ३० वटा कम्पनी नेप्से ३० मा कारोबार हुनेछन्। उल्लेखित दुई मोड्युलमध्ये एउटालाई प्रयोग गर्ने समितिको तयारी छ। समितिको प्रारम्भिक अध्ययन अनुसार पहिलो मोड्युल बढी प्रभावकारी देखिएको हो।   

बेन्चमार्क इन्डेक्सको अधीनमा रहेर पछि डेरिभेटिभ प्रडक्टहरु समेत प्रयोगमा ल्याउने नेप्सेको तयारी छ। नेप्से-३० लाई अन्डरलाइनिङ एसेटस्वरुप स्थापित गरी फ्युचर र अप्सन जस्ता डेरीभेटिभ औजार लन्च गर्ने दीर्घकालीन योजना छ।

नेप्से ३० सँगसँगै यसपटक उप समूहको संख्या समायोजन गर्ने समितिले निर्णय गरेको छ। अहिले कारोबारमा रहेका १३ वटा उपसूचकलाई ७ वटामा झार्ने तयारी छ। त्यसपछि बैंक तथा वित्तका लागि एउटै प्रतिनिधि उपसूचक हुनेछ। जीवन-निर्जिवन र रिइन्स्योरेन्सका लागि पनि एउटै हुनेछ। त्यसैगरि ट्रेड र सर्भिसेज अर्को हुनेछ। हाइड्रोको भने यथावत रहनेछ। यी बाहेक थप तीन वटा हुनेछन्।